बेनुपराज भट्टराई, इलाम- ‘स्टुडियोमा हामीलाई अर्को कल आइरहेछ, हरौं कहाँबाट को हुनुहुन्छ’ पूर्वका एफएम स्टेशनमा रेडियो जक्की (आरजे)ले यसो भन्दै ‘हेलो’ भन्नासाथ उताबाट उही परिचित आवाज गुञ्जिन्छ, ‘म झापा सुरुङ्गाबाट निकिता चौधरी।’ इलाम र झापाका एफएममा निकिताको आवाज दिनमा एकपल्ट होइन धेरैपल्ट यसैगरी गुञ्जिन्छ। बच्चैदेखि रेडियो क्रेजी उनले दिनैपिच्छे एफएममा सम्पर्क गर्दै आफ्नो नाम बजाएको छ बर्ष बित्दैछ तर रहर पुगेको छैन। जीवनभर नाम गुञ्जाइरहने उत्कट चाहना छ।
‘बच्चैदेखि रेडियो च्याप्ने बानीले बुढेशकालसम्मै छोड्दैन भन्ने पक्कापक्की छ’ एकपछि अर्को खुलिरहेका एफएमकी नियमित तर भिन्नखाले स्रोता निकिताको घोषणै छ, ‘बाँचुञ्जेलसम्म यसैगरी रेडियोमा स्रोता भएरै नाम फिँजाइरहन्छु।’ एफएममा जसरी अनगिन्ती कलर छन, तिनको नाम बजाइरहने चाहना पनि फरक फरक कुराले प्रेरित छ। तर, निकिता भिडमा भिन्न कसरी छन् भने, शारीरिक अपाङ्गता भएकी उनी मनको पीडा शान्त पार्न एफएममा कल गर्छिन् र रेडियोलाई सधैंको साथी बनाउँछिन्।
आवश्यकताभन्दा बढी रहरले जसरी देशभर एफएम स्टेशन खुल्दैछन्, तिनमा नियमित कल गर्दै सन्देश आदानप्रदान गर्ने र गीत फर्माइस गर्ने स्रोताको कमी छैन। स्टेशनैपिच्छे दर्जनौं थुप्रै नियमित स्रोता हुन्छन् जसको सदासयताले नैं जेनतेन रेडियो चल्दैछन्। तर, १२ बर्षअघि अचानक बिरामी भई डेढ लाख बढी खर्चिँदासमेत पुरै निको नभएर अपाङ्गता व्यहोरेकी निकिताजस्ता मन बहलाउन एफएम रोज्ने स्रोता सायदै छैनन्। दायाँ खुट्टा र हातमा खोट व्यहोरेकी उनको सहारा नैं एफएम हो।
‘रेडियोमा रुचि सानैदेखि हो तर जब बिरामी भएर राम्ररी हिँडडुल गर्न नसक्ने भएँ दिन कटाउने साथी रेडियो बन्यो’ २०५८ सालमा बिरामले थलिएकी निकिताले सुनाइन्, ‘अहिले घरतिरै बस्छु तर रेडियो ट्युन गरेपछि अरु साथी चाहिंदैन, कल गर्दै प्रोग्राम सुन्दैमा दिन बित्छ।’ सुरुङ्गास्थित घर नजिकै भरखरै घुम्ती पसल थालेकी निकिता खित्रिङमित्रिङ सामान बेच्दै दिनभर त्यहीं बस्छिन्, ग्राहक आए सामान बेच्छिन् र मनपरेका कार्यक्रमहरुमा नाम बजाउन एफएम स्टेशन फेर्दै कल गरि हाल्छिन्।
अहिले २७ वर्षमा पाइला चाल्दै गरेकी हँसिली निकिताले पहिलोपल्ट इलामको नेपालवाणी एफएममा ‘शुभेच्छा’ कार्यक्रममा आफ्नो नाम गुञ्जाएकी थिइन्। ‘अहिले सम्झिँदा आफै छक्क पर्छु, २०६४ माघ महिनाको त्यो एउटा बिहान पहिलोपल्ट रेडियोमा नाम बज्दा मेरा खुट्टा भुईंमा थिएनन्’ उनले गमेर सम्भि्कइन्, ‘नेपालवाणीबाट थालेको फोन कलिङ पूर्वका सबैजसो एफएममा फैलाइसकेकी छु।’ साथीभाइलाई मिसकल मात्रै गर्ने उनले एफएममैं कल गर्न मोवाइल रिचार्ज गर्ने बताइन्।
