राजु विश्वकर्मा, सप्तरी- टापु गाविसको रुपमा चिनिने सप्तरीको गोबरगाढा गाविसका बासिन्दाहरु अझै राज्यको पहुँचबाट टाढा रहेका छन्। राज्यले उचित ध्यान नदिँदा यहाँका स्थानीयहरु राज्यको हरेक सुविधाबाट वञ्चितमात्र होइन आफ्नै देशभित्र पनि कहाली लाग्दो जीवन बिताउन बाध्य छन्। सप्तकोसी नदीको बीच भागमा रहेको उक्त गाविसमा दशकौँदेखि विकासको नाममा ‘ब’ सम्म नहुँदा यहाँका स्थानीयहरु आफ्नै देशभित्र पनि बिरानो जस्तो महसुस भइरहेको बताउँछन्। राज्यको पहुँचबाट टाढा रहेका गोबरगाढावासीलाई सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरबाट आवतजावत गर्न सानाठूला गरी कोसीको छ वटा धार तर्नुपर्ने र अर्कोतर्फ नेपालको सिमानाबाट करिब २५ किलोमिटर स्थलगत यात्रा गरेपछि भारतको बिहार राज्यअन्तर्गत रत्नपुराबाट तीन किलोमिटर कोसीको धारमा ४० मिनेट डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
करिब एक हजार आठ सय जनसङ्ख्या रहेको सो गाविसमा अहिले दुई सय परिवारको बसोवास रहेका छन्। सप्तकोसी नदीको बीच भागमा पर्ने सो गाविसमा बर्सेनि बाढीका कारण अधिकांश गोबरगाढावासी विस्थापित भई भारतको रत्नपुरा र सप्तरीको विभिन्न भागको ऐलानी जग्गामा सुकुम्बासी सरह जीवनयापन गर्न बाध्य छन्।
सो गाविस वर्षको चार महिना कोसीमै डुबेको हुन्छ, चार महिना गाउँको भौतिक संरचना सुधारमै गाउँलेहरु जुट्छन् भने बाँकी रहेको चार महिनामा गाविसका जनता खेती तथा गाईभैँसी पालन गरेर जीविकोपार्जन गर्छन् र पुनः असार लागेपछि कोसीको बाढी आउने त्रासले खतरासँग खेल्छन्। नेपालको सबैभन्दा बढी ११४ गाविस रहेको सप्तरीमा सो गाविसले भारतीय सीमावर्ती क्षेत्रमा लगभग नौ सय बिघा बराबरको क्षेत्रफल ओगटेको छ। त्रिभुज आकारको भू–बनोट रहेको गोबरगाढा गाविसवासी आफ्नो जर्जर अवस्थाप्रति सहानुभूति राख्ने कोही नभएको दुखेसो पोख्छन्।
सदरमुकाम राजविराज आवतजावत गर्न डुङ्गाकै सहारा लिनुपर्ने बाध्यता रहेको बताउँदै गोबरगाढा गाविस–१ निवासी हरिनारायण यादव भन्नुहुन्छ, “कोसी नदी तर्दा डुबिने डरका कारण पनि सकेसम्म कोही पनि सदरमुकाम आवतजावत गर्दैनन्।”
पूर्वजको सम्पत्ति यही गाविसमा रहेको र सुरक्षित बासस्थान अहिलेसम्म कसैले नमिलाइदिएका कारण वषर्ौंदेखि बाढीको चपेटामा कष्टपूर्ण जीवन बिताउनुपरेको यादवको भनाइ छ। गोबरगाढा गाविसमा न त अहिलेसम्म कुनै विकासका पूर्वाधार बन्न सकेको छ, न त सुरक्षाकर्मीकै चासो छ। जिल्ला विकास समितिबाट गोबरगाढा गाउँ विकास समितिको नाममा बर्सेनि रु १५ देखि रु २० लाखसम्म निकासा हुँदै आए पनि अहिलेसम्म कुनै विकास निर्माणको काम हुन नसकेको स्थानीयको गुनासो छ।
जस्ताले छाएको र बाँसको भित्ताले बनाइएको एउटा फुसको घरमा कुनै बेला पाँच कक्षासम्मको पढाइ हुन्थ्यो। गाविस सचिव आएको बेला त्यो गाविस कार्यालयको रुपमा प्रयोग हुन्छ भने अहेब आएका बेला उपस्वास्थ्य चौकी र हुलाकका खरिदार आएमा हुलाक कार्यालय।
गोबरगाढा गाविसमा शारदा प्राथमिक विद्यालय रहेको भनी जिल्ला शिक्षा कार्यालयको अभिलेखमा उल्लेख छ। तर, त्यस विद्यालयको पूर्वाधार र विद्यालयमा हुने पढाइको अहिलेसम्म निरीक्षण हुन सकेको छैन। उपस्वास्थ्य चौकीका प्रमुख अहेब हरेन्द्रदेव गोबरगाढा नपुगेको वर्ष दिनभन्दा बढी भइसकेको स्थानीय स्वास्थ्य स्वयम्सेविका तेतरीदेवी यादवले बताउनुभयो।
