थारु राजा दंगीशरणको बिहे सम्पन्न

 tharu king dangisaran-1

देवेन्द्र बस्नेत, दाङ- अघीअघी बेहुला र बेहुली। पछिपछि बाजागाजासहित जन्तीको लावालस्कर। स्वागतका लागि ठाउँठाउँमा कलशसहित बसेका युवतीहरु। बिहे हेर्न बाटैभरी जम्मा भएका गाउँलेहरुको भिड छिचोल्दै बेहुला बेहुली मन्दीर पुगे। मन्दिरका ब्राहमणले थारु भाषामा मन्त्र पढ्न सुरु गरे। ‘सरकार अब पूजा करी’ ब्राहमणले पूजा गर्न अह्राउँदा बेहुला बेहुली मुखामुख गरेर हाँस्थे। केहीबेरको तन्त्रमन्त्र पछि ब्राहमण बोले ‘सरकार भ्वाज हुगइल।’ दुलाहादुलहीले सँगै उठेर ब्राहमणलाई ढोगेपछि विवाह सम्पन्न भयो।
आइतबार दाङको नारायणपुरमा देखिएको यो दृश्या गाउँमा हुने विवाहको भन्दा केही कम थिएन। विवाह हेर्न गएका अधिकांश विवाह सत्य वा काल्पनिक भन्नेमा अन्यौलता देखाए। तर यथार्थता भने काल्पनिक थियो। दाङको राज्य चलाएको भन्दै सदियौंदेखि थारु समुदायले मान्दै आएका राजा दंगीशरणको विवाहको परिकल्पना गर्दै यहाँका थारु समुदायले विवाहको जस्तै धुमधाम गरे। दुलाहका रुपमा सिंगारीएका गाउँका युवकलाई राजा दंगीशरण मानिएको थियो भने दुलहीलाई रानी भगवती।
यो समुदायमा माघीको रौनक हराइसकेको छैन। नाचगान र खानपीनमा ब्यस्त थारु समुदायका बस्तीहरु अहिले पनि गुन्जायमान छन्। मघौटा नाच्दै घरघरमा पुग्ने थारु युवायुवतीहरुले माघीको उल्लास मर्न दिएका छैनन्। माघीको उल्लासमा रहेका यहाँका थारु समुदायका सर्वसाधारणहरु नाचगान र खानपीनमा मात्रै सिमित रहेनन् ,थारु राजा र रानीको परिकल्पना गर्दै काल्पनिक विवाह गरेर धुमधामनै गरे।
नयाँ वर्षको रुपमा माघी पर्व मनाउने थारु समुदायले आइतबार यही पर्वका अवसरमा यहाँका थारु समुदायले थारु राजा र रानीको काल्पनिक विवाह गरेर खुसीयाली मनाएका छन्। ‘राजा दंगीशरणको विवाहको परिकल्पना गर्दै र माघीको खुसीयाली मनाउन यस्तो गरीएको हो,’ विवाहका पुजारी बनेका थारु अगुवा चन्द्रप्रसाद चौधरीले भने, ‘थारु राजाको इतिहाँस नयाँ पुस्ताले पनि नबिर्सिउन भनेर यसो गरिएको हो।’
त्यसअवसरमा त्यहाँ भव्य मेलासमेत लागेको थियो। मेला हेर्नका लागि गाउँगाउँबाट सर्वसाधारणहरु ओइरिएका थिए। मेला लागेको नारायणपुरको उत्तरअमराई भन्ने स्थानमा पुरानो मन्दिर समेत छ। थारु समुदायले यो मन्दिरलाई पूर्वराजा दंगिशरणले निर्माण गरेको बताउँछन्।tharu king dangisaran-2
थारु अगुवाहरुका अनुसार दाङ राज्य चलाएका थारु राजा दंगीशरण जिल्लाको पश्चिमी क्षेत्र सुकौरामा बस्थे। राजदरवार त्यहिँ थियो। दंगीशरणका दुई श्रीमती रहेको र दुवै श्रीमतीबाट छोरा छोरी नभएको पुराना अगुवाहरुको कथन छ। छोराछोरी नभएपछि राजा दंगीशरण गोरखनाथको तपस्या गरेर बसेको थारु इतिहाँसमा उल्लेख छ। राजा बेखबर भएपछि दुवै रानी विचलित भए। तत्पश्चात दुवै रानीलाई अन्तरध्यानबाट हेर्दा जेठी श्रीमती भगवती नारायणपुरको उत्तरअमराइमा ध्यानमा बसेको र कान्छी श्रीमती भारतको पाटनमा गएर ध्यान बसेको इतिहाँस थारु अगुवाहरु बताउँछन्। दुवै श्रीमती बसेको स्थानमा राजाले मन्दिर निर्माण गरीदिएको समेत बताइन्छ।
नारायणपुरमा निर्माण गरीएको मन्दिरलाई यो समुदायले मनठोर्या मन्दिर भन्ने गर्छ। ‘यो मन्दिरको इृतिहाँस धेरै पुरानो छ,’ चन्द्रप्रसादले भने, ‘रानी भगवती आएर बसेको यो स्थानमा राजाले मन्दिर बनाएका कारण हामीहरुले उहाँहरुको विवाहको परिकल्पना गरेर खुशीयाली मनाउँछौँ।’ अँझ रमाइलो कुरा के छ भने यो मन्दिरको छानो छैन। थारु इतिहाँसमा उल्लेख भएअनुसार राजा दंगीशरणले उक्त मन्दिर राति निर्माण गरेका हुन्। रातभर निर्माण गर्दा गर्दै विहानपख भाले बासेपछि राजाले निर्माणको काम छोडेका थिए। ‘भाले बास्दासम्म राजाले छानो हाल्ने काम गर्न सक्नुभएन, त्यही भएर अहिले पनि यो मन्दिरको छानो छैन,’ चन्द्रले भने।
राजा दंगीशरणको स्मरणमा यहाँका थारु समुदायले प्रत्येक वर्षको माघी पर्वमा यस्तै भव्य कार्यक्रम गर्दै आएका छन्। माघीमा गरिने काल्पनिक विवाह हेर्न गाउँगाउँबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ।

Leave a Reply

Your email address will not be published.