थारु पत्रकार संघमा नयाँ कार्यसमिति

binita- TJAकाठमाडौं- थारु पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशनले गोरखापत्र दैनिकका लक्की चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ। संघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षमा क्रमशः प्रदीप लेखी थारु (कान्तिपुर टिभी), सीताराम चौधरी (तराई टिभी), पार्वता चौधरी (रेडियो कान्तिपुर) र शैलेन्द्र चौधरी (हिमालय टिभी) चयन भएका छन्। सदस्यमा मदन चौधरी (नागरिक दैनिक), अजय पन्जियार (सगरमाथा टिभी), किशोरकुमार चौधरी (एभिन्यूज टिभी), सरला चौधरी (रेडियो भेरी), हिक्मत चौधरी छन्।

यसैगरी अधिवेशनले सन्तोष दहित (मध्यपश्चिम), रामचन्द्र कुश्मि (सुदूरपश्चिम) र राज चौधरी (रुपन्देही)लाई पश्चिमाञ्चल इन्चार्जमा सर्वसम्मत चयन गरेको छ। TJA-1

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अनामनगरस्थित कार्यालयको सभाकक्षमा भएको कार्यक्रमको उद्‍