थारु समुदायले यसरी मनाउँछन् दसैं

 

घर देउवतालाई दसैंको पूजा गर्दै घरको गरधुर्‍या।
घर देउवतालाई दसैंको पूजा गर्दै घरको गरधुर्‍या।

सन्तोष दहित, दाङ- थारु समुदायले जन्माअष्टमी ‘अष्टिम्की’ र ‘अट्वारी’पछि दसैंको तयारीमा जुटिसकेका हुन्छन्। महिनौ पिच्छे विभिन्न पर्व मनाउने यो समुदाय चाडपर्वमा निकै धनी मानिन्छन्। दसैंको तयारीमा यो समुदाय एक महिनाअघिदेखि नै लागिसकेको हुन्छ। यो समुदायमा निकै लोकप्रिय नृत्य ‘सख्या’ले पनि औपचारिरुपमै दसैंलाई भित्र्याउँछ। अर्थात् दसैंको आगमन यही सख्या नाचबाट सुरु हुन्छ। दिनभरि काममा दल्ने थारु समुदाय रातमा भने थकाइका बावजुद बठिन्या र पुरुषहरु सखया नाच्न महटवाको आँगनमा पुग्छन्।

करिब एक महिनासम्म दसैंको अवसरमा नाचिने ‘सख्या’ नाचले थारु गाउँको रौनकता बढाएको हुन्छ। तन्त्रमन्त्र बोकेको ‘सख्या’ नाच थारु गाउँको महटावाको आँगनमा युवा र अविवाहित महिलाले नाच्ने गर्छन्। दुइटा समूह बनाएर यो नाच नाचिने गर्छ। प्रत्येक समूहमा एक जना अगुवा हुन्छन्। महिला समूहको अगुवाको नाम ‘मोरिन्या’ बनाएको हुन्छ। त्यही ‘मोरिन्या’का अनुसार ‘सख्या’ गीत गाउने चलन छ। सहायकमा ‘पच्गिन्या’ पनि बनाएको हुन्छ। मादल बजाउने टिममासमेत दुई जना हुन्छन्। उनीहरुलाई ‘मन्दर्‍या’ भन्छन्।

२५-३० जनाको हाराहारीमा थारु बठिन्या र थारु पुरुषको जमातले मादलको घन्काइसँगै यो नाच नाच्ने गर्छन्। बठिन्याहरुको एउटै स्वरमा ‘सख्या’ गीत गाउने चलन छ। यतिमात्र नभएर दसैंको अवसरम नाचिने थारु समुदायको ‘सख्या’ नाच हेर्न आउने दर्शकलाई फरक फरक किसिमका ‘पैंया’ नाच पनि देखाउने गरिन्छ। सख्या नाचको बीच बीचमा नाचिने यो ‘पैँया’ नाचले पनि दर्शकलाई फरक आनन्द दिएको हुन्छ।

थारु जानकारहरुका अनुसार दशैमा नाचिने सख्या नाचले गाउँको अन्नबाली सप्रिने, गाउँको सुरक्षा हुनेजस्ता विश्वास रहँदै आएको छ। यो ‘सख्या’ गीतमा हरेक देवता, अन्नबाली, चराचुरंगी, जनावरको नाममा समेत सम्बोधन गरिएको हुन्छ। लगातार एक महिनासम्म नाच्दा पनि यो सख्या गीत सकिँदैन।

पछिल्लो चरण दसैंमा नाचिने सख्या नाच लामो भएको जनगुनासो आएपछि अहिले १०-१५ दिनसम्म छोट्याइएको छ। पहिले जन्माष्टमीपछि ‘हार्‍या गुरई’ पूजा गरिन्छ। त्यसको

भोलिबाट नाचिने सख्या नाच अहिले घटस्थापनाको एक दिन अगाडिबाट नाचिन्छ। सख्या नाचको समापन ‘गवल्या’ टीकाको ३ या ५ दिनपछि हुन्छ। जुन दिन सबै बठिन्याहरु माछा मार्न जान्छन्। मादल बजाउने ‘मन्दर्‍या’लाई माछा खुवाउने परम्परा रहँदै आएकाले उनीहरु माछा मार्न जाने गर्छन्। माछासँगै अन्य मिठो परिकार बनाएर सख्या नाचको समापन गरिन्छ। उक्त दिन सबै बठिन्या र मन्दर्‍या सहभागी हुनुपर्छ।

