सभासद्हरुले मातृभाषामै शपथ खाए

तस्बिर : रत्‍न श्रेष्ठ/रासस
तस्बिर : रत्‍न श्रेष्ठ/रासस

काठमाडौं- संविधान सभाका नवनिर्वाचित सभासद्हरुले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज आयोजित विशेष समारोहमा सभासद्हरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्। नव निर्वाचित संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले नवनिर्वाचित सभासद्हरुलाई शपथ गराएका थिए। शपथ लिनका लागि सभासद्हरु बिहान ९ बजेदेखि संविधानसभा भवन परिसरमा पुगेका थिए।
अधिकांश पुरुष सभासद्हरु टोपी, कोट, दौरा र सुरुवालको आफ्नो पहिरनमा हुनुहुन्थ्यो भने कतिपय सभासद्हरु आ–आफ्नो जाति र संस्कृति झल्कने पोसाकमा उपस्थित थिए। त्यस्तै धेरैजसो महिला सभासद्हरु सारी–चोलो, कुर्ता– सुरुवालका साथसाथै आ–आफ्नो संस्कृति झल्कने भेषभूषा पहिरिएर शपथ लिन पुगेका थिए।
प्रायः सभासद्ले नेपाली भाषामा शपथ लिनुभएको थियो भने करिब ३५ सभासद्ले दशवटा विभिन्न मातृभाषामा शपथ लिएका थिए। शपथ कार्यक्रम मध्याह्न १२ बजेर पाँच मिनेटमा सुरु भई झन्डै पाँच मिनेट चलेको थियो। शपथग्रहण कार्यक्रमको प्रारम्भमा संविधान सभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संविधानसभाका नवनिर्वाचित सभासद्हरुलाई सचिवालयको तर्फबाट स्वागत गरेका थिए। उनले शपथ ग्रहणको प्रक्रियाका बारेमा सभासद्हरुलाई जानकारी गराएका थिए।
त्यसलगत्तै ज्येष्ठ सभासद् थापाले सभासद्हरुलाई तोकिएको ढाँचामा शपथ गराएका थिए। जनअनुसार ‘प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताप्रति पूर्ण बफादार रही कुनै पक्षपात नगरी मुलुक र जनताको हितमा रही निष्ठा एवम् इमान्दारीपूर्वक काम गर्छु’ भन्ने व्यहोराको शपथ सभासद्हरुले लिएका थिए। शपथ पछि सभासद्हरुले परिचयात्मक चिन्ह (लोगो)को लकेट लगाएका थिए।
संविधानसभामा आज ज्येष्ठ सभासद्सहित ५६६ सभासद्को सहभागिता थियो। संविधानसभाको कुल सभासद् ६०१ मध्ये २६ जना मनोनीत हुन बाँकीनै रहेको छ। यसअघि ज्येष्ठ सदस्यका रुपमा थापाले सोमबार राष्ट्रपति डा रामवरण यादवसँग शपथ लिइसकेका छन्। स्तै दुई दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका चार सभासद्को ठाउँमा रिक्त हुने निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुन बाँकी नै छ।
यसअघि संविधानसभाका लागि २०६४ चैत २८ गते निर्वाचन भएकामा २०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकबाट मुलुक गणतन्त्र घोषणा भएको थियो। यद्यपि सो संविधानसभाले नयाँ संविधान जारी गर्न नसकी २०६९ ज्येठ १४ गते  संविधानसभा भङ्ग भएको थियो। एक युगमा एकपटक बिरलै हुने संविधानसभा निर्वाचन नेपालमा भने छ वर्षको अवधिमा दुईपटक भएको छ।
गत मङ्सिर ४ गते ऐतिहासिक रुपमा भव्य जनसहभागितासाथ संविधानसभाको निर्वाचन सम्पन्न भएपछि आज पहिलोपटक सभासद्हरु संविधानसभा भवन प्रवेश गरेसँगै संविधान लेखनको प्रक्रिया पनि औपचारिक रुपमा सुरु भएको छ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गरेबमोजिम संविधानसभाको पहिलो बैठक भोलि आरम्भ हुनेछ। त्यसका लागि संसद् सचिवालयले सबै दलहरुसँग छलफल गरी कार्यसूचीसमेत तय गरेको छ।  आज शपथ लिएपछि अधिकांश दलका शीर्ष नेता एवम् सभासद्हरुले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुरुप एक वर्षभित्रै संविधान लेख्ने आत्मविश्वाश र उत्साहका साथ संविधानसभा भवन प्रवेश गरेको बताए।
रासस/सूर्यचन्द्र बस्नेत/नारायण न्यौपाने

Leave a Reply

Your email address will not be published.