होटल व्यावसायमा जम्दै पुरन चौधरी

momotaro restura_sanepa

काठमाडौं- थारू समुदायका केही ब्यक्ति उद्योग ब्यापारमा पनि सफलता हात पार्दैछन्। त्यसमध्ये एक हुन् सोनपुर–२ छिंगटपुर दाङ्गदेउखुरीका पुरन चौधरी। काठमाडौंको ठमेलमा १४ वर्ष पहिले उनले मोमोटारो रेष्टुरेण्ट खोलेका थिए। मोमोटारोले यसबीचमा आफ्नो पाँचवटा शाखा खोलिसकेको छ। जसमा ठमेलको अलावा काठमाडौं, सुन्धाराको सिभिल मल, ललितपुरको सानेपा, पोखराको हल्लनचोक र चितवनको सौराहामा मोमोटारो रेष्टुरेण्ट खुलेको छ। मोमोटारो रेष्टुरेण्टके पहिचान भनेको जापानिज, चाइनिज तथा थारू परिकार हो। यसका साथै नेपाली खानाको परिकार पनि पाइन्छ।
४२ वर्षीय युवा व्यावसायी पुरन चौधरीलाई यहाँसम्म आइपुग्न धेरै पसिना बगाउनु परेको छ। ८ वर्षको कलिलो उमेरमै उनी राजधानी छिरे, काठमाडौं आएर धेरै संघर्ष गरे। कामको सिलसिलामा उहाँ एकदिन एक हिडेगो तामागावा नामक जापानीको सम्पर्कमा आए। उहाँको मिहिनेत, लगनशीलता तथा मिलनसार व्यवहारबाट ती जापानी निकै प्रभावित भई खुसी भएर जापान घुमाउन लैजाने प्रस्ताव गरे।
उहाँलाई पनि मौका पाएपछि छोड्न मन लागेन। सन् १९९७ मा उहाँ जापान जानुभयो। त्यहाँ तीन महिनाको बसाईमा जापानिज परिकार बनाउने तालिम पनि लिने अवसर उहाँले पाउनुभयो। साथै, त्यहाँ बस्ने क्रममा उहाँले जापानी भाषा पनि सिक्नुभयो। उहाँको थुप्रै जापनिज साथीहरु बनेका छन्। जापान बसाई नै उहाँको जीवनको टर्निङ प्वाइन्ट भइदियो। उहाँलाई जीवनको नयाँ बाटो देखाउने हिडेगो तामागावाको ९० वर्षको उमेरमा ३ वर्ष पहिल्यै निधन भैसकेको छ। तामागावाको परिवारसँग अहिले पनि सम्पर्क भएको उहाँ भन्नुहुन्छ– ‘म तामागावालाई जीवनभर भुल्न सक्तिन।’
पुरन चौधरीले जापानमा बस्दाखेरी नै नेपालमा आफ्नै ब्यवसाय गर्ने सोच बनाइसकेका थिए। त्यही सोचाइअनुसार उहाँ जापानबाट आएर काठमाडौंमा थोरै लगानीमा १४ वर्ष पहिला (सन् १९९९ अक्टोबर १० मे का दिन) सानोतिनो रेष्टुरेन्ट खोले। उहाँको आफ्नो मेहनत लगनशीलताले व्यापार दिन दुई गुना रात चौगुनाले बढ्दै गयो। त्यही रेष्टुरेन्ट ठमेलमा मोमोटारोको नामले जापनिज रेष्टुरेष्टको रुपमा चाँडै नै ठाउँ बनायो।
पुरन चौधरी आफ्नो रेष्टुरेण्टमा हालः ५० भन्दा बढी थारू युवालाई रोजगारी दिएका छन्। उहाँ काम पर्योच भने बिहानै सात बजेदेखि रात दशबजेसम्म काममा खट्नुहुन्छ। कहिलेकाही त २ बजेसम्म पनि उहाँ काममा खट्नुहुन्छ। उहाँ आफनो बालबच्चालाई पनि आफ्नै बाटोमा लैजाने सोचमा हुनुहन्छ। त्यहीअनुरुप छोरी रिंकु र छोरा रविन चौधरी पनि क्रमश बीए तथा प्लस टु मा होटल म्यानेजमेन्ट पढ्दैछन्।
उहाँ आफ्नो आम्दानीबाट कार त चढिराख्नु भएकै छ, काठमाडौं सामाखुसीमा घर पनि ठड्याइसक्नु भएको छ। ठमेलको रेष्टुरेण्टको व्यवस्थापन हेर्ने उहाँको भाइ कान्छु चौधरीले पनि काठमाडौंमा घर बनाइसके। आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उहाँ भन्नुहुन्छ– ‘सायद म कुनै जागिर गर्थे भने यति चाँडै गाडी, बंगला जोड्न सक्दिन थिएँ होला।’ puran with family
