अविनाश चौधरी, धनगढी- तराईमा बसोबास गर्दै आएका थारु समुदायमा आजदेखि माघी पर्व सुरु भएको छ। थारु समुदायले माघीलाई महान पर्व र नयाँ बर्षको रुपमा तीनदिनसम्म मनाउँदै आएका छन्। पश्चिम नेपालका थारुले माघीलाई अझ बढी धुमधामसँग मनाउँदैआएका छन्। पर्वसँगै थारु गाउँमा चहलपहल बढेको छ। पुराना काम/कुरालाई बिर्सेर नयाँ कामको थालनी गर्ने पर्व रहेकाले माघीलाई थारुले नयाँ बर्षको रुपमा लिने गरेको बताइएको छ।
थारु समुदायमा पौष अन्तिम दिनदेखि माघी पर्व सुरु हुने गरेको छ। माघीको पहिलो दिन गाउँघरमा सुङ्गुर वा बङ्गुर मारिएका हुन्छन्। जसलाई ‘जिता’ भन्ने चलन छ। यसदिन, हरेकको घरमा मिठो पाकवान र सुङ्गुर, माछा, कुखुराको मासु पाकेको हुन्छ। वर्षको अन्तिम दिन भएको हुनाले मिठो खाँदै मनोरञ्जन गर्ने चलन रहिआएको छ। यसदिनका लागि जाँरको झोल र मासु विशेष खानाको परिकार रहेको हुन्छ। खानपिनपछि सहमति अनुसार गाउँका बड्घरको घरमा वा घर/घरमा जम्मा भएर दफको तालमा धमार गीत गाउँदै रातभरी जाग्राम बस्ने चलन रहिआएको छ।
मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेका दिन पोखरी, दह, तलाउमा नुहाउने चलन छ। यो दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने गरेको समुदायमा बुझाइ छ। यो दिन पंशुपक्षी बध हुँदैन। बिहानै स्नान भइसकेपछि घरमा राखिएको अन्न भण्डार छोएर आफूभन्दा ठूलाको आशिर्वाद लिने र सानालाई दिने गरिन्छ। यसदिन गाउँघरका सबै नातागोताबीच भेटघाट हुने गर्दछ। थारुहरु यो दिनलाई मित्रता र मिलनको दिन मान्छन्। आपसी वैमनष्यता बिर्सेर यो दिन संगै रमाइलो गर्ने चलन छ।
मकरसङ्क्रान्तिका दिन अन्न भण्डार छुने र त्यसलाई आफ्नो विवाहित छोरीचेलीका स्वामित्व हुने गरेर छुट्टयाइसकेपछि तरुल, फलफूल, ढिक्री, माछामासु खाने चलन छ। यसैदिन थारुहरुको नयाँ वर्ष सुरु हुन्छ। माघ १ गतेलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने चलन छ। माघीको तेस्रो दिन खिच्रहुवा हो। यसदिन पनि पशुबध निषेध गरिएको हुन्छ। खिच्रहुवाका दिन थारुहरुले शुद्ध खानाको रुपमा खिचडी भात खाने र आफन्त/छिमेकीलाई बाँड्ने चलन छ। यस दिन माघमा पाहुना बस्न आएका आफन्त तथा उनका सन्तानलाई मेला भर्न लगिने चलनपनि छ।
खिच्रहुवापछि गाउँकामूली भएर काम गर्दै आएका बडघर (भलमन्सा), अघरिया (भलमन्साको सहायक) चौकिदार/चिरक्या(हुलाकी), गँड्धुरिया (घरमूली), भर्रा/केसौका (मुख्य गुरुवा/सहायक गुरुवा) सबैको समिक्षा हुने गर्दछ। उनीहरुको कामको समिक्षा गर्दै राम्रो गरेको भए पुनः जिम्मेवारी दिने हैन भने नयाँ चयन गर्ने चलन छ। यसैदिन घर घरपरिवारमा पनि अघिल्लो बर्षभरी गरेको कामको समिक्षा र आउने बर्षको लागि सरसल्लाह हुने गर्दछ। यो दिन घरमूली राख्नेघ वा अर्कालाई छान्ने निर्णय हुन्छ। वर्षभरीको हरहिसाब पनि परिवारमा हुन्छ जसलाई खोजनीबोजनी (सोधीखोजी/सार्वजनिक सुनुवाई) भन्ने गरिन्छ।
माघीको चौथो दिन मकरसङ्क्रान्तिको बेला छोएर राखेको चामल अन्य समान आफ्नो विवाहित छोरीचेलीलाई उपहार दिने गरिन्छ जसलाई ‘अग्रासन’ भन्ने चलन छ। यहि दिनदेखि माघीको विधिवत रुपमा अन्त्य भइ भोज विवाहका कार्यक्रम सुरु हुने गर्दछ। घरपरिवारमा आपसी कलह वा झगडाका भएको भए आपसी सहमति अनुसार अंशबण्डा गर्ने काम पनि सुरु हुन्छ।
पहिले–पहिले मालिकका घरमा मजदुरको रुपमा बसेका कमैंया कमलरीहरु माघीमा मालिकको घरबाट काम नगर्ने गरी बिदा लिने गर्थे भने कतिपय व्यक्ति कमैंया, कमलरी बस्न जान्थे। केही बर्षका लागि बँधुवा मजदुर भएर काम गरेका कमैंया, कमलरीहरु माघीमात्रै छुटकारा पाउने चलनले यसलाई स्वतन्त्रताको पर्वको रुपमा समेत लिने गरेको थारु कल्याणकारिणी सभा कैलालीका सभापति प्रभातकुमार चौधरीले बताए।
अहिले कमैया, कमलरी राख्ने कार्यलाई सरकारले नै निषेध गरेको जनाउँदै उनले माघी पर्वको धार्मिक, साँस्कृति तथा सामाजिक महत्व रहेको बताए। ‘माघीले एक आपसबीचको सम्बन्धलाई मजबुत बनाउँछ’, सभापति चौधरीले भने–’यो पर्व मनाउनका लागि देशविदेश पुगेका परिवारका सदस्यहरु घर फर्कने गरेका छन्।’
पश्चिमका थारुहरुले माघी पर्व भनेर मनाउने गरेपनि पूर्वेली थारुहरुले माघी पर्वलाई खिचडी, खिचडा, माघे सङ्क्रान्ति समेत भन्ने गरेको पाइन्छ।
थारुहरुले माघीलाई तीनदिनसम्म धुमधामसंग मनाउने गरेका कारणले तीन दिन सार्वजनिक बिदा दिइनु पर्ने आवाज समेत उठेको छ।