सिरहमा उम्मेदवारमाथिको आक्रमण रोकिएन

siraha_districtसिरहा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्न सिंहमाथि आक्रमण भएको दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण भएको छ। अनिल झा नेतृत्वको सङ्घीय सद्भावना पार्टीका उम्मेदवार आशा पालमाथि गए राति ८ बजे आक्रमण भएको हो। पिप्रा प्रध गाविसमा चुनावी कार्यक्रम सकाएर लहान फर्किने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत मेदनीपुरस्थित पुल नजिकै अपरिचित युवाले उम्मेदवार पालमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।
प्रहरीका अनुसार दुई मोटरसाइकलमा तीन तीन जना सवार भएर आएका युवाले उम्मेदवार पालमाथि आक्रमण गर्दा नेत्री पालले लगाएको कपडासमेत च्यातिदिएका छन्। ‘पिप्रा प्रधमा कार्यक्रम सकाएर श्रीमान्सँगै लहान फर्किँदै थिएँ,’ आक्रमणमा परेकी उम्मेदवार पालले भने, ‘मेदनीपुर पुलबाट तल झर्ने क्रममै पछाडिबाट कपाल समातेर मोटरसाइकलमा चढेका आक्रमणकारीले पछार्योन, म साइकलबाट लडेपछि कपडा समातेर च्यात्न थाल्यो अनि म डरले कराउन थालेपछि आक्रमणकारी पूर्वतिर भागे।’
आक्रमण भएपछि उम्मेदवार पालले इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी निरीक्षकलाई फोन गरेर सुरक्षा मागेका थिए। त्यसपछि सुखीपुरका प्रहरी निरीक्षकले इलाका प्रहरी कार्यालय धनगढीलाई जानकारी गराएका प्रहरीको टोली तत्कालै घटनास्थल गएको थियो।
पुनः आक्रमण नहोस् भनेर प्रहरीको टोलीले उम्मेदवार पाल र उनका श्रीमानलाई आफ्नै गाडीमा लहान पुर्या्एको थियो। पार्टी सानो भए पनि क्षेत्र नं ४ मा आफ्नो स्थिति मजबुत रहेकाले अन्य पार्टीका उम्मेदवारले नै आक्रमण गर्न लगाएको उम्मेदवार पालले आशङ्का व्यक्त गरे। उनले भने, ‘अर्थ अभावले साइकलमा प्रचारप्रसार गर्दै आएको थिएँ तर आक्रमणमै परेपछि अब पार्टीलाई गाडीको व्यवस्था गर्न आग्रह गर्छु।’
साना दलका उम्मेदवार भनेर स्थानीय प्रशासनले पनि सुरक्षा दिन विभेद् गरेको उम्मेदवार पालको आरोप छ। उनले ठूला उम्मेदवार जस्तै साना दलका उम्मेदवारलाई पनि सुरक्षा दिन स्थानीय प्रशासनसँग माग गरे। इलाका प्रहरी कार्यालय धनगढीले उम्मेदवार पालमाथि कसले आक्रमण गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.