माघीको उद्‍घाटन गर्दै रेग्मीले भने, ‘जननिर्वाचित सरकारपछि विश्राम’

maghi_ktm_2070-13

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निकट भविष्यमा नै जननिर्वाचित सरकार गठन भई आफ्नो सरकारले विश्राम लिने बताएका छन्। थारु कल्याणकारिणी सभाद्वारा आयोजित ‘माघी महोत्सव २०७०’को अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले भने, ‘आफूले प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी राज्य संयन्त्रको सहज सञ्चालनको प्रारम्भ हुने अवस्थासम्म आइपुगेकाले निकट भविष्यमा नै जननिर्वाचित सरकार गठन भई यस सरकारले विश्राम लिनेछ।’
अध्यक्ष रेग्मीले वर्तमान सन्दर्भमा राजनीतिक प्रक्रियाले स्वभाविक गति लिई अघि बढेको हुनाले आगामी दिनमा अझ बढी उत्साह, विश्वास र सकारात्मक भावनासहित समाजको विकास र समृद्धिको कार्यमा क्रियाशील हुन सबैसँग आग्रह गरे। उनले मुलुकमा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भई नेपाललाई राजनीतिक स्थायित्व प्रदान गर्दै शान्ति र विकासको मार्गमा उन्मुख गराउने वातावरण सुनिश्चित भएको बताए।
अध्यक्ष रेग्मीले निर्वाचित सरकारको काम कारबाही, संविधान निर्माण प्रक्रियाको थालनी तथा राज्यका विभिन्न नियकायहरूको गतिशीलतासँगै नेपालमा सुखद् समयको आगमन हुनेछ भन्नेमा आशावादी हुँदै अघि बढ्नु आवश्यक भएकामा जोड दिए।
प्रत्येक वर्ष माघ १ गते मनाइने पर्वलाई थारु समुदायले माघीका रूपमा जसरी मनाउने गरेको पाइन्छ, अन्य समुदायले माघेसङ्क्रान्तिका रूपमा मनाउँदै आ–आफ्नो साँस्कृतिक अभ्यासलाई जीवन्त तुल्याउँदै आएको पनि उनले उल्लेख गरे।
अध्यक्ष रेग्मीले सांस्कृतिक विशेषताहरूको सम्बर्द्धन र प्रबर्द्धनमा विभिन्न समुदायहरूका साथै थारु कल्याणकारिणी सभाले हालसम्म निर्वाह गरेको सकारात्मक भूमिकाको कदर गर्दै सम्बद्ध सबैलाई हार्दिक धन्यवाद तथा थारु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति सुस्वास्थ्य र समृद्धिको शुभकामनासमेत दिए।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले न्याय र समानताका लागि जनजातिहरूले उठाएका मागहरू सम्बोधन गर्न आग्रह गरे। उनले अब बन्ने संविधानमा सबै जातजातिको सम्मान हक अधिकार हुने विश्वास व्यक्त गर्दै आफूहरूले जातीय राज्यभन्दा पनि पहिचान खोजेको बताए।
थारु समुदायमा राष्ट्रिय पर्वको रूपमा माघी पर्व लिने गरिन्छ। आज बिहानै खोलानाला, नदी, ताल, इनारा धरामा गएर स्नान गरी पूजाआजा गर्ने र ठूलाले सानोलाई आर्शीवाद दिने तथा एक अर्कामा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ।
आजको दिन थारुहरूले नयाँ कामको थालनी गर्ने, घरायसी कामका लागि गरधुरिया (घरमुली) एकवर्षका लागि चुनिने काम गरिन्छ। ‘माघी’लाई तिला सङ्क्रान्ति पनि भन्ने गरिन्छ। यसअघि थारु संस्कृति, भेषभूषा, बाजा गाजासहित भृकुटीमण्डप प्रदर्शनीमागबाट र्यालली निकाली विभिन्न ठाउँमा परिक्रमा गरी सभामा परिणत भएको थियो। माघी महोत्सवमा थरुहट तराईको विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी थारु जातिको मौलिक नृत्य सखिया, हुर्दगंवा, घुमरा, झुम्रा, छोक्रा, मघौटा, रागनी, बडोनाच, छोरी, झरौ, लठ्ठहवा, बर्कानाच, मुग्रहवालगायतका नृत्यहरू प्रस्तुत गरिएको थियो।
महोत्सवमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका प्रकाशन भएका विभिन्न पत्रपत्रिका, पुस्तक, हस्तकलाका सामग्री, भेषभूषा, गोन्या, चोल्या, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया आदि प्रदर्शनी गरिएको थियो। महोत्सवमा करिब ७० वटा स्टलहरू राखिएको र ती स्टलहरूमा थारुका विभिन्न खाद्य परिकारहरू विक्री वितरण गरिएको थियो। खाद्य सामग्रीहरू गजुरी (घोङ्गी), झुना (सितवं, परेवाको मासु, खसीको भुटन, तिलको लड्डु, माछालगायतका परिकारहरू रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.