उहाँको काकाको छोरो पनि उहाँबाट तालिम लिएर हाल पोखरामा एक वर्ष पहिले फुजी रेष्टुरेण्ट  खोलिसकेका छन्। उहाँ आफ्नो रेष्टुरेण्टमा आएका पाहुनालाई भगवानको रुपमा मान्नुहुन्छ। पाहुनाहरुले दिएका सुझाव सल्लाहलाई लिएर आफूमा भएका कमी कमजोरी सहजरुपमा स्वीकार्ने, त्यसलाई समयमा सुधारेर अगाडि बढ्नुहुन्छ। आफ्नो पेसामा इमान्दार र लगनशील भएर तन, मन, धन दिएर काममा लागियो भने पक्कै पनि सफलता मिल्दछ भन्ने उहाँमा आत्मविश्वास छ र उहाँ अरुहरुलाई पनि त्यही सल्लाह दिनुहुन्छ। उहाँ थारू युवाहरुलाई सफल बन्नको लागि केही न केही सीप सिक्नुपर्ने सुझाव दिनुहुन्छ। सीपमात्र सिकेर होइन कि त्यसलाई पछिसम्म निरन्तरता पनि दिनुपर्छ भन्ने उहाँको धारण छ।
यसै क्रममा मोमोटारो रेष्टुरेण्टको व्यवस्थापनमा ३ महिने जापानीज कुकिङ ट्रेनिङ सेन्टर पनि खुलिसकेको छ। गएको पुस १० गते तालिमबाट ८ जना प्रशिक्षार्थीले तालिमको प्रमाणपत्र लिए। १२ जनाको लागि दोस्रो समूहको तालिम सुरु भएको उहाँले बताउनुभयो। जापानीज कुकिङ ट्रेनिङ सेन्टरको सल्लाहकारमा जापानी महिला माको हुनुहुन्छ। त्यसैले त्यहाँबाट तालिम लिएर प्रशिक्षार्क्षीलाई जापान जाने मौका पनि छ।
रेष्टुराँ व्यावसायीमात्र नभएर एउटा समाजसेवीका रुपमा पनि चिनिन्छन् पुरन चौधरी। उहाँ हरेक किसिमको सामाजिक काममा हातमा हात मिलाइ अघि बढ्नुहुन्छ। थारूहरुको कुनै संस्थाबाट आयोजना गरिएको तथा थारू विद्यार्थी समाजको कार्यक्रममा या अरु कुनै सामाजिक काममा उहाँ सहयोगी भावनाका साथ सहभागिता जनाउनुहुन्छ। उहाँ काठमाडौंमा बस्ने तथा पोखरा, सौराहा घुम्न जाने थारू दाजुभाईलाई आफ्नो पायक पर्ने मोमोटारो रेष्टुरेण्टमा कुनै शाखामा एकचोटि समय मिलाएर थारू र जापनीज खाना थप सल्लाह सुझावको लागि निम्तो दिनुहुन्छ। थारू दाजुभाइ उहाँको रेष्टुरेन्टमा परिकार खाए उनीहरुले केही छुट पनि पाउँछन्।
पुरन चौधरीद्वारा सञ्चालित रेष्टुरेन्ट मोमोटारो जापानी शव्द हो। यसको अर्थ थारु लोककथामा हिटवाझैं दुःख पाएको पात्र हो। हिटवाले १२ वर्षसम्म परीसँग मौज गर्छ र अन्तमा परी पुनः अलप हुन्छिन्। तर पुरनले १४ वर्ष दुःख गरेको मोमोटारोले उनलाई अहिले सुख दिएको छ। यसको शाखा खुल्ने क्रम जारी छ।
मोमोटारोको विशेषता भनेको त्यहाँ जति कर्मचारी छन्, प्रायः सबै थारू हुन्। त्यसैले त्यहाँ जानुभयो भने आफ्नो गाउँको छिमेकीको घर गएजस्तो लाग्छ। दुई वर्ष पहिले मोमोटारो रेष्टुरेन्ट पोखरामा खाना खान गएकी एनआइसी कलेज, डिल्लीबजारमा कक्षा १२ मा पढ्ने बुनु चौधरी भन्छिन्– ‘त्यहाँ सबै स्टाफ थारू भएका कारण देउखुरीमा भएझैं लाग्यो।’ तपाईँ मोमोटारोमा अग्रिम जानकारी गराएर सानो तिनो भोज पार्टी पनि आयोजना गर्न सक्नुहुन्छ। जानकारीको लागि ९८४१२९४३२९ मा सम्पर्क गर्न सक्नुहुन्छ।
प्रस्तुतिः कृष्णराज सर्वहारी/शत्रुघन चौधरी

One thought on “होटल व्यावसायमा जम्दै पुरन चौधरी

Leave a Reply

Your email address will not be published.