झापाको ग्रामीण बजारको घुम्ती पसल रुघेरै पनि रेडियोका माध्यमबाट अनगिन्ती साथी बनाउन सकेकामा निकिता प्रफुल्ल छिन्। ‘शारीरिक अपाङ्गता नभएकाभन्दा मेरा साथी चौगुणा धेरै छन्’ यसको श्रेय रेडियो सुन्ने र कल गर्ने बानीलाई दिँदै उनले भनिन्, ‘जब जीवनमा चोट आइपर्योछ तब रेडियो सहारा बन्यो, अहिले त्यसैबाट खालखाले साथी भेटिँदा मन खुसी छ।’ झापाका ‘आरम्भ’, ‘सनराइज’, ‘पाथीभरा’ र इलामका ‘नेपालवाणी’ र ‘फिक्कल’ एफएम निकिताका मन मुटु जोडिने स्टेशन हुन्।
दिनमा एकपल्ट कल नगर्दा के के नपुगेजस्तो अर्थात् नुनबिनाको तरकारी खाएजस्तो हुने अनुभव सुनाउँदै निकिताले आफूले कुनै कारणवश कल गर्न नपाए साथीहरुले नै रेडियोमा नाम बजाइदिने बताइन्। ‘मैंले फर्माइस गर्दा जसरी अरुको नाम लिन्छु, त्यस्तै अरुले मेरो नाम लिएको त कति सुनेकी छु कति’ उनले मुस्कुराउँदै भनिन्, ‘पूर्वका कुनै न कुनै एफएमबाट मेरो नाम नबजेको खासै दिन हुँदैन।’ निकिताको रेडियो त्रे्कज देखेरै रम्फोकमा सञ्चालित ‘रेडियो फिक्कल’ले उनलाई सम्मानै गर्यो।
‘हाम्रा स्रोता लाखौं होलान् तर रेडियोलाई जीवनकै सहारा बनाउने निकिताजस्ता चाहिं भेटिएनन्’ छैटौं वार्षिकोत्सव अवसरमा ‘रेडियो फिक्कल’का कार्यक्रम प्रमुख राजकुमार दाहाल भन्दै थिए, ‘यसैगरी हत्ते हाल्ने स्रोताकै कारण हामी सातौ बर्ष टेक्दैछौं।’ सुरुङ्गाबाट सम्मान थाप्न निकिता भाई केशव र आमा सरस्वतीसँग रम्फोक आएकी थिइन्। त्यहाँ उनलाई घेरेर परिचय गर्ने, फोटो खिच्ने र हालखबर सोध्ने उस्तै उमेरका स्रोताको भीडै लाग्यो। जबकी निकिता सेलिव्रेटी नभई स्रोता र कलरमात्रै हुन्।
निकितालाई घेर्ने स्रोताकै भीडबाट एकले सोधे, ‘तपाईंको नाम त बिहानदेखि बेलुकासम्मकै कार्यक्रममा बजिरहन्छ नि?’ फोटोसेसनमा रमाइरहेकी उनले जवाफ दिइन्, ‘रेडियो क्रेज लर्तरो छैन नि त, रातीका कार्यक्रम नछुटाउन अलार्म लाएर सुत्छु।’ जवाफ सुनेकी स्थानीय परिना राईले जिब्रो टोकिन्। स्रष्टा तथा सर्जक गणेश रसिकको ‘रेडियो फिक्कल’मा अल्मल्याउने थुप्रै हुँदाहुँदै निकिता भाइको सहारामा गाडीतिर लम्किँदै हात हल्लाएर भन्दैथिइन्, ‘अबको भेट रेडियोमैं गरौं, आखिर बोलिहाल्छु।’
नागरिक पुर्बेलीबाट साभार