कैलालीमा आचारसंहिता मिच्ने क्रम जारी

achar sahitaमुकेश टेंर्रा, धनगढी- कैलालीमा राजनीतिक दलहरुले संविधानसभा सदस्य निर्वाचन आचारसंहिता मिच्ने क्रम अझै रोकिएको छैन। उनीहरुले एकपछि अर्को अर्दै आचारसंहिता मिच्दै क्रम झन बढाएका छन्। जिल्ला निर्वाचन कार्यालय कैलालीले आचारसंहिता उलंघन गर्ने दल र उम्मेदवारहरुलाई कारबाही गर्न उदाशिनता देखाएकाले दलहरुले निरन्तर रुपमा आचारसंहिता मिच्दै गएका हुन्। विभिन्न सञ्चार माध्यमहरुमा राजनीतिक दलहरुले आचारसंहिता मिचेको खबर आएपछि निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरुले कारबाहीका लागि निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका छन्। जिल्ला निर्वाचन कार्यालयले पनि दलहरुलाई आचारसंहिता उलंघन रोक्न सचेत गराएको जिल्ला निर्वाचन कार्यालयका शाखा अधिकृत लक्ष्मीराज जोशीले बताए।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले पनि दलहरुलाई बोलाएर सार्वजनिक स्थलमा लगाएको झण्डा, पर्चा हटाउन निर्देशन दिएको छ। प्रमुख निर्वाचन अधिकृत यज्ञराज भट्टले केही दलहरुले हटाएपनि अधिकांश दलहरुले नहटाएको बताए। उनले त्यसको निर्वाचन कार्यालयले अनुगमन गरिरहेको बताए।
तैपनि दलहरुले तोकिएको भन्दा ठूलो आकारका झण्डा प्रयोग गर्ने, सार्वजनिक स्थलमा, शैक्षिक संस्था र त्यसको भित्तामा, बिजुलीको खम्बामा र व्यक्तिको घरको भित्ताहरुमा अनुमति नलिएरै पर्चा पम्पलेट टाँस्ने, रंगीन पोष्टर तथा शुभकामना कार्ड छपाउने लगायतका आचारसंहिता उलंघन गरिरहेका छन्।
सबै भन्दा धेरै नेपाल कांग्रेसले कैलाली क्षेत्र नम्बर ६ मा शेरबहादुर देउवाको ठूलो आकारको पम्पलेटहरु जताततै टाँसेको छ। देउवाको प्रचारका लागि विजुलीको पोल, ऐश्वर्य विद्यानिकेतनलगायतका शैक्षिक संस्थाहरुको बाउण्डरीवाल, घरघरको भित्ता र सार्वजनिक स्थलमा मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने गरी पर्चा टा“सिएको छ। कांग्रेसले सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको भवनमा समेत निर्वाचन आचारसंहिताको ठूलो आकारको झण्डा खिल्ली उडाउने गरी टाँगेको छ।
त्यसैगरी, नेकपा एमालेले पनि धनगढीका बिजुलीको पोल, व्यक्तिगत घर र सार्वजनिक स्थलमा फोहोर हुने गरी पर्चापम्पलेट र झण्डा टाँसेको छ। एकीकृत नेकपा माओवादीले आचारसंहितामा नगरपालिका रोडस्थित क्षेत्रीय वन परिसरमा लेखिएका संरक्षणका नारा छोपिने गरी र भित्ता फोहोर हुने गरी पर्चापम्पलेट टाँसेको छ। माओवादीले सो पर्चापम्पलेट र झण्डा भने आचारसंहिताले तोकेबमोजिमको आकारमा छपाएको छ।
एकीकृत नेकपा माओवादी र एमालेले क्षेत्र नम्बर ६ मा गाडीको अनुमति लिएको छ। त्यस बाहेर सबै उम्मेदबारले ठूलो आकारको झण्डा र अनुमति बिनाको गाडी प्रयोग गर्दै आइरहेका छन्। यसअघि, देउवाको स्वागतमा गाडीको लस्कर नै लगाइएको थियो।
ग्रामीण क्षेत्रमा दलहरुले लाउडस्पिकरको समेत प्रयोग गरिरहेका छन्। केही दलहरुले निर्वाचन आचारसंहिता विपरित पत्रपत्रिकाहरुमा भोट माग्दै सूचना प्रकाशन गराएका छन्। केही पत्रकारहरुले पनि उम्मेदवारहरुको झण्डा बोकेर पूर्णकालीन कार्यकर्ताको भूमिका निभाइरहेका छन्। दलहरुले बालबालिकालाई समेत झण्डा बोकाएर प्रचारमा लगेका छन्।
निर्वाचन कार्यालयलाई कारबाही गर्ने अधिकार नरहेका बताउ“दै शाखा अधिकृत जोशीले रोक्न सचेत गराउँदा पनि आचारसंहिता उलंघन गरिरहेको पाइएमा आयोगमा कारबाहीका लागि सिफारिस गर्ने बताए।
यसैबीच, कैलालीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा कैलाली क्षेत्र नम्बर ६ का दुई जना उम्मेदवारले आचारसंहिता उलंघन गरेको उजुरी परेको छ। अखण्ड नेपाल पार्टीका उम्मेदवार हरि रेग्मी बिरुद्ध धनगढीस्थित क्षेत्रीय रंगशाला र कृषि भवनको भित्तामा चुनाव चिन्ह सहितको भित्तेलेखन गरेको उजु्री परेको छ।
त्यसैगरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदरवार लक्ष्मण थारु बिरुद्ध थरुहट तराई पार्टी नेपाल र थरुहट तराई लोकतान्त्रिक परिषद् एउटै पार्टी रहेको भनि चुनावी प्रचारप्रसार गरेको उजुरी परेको छ। थारुलाई निर्वाचन कार्यालयले पार्टीको नाम र चुनाव चिन्ह मात्रै राखेर पर्चा छपाउन निर्देशन दिएको छ। ‘हामीले निर्देशन दिएपछि उहा“ले पर्चा सच्याउनुभएको छ,’ प्रमुख निर्वाचन अधिकृत भट्टले भने, ‘पर्चा अझै मिलेको छैन।’
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले भित्तेलेखन मेटाउन निर्देशन दिएपनि अखण्ड नेपाल पार्टीले रंगशाला र जिल्ला कृषि विकास कार्यालयको बाउण्डरीवालमा गरेको भित्तेलेखन अझै मेटाएका छैन।

Leave a Reply

Your email address will not be published.