त्यही दिन रातिसम्म सबै गीत सक्नुपर्ने भएकाले अबेरसम्म सख्या नाच्ने गरिन्छ। सकिएपछि मादल बजाउने ‘मन्दर्‍या’हरु र बठिन्याहरु दुइ लाइन लागेर एक तालमा मादल वजाउने, एक तालम मन्जौरा बजाएर सख्या नाच समापन गरिन्छ। जुन समापन गरिने दिनलाई थारु भाषामा ‘दिउता बैसइना’ भनिन्छ।

अरु समुदायले दसैंमा मनाएजस्तै थारु समुदायको दसैं पनि घटस्थापनादेखि सुरुवात भएको पाइन्छ। तथापि दसैंको अवसरमा भने गाँउको चलनअनुसार कतै एक महिना अगाडि, कतै १०-१५ दिन, कतै एक हप्ता अगाडिबाट सुरु हुन्छ। त्यही घटस्थापनाको दिन नै थारु समुदायले शुभसाइतमा नुहाइधुवाइ गरी मकैको जमरा राख्ने चलन छ। थारु समुदायका पुर्खाले प्रायः मकैको जमारा राख्दै आएकाले पनि यो समुदायले मकैको जमरा राख्ने चलन गर्छ।

दसैंको तयारीस्वरुप कसैले घर निपोटमा लागेका हुन्छन् भने कसैले वनजंगलमा दाउरा लिन जान्छन्। कसैले ढिक्री बनाउन चामलको पिठो पिसाउन व्यस्त हुन्छन्। दसैंमा पुज्नका लागि चल्ला, सुंगुरको पाठा, खसी खोजीसमेत खोज्छन् यो समुदाय। सप्तमीको दिन ‘पैनस्टोपी’ ढिक्री बनाउने एक प्रकारको भाँडा नजिकैको खोलामा गाँउका सबै महिला एकै ठाउँमा जम्मा भएर धुने चलन छ। त्यसको भोलिपल्ट अर्थात् अस्टमीको दिन चामलको पिठो गोलाकार ढिक्री बनाइन्छ। थारु समुदायले अस्टमीको दिन ढिक्री बनाएर आ–आफ्नो देवतालाई चढाउने चलन छ। त्यही दिन थारु समुदायमा रातभरि नसुतेर बिहानको ८ बजेसम्म नाच्ने गर्छन्। अस्टमीको भोलिपल्ट घरको देवताअनुसार ५ देखि १० वटासम्म चल्ला, एक एक वटा सुंगरको पाठो र खसी पुज्ने गर्छन्।

थारु समुदयाले नवमीको दिन ‘गँवल्या’ टीका भनिन्छ। त्यही दिन गाँउका सबै गरढुर्‍याहरु गाँउका ‘देवथन्वा’मा जुटेर सबैले महटावासँगै कानमा जमारा लगाउने चलन छ। दसैंको शुभकामना आदान-प्रदान गर्ने चलन पनि त्यही दिन थारु समुदायले गर्छन्। वर्कीमार गीत गाउने चलन पनि सँगै गर्छन्। यसरी सबै जना जुटिसकेपछि ‘वर्कीमार’ गाउँदै महटवाको घरमा त्यही ‘गँवल्या’ टीका लगाउने चलन छ। सोही दिन थारु समुदायका सबैले महटावाको घरमा गएर महटावासँग ‘गँवल्या’ टीका लगाउने चलन छ।

यो ‘गवल्या’ चामलको सेतो टीका हुन्छ। सोही बेलादेखि सख्या नाच सुरु गरिन्छ। सख्या नाच्ने सबै बठिन्या मादल बजाउने मन्दर्‍याहरु महटवासँग टीका लगाउने चलन छ। जुन चलनले थारु समुदायमा समुधर सम्बन्ध बनाँदै आएको पाइन्छ। थारु समुदायको यो प्रजातान्त्रिक अभ्यास अरुले पनि सिक्न जरुरी छ। थारु समुदायमा कहिले पनि तिहारको नाममा विकृति ल्याएको पाइँदैन। सबैलाई मान सम्मान, आदर गर्ने थारु समुदायमा अझै पनि कायमै छ। थारु समुदायको हरेक तिहारमा सद्‍भाव र समाजम सुमधुर कायम गर्दै आएको पाइन्छ।

2 thoughts on “थारु समुदायले यसरी मनाउँछन् दसैं

  1. This a good way to inform about culture to another who doesn’t know the Tharu culture yet. It attempts to add the extra value of Tharu community and its tradition.

    Thank you, this is admirable task……..

Leave a Reply

Your email address will not be published.