लोक सेवाका परीक्षार्थीले अनलाइनबाटै फर्म भर्नसक्ने

pscकाठमाडौं- आगामी वर्षदेखि लोक सेवा आयोगका परीक्षार्थीहरूले अनलाइनबाटै परीक्षा फर्म भरेर आफैँले प्रवेशपत्र प्रिन्ट गरेर परीक्षा हलमा प्रवेश गर्नसक्ने भएका छन्। एसियाली विकास बैंकको सहयोगमा तयार हुँदै गरेको सो प्रविधिले सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूलाई सहज र सरल वातावरण तयार पार्नेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सूचना प्रविधि आयोजनाको समीक्षा बैठकमा लोक सेवा आयोगको परीक्षालाई अझ् विश्वसनीय र भरपर्दो बनाउन अनलाइनबाटै फर्म भर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए।
सो काममा हालसम्म ४० प्रतिशत प्रगति भएको छ। सो आयोजनाको कूल बजेट रु तीन अर्ब रहेको छ र आगामी सन् २०१४ को सेप्टेम्बरभित्र प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ। आयोजनाको दोस्रो चरणमा १४ वटा मालपोत कार्यालयबाट सम्पादन हुने सबै कामहरू कम्प्युटरीकृत गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा नमूनाको रूपमा भक्तपुरको मालपोत कार्यालयबाट सो कामको थालनी गरिनेछ।

तेस्रो चरणमा सवारी चालक अनुमतिपत्रलाई माष्टर कार्ड/भीषा कार्डको ढाँचामा तयार गरिने छ। सो प्रणालीको विकासपछि सक्कली वा नक्कली सवारीचालक अनुमतिपत्रको तुरुन्तै पहिचान गर्नसकिने र कम्प्युटरमा सबै सूचना राख्न सकिने सुविधा प्राप्त हुनेछ। सवारी धनी प्रमाणपत्रको तथ्याङ्कसमेत कम्प्युटरमा राख्न सकिनेछ।

यसैगरी चोथो चरणमा कम्प्युटरमा विशेष दक्षता अभिवृद्धि गर्नका लागि सामान्य प्रशासन मन्त्रालयका करिब तीन हजार कर्मचारीलाई सीप अभिवृद्धि तालिम दिइनेछ। हालसम्म सो तालिम ६०० जनालाई दिइसकिएको छ। गृह मन्त्रालयले वितरण गर्न लागेको राष्ट्रिय परिचयपत्रको काम समेत सोही प्रणालीमा अगाडि बढाइनेछ।
यस्तै सरकारका विभिन्न निकायहरूले तयार गरेको कम्प्युटर सफ्टवेयर र अन्य कामको स्तरीकरण, गुणस्तरीयताको अभिवृद्धि गर्ने र न्यूनतम् मापदण्डअनुसार काम गराउने गरी राष्ट्रिय सूचना प्रविधि केन्द्रले काम गरिरहेको सचिव बाँस्कोटाले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.