गोबरगाढा गाविस–१ स्थित तेतरीदेवीको गोठघरमा उपस्वास्थ्य चौकीको एउटा काठे दराज र प्रहरी चौकी गोबरगाढा लेखिएको जस्ताको बोर्ड टाँगिएको मात्र भेटिन्छ। देशमा पोलियो, दादुरा–रुबेलालगायतका रोग उन्मूलन गर्ने लक्ष्य लिई विभिन्न समयमा राष्ट्रव्यापी खोप कार्यक्रम आयोजना गरिन्छ। तर, यस गाविसमा अहिलेसम्म कुनै खोप लगाउन कुनै स्वास्थ्यकर्मी आएको स्थानीयलाई सम्झना छैन।
स्थानीय देवनारायण यादव भन्नुहुन्छ, “उपस्वास्थ्य चौकी र त्यसका स्वास्थ्यकर्मी नआउँदा कुनै पनि गर्भवती महिलाको समयमा स्वास्थ्य जाँच नै हुँदैन, जचाउनु पर्दा छ वटा खोला तरेर हनुमाननगर जानुपर्छ।” बच्चा जन्माउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप भत्ता दिने गरे पनि यहाँका कुनै महिलाले त्यस्तो नपाएको उहाँको भनाइ छ।
सो गाविसमा शिक्षाको कुरा गर्दा दुई युवकमात्र स्नातकमा अध्ययनरत छन्। सुरक्षित आवास, शिक्षा, स्वास्थ्य तथा स्थानीय निकायको पहुँचबाट कोसौँ टाढा रहे पनि आफूहरुको समस्यातर्फ राजनीतिक दलदेखि प्रशासनसम्मका कसैले वास्ता नगरेको स्थानीय लक्ष्मण यादव बताउँछन्।
जिल्लामा रहेका हरेक निकायलाई गोबरगाढा गाविसको आवस्थाबारे जानकारी छ। विकासका काम नगरे पनि आफ्नो गोजीमा पैसा आउने पक्का भएकाले स्थानीय विकास अधिकारी र केही कर्मचारी निरीक्षणमा आउने गरेको तर काम भने केही गर्ने नगरेको गुनासो ६५ वर्षीय बाबुजी मुखियाले गर्नुभयो।
“आफूहरुलाई खाने तेल किन्नु परे कोसी तरेर भारतको रत्नपुरा जानुपर्छ”, उहाँ भन्नुहुन्छ–……कोसी वारपार गर्न दलका प्रतिनिधिलाई पर्याप्त मात्रामा डुङ्गाको व्यवस्था गरिदिन हरेक साल भन्छौँ, तर गाउँमा नबस्नेलाई गाउँ र छिमेकीको के माया लाग्छ?, हामी त कोसी माताको कृपाले जसोतसो बाँचिरहेका छौँ।”
गोबरगाढामा कसैसँग आफ्नो जग्गाको लालपुर्जासमेत छैन। उनीहरुको नाउँ मतदाता नामावलीमा छ। हालै सम्पन्न संविधानसभाको निर्वाचनमा पनि यहाँका करिब सात सयले मतदान गरेको तर आफ्नैै जग्गाको लालपुर्जा नभएको स्थानीयहरु बताउँछन्।
एक वर्षमा एक पटकमात्र फागुन महिनामा विवाहवारी हुने यो गाविसका निमुखा जनताका लागि सोचिदिने र बोलिदिने कोही नभएको नेपाली काँग्रेस गाउँ कमिटीका अध्यक्षसमेत रहेका लक्ष्मण यादवले बताउनुभयो।
चुनावका बेलामात्र दलका नेताहरु आउने गरेको गुनासो पोख्दै स्थानीय भन्छन्, ५ कक्षादेखि माथि पढ्ने बालबालिकाका लागि कोसी तरेर दिनहुँ योगिनियाँ वा हनुमाननगर जानुपर्ने अवस्था छ, गाउँका पढेलेखेका कसैले आफ्नो गाउँमा रोजगारी भेटेका छैनन्, हाम्रो उद्धारका लागि अब सरकारको माथिल्लै निकायले सोची दिनुपर्छ।
सुक्खा मौसममा सुरक्षाकर्मीमात्र जाने गोबरगाढा गाविसको सुरक्षा व्यवस्था सम्बन्धमा सप्तरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले घटना भएको बखत सुरक्षाकर्मी जाने गरेको बताउनुहुन्छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले गोबरगाढा गाविसका बासिन्दाको जीवन कष्टकर रहेको आफूले पनि सुनेको र त्यसपछि अनुगमन गरेको बताउनुहुन्छ। जोखिमपूर्ण तरिकाले गोबरगाढावासीको दिनचर्या कट्ने गरेकोले उनीहरुलाई त्यहाँबाट उद्धार गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आफूले पहल गरिरहेको उहाँको भनाइ छ।
यस गाविसका जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाई सरकारले टापुको नामले चिनिने गोबरगाढा गाविसलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेतर्फ पहल गर्नुपर्छ। उचित संरक्षण, संवर्द्धन गर्न सकियो भने गोबरगाढालाई सप्तरीको मात्र नभएर नेपालकै एक आकर्षक पर्यटकीय स्थलका रुपमा विकसित गर्न सकिने सप्तरीका बुद्धिजीवीहरुको अपेक्षा छ। रासस