राष्ट्रका ३४ सिआइपीलाई राष्ट्रपतिको सम्मान

तस्बिर सौजन्य : प्रदीपराज वन्त/रासस
तस्बिर सौजन्य : प्रदीपराज वन्त/रासस

काठमाडौं- राष्ट्रपति डा रामवरण यादवले मुलुकको आर्थिक विकास तथा निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याएबापत् आज विभिन्न १५ शीर्षकमा ३४ जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान’ प्रदान गरे। वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित समारोहमा स्वदेशी तथा विदेशी उद्यमी/व्यवसायीलाई सम्मान गरिएको हो। सम्मानितहरूलाई प्रमाणपत्र, परिचयपत्र र लोगो प्रदान गरियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले व्यापारको सम्भावनाको प्रतिफल सरकार एक्लै वा निजी क्षेत्र एक्लैले मात्र प्राप्त गर्न सम्भव नहुने बताए।
उनले भने, “सरकारले लागू गरेका नीति तथा रणनीतिले पहिचान गरेका वस्तुको उत्पादन र विकासका साथै निर्यात प्रवर्द्धनका कार्यमा निजी क्षेत्र सञ्चालन हुने कार्यलाई अझ समन्वयात्मक एवं सशक्त ढङ्गले सञ्चालन गर्न सकेमा मात्र व्यापार क्षेत्रबाट प्राप्त हुने लाभलाई आम जनसमुदायमा पुर्‍याउन सकिनेछ।”

राष्ट्रपतिले व्यावसायीलाई आगामी दिनमा सरकारले पनि आफ्नो नीति र कार्यक्रमबमोजिम रोजगारमूलक, ग्रामीण विकासोन्मुख र गरिबी निवारणतर्फ प्रयत्नशील बनाउनुपर्नेमा जोड दिए।
अर्थ एवं वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले सम्मानको परम्परा सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सेतुको अंशको रूपमा रहने र मुलुकको उद्योग व्यावसाय, रोजगारलगायतका क्षेत्रमा कार्यरत उद्यमी/व्यावसायीलाई थप उत्साह पुग्ने विश्वास व्यक्त गरे। उनले संविधान सभाको निर्वाचनबाट बन्ने सरकारले मुलुकको आर्थिक विकासलाई थप गति दिने बताए।
मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले सिआइपी सम्मान हरेक दुई दुई वर्षमा राष्ट्रियस्तरको समारोह गरी प्रदान गरिने बताउँदै यसबाट निजी क्षेत्रसँग समन्वय र प्रोत्साहनमा सहयोग मिल्ने उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले सम्मानको दायरालाई बढाएर युवा पुस्तामा पनि लैजान सुझाव दिए। सम्मानित हुनेहरूमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका ऊनी गलैँचातर्फ द साङ्ग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट्स इण्डस्ट्रिजका प्रबन्ध सञ्चालक तेनजिन सोपा लामा, तयारी पोशाकतर्फ नेपाल फेसन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरिप्रसाद भट्ट, पश्मिनाका उत्पादनतर्फ एभरेस्ट पश्मिना निट एण्ड विभिङ इण्डस्टिका प्रबन्ध निर्देशक कर्केन ताङबे गुरुङ, मुसुरोको दालतर्फ त्रिवेणी दाल तथा आयल इण्डस्ट्रीजका अध्यक्ष वीरेन्द्रकुमार संघई, छालातर्फ एसियन लेदर इण्डस्ट्रीजका प्रबन्ध सञ्चालक हसन अन्सारी छन्।
यस्तै डाबर नेपाल प्राइभेट लिमिटेडका कन्ट्री म्यानेजर हरकिरत सिंह बेदी, एभरेस्ट फेसनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ, इलाम टि प्रोड्युसर्सका प्रबन्ध सञ्चालक कृष्णप्रसाद प्रसाइँ, अपि हिमालय इन्टरनेसनलका अध्यक्ष रामप्रसाद श्रेष्ठ छन्।
विदेशीतर्फ एसियन लेदर इण्डस्ट्रिजका सञ्चालक आबिद अली अन्सारी, सांग्रिला एग्रो वर्ल्डका अध्यक्ष डोमा लामा, तमारियन, वाल्टीमोर, संयुक्तराज्य अमेरिकाका अध्यक्ष स्टीभ टी. साइवोर, राइजिङ इन्टरनेसनल इंक, एल मोन्टे, संयुक्तराज्य अमेरिकाका प्रेसिडेन्ट/सिइओ ऋषि पुन्नाखर ढकाल, ओटो जिएमबिएच, जर्मनीका प्रमुख क्रिस्चियन गोल्डम्यान, डावर इन्डिया लिमिटेड, गाजियावाद, भारतका प्रतिनिधि किलस राम कुद्दन चौरासिया, अरिहन्त मल्टिफाइबर्सका सञ्चालक राजकुमार गोल्छा छन्।
यस्तै सम्मानित हुनेहरूमा इण्टरनेसनल मनी एक्सप्रेसका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, हायात रिजेन्सी प्रालि (तारागाउँ रिजेन्सी होटल्स लि), का कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ, यति ट्राभल्सका अध्यक्ष डा सिंहबहादुर बस्नेत, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई छन्।
राष्ट्रिय योगदान दिने संस्थातर्फ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात, नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुपबहादुर मल्ल, केन्द्रीय गलैंचा उद्योग संघ नेपालका अध्यक्ष सम्बु शेर्पा, नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डे, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य, महिला उद्यमी महासंघ नेपालका अध्यक्ष रीता भण्डारी सम्मानित भए।
कार्यक्रममा संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापा, मन्त्रीहरू तथा नेपाल सरकारका उच्चअधिकारीको पनि उपस्थिति थियो। रासस

Leave a Reply

Your email address will not be published.