नेपाल उज्वेकिस्तानसँग पनि पराजित

goal nepalकाठमाडौं- एफसी उन्नाइस वर्षमुनिको छनोट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।  कतारस्थित दोहाको अल अरबी रगङ्शालामा आज साँझ सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग  ५–० गोलको लज्जास्पद हार बेहार्दै प्रतियोगिताबाट  बाहिरिएको छ। 

यस्तै यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग १–२ गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग शून्यका विरुद्ध एक गोल (०–१) अन्तरले पराजित भएको थियो।  उज्वेकिस्तानको जितमा नोरममुरदोभ नाजमिदेनले खेलको १४ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले भने अर्का खेलाडीले खेलको ३५-औं मिनेटमा एक गोल थपे।

यसैगरी उज्वेकिस्तानका अर्का खेलाडी सोमुरोदोभले ह्याटि्रक पूरा गर्दै उज्वेकिस्तानलाई ५–० को सहज जित दिलाए। खेलको दोस्रो हाफको ४७ औँ मिनेटपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो। नेपालको खेलाडी विश्वास श्रेष्ठले गल्ती गरेपछि रेफ्रीले श्रेष्ठलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए।

एसियाका ४० राष्ट्रले भाग लिएको सो प्रतियोगितालाई १० समूहमा विभाजन गरिएको छ जसमा प्रत्येक समूहको विजेता, आयोजक र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने ६ राष्ट्रले आगामी वर्ष २०१४ मा म्यान्मामा हुने फाइनल खेलमा सहभागिता जनाउनेछन्। रासस

Leave a Reply

Your email address will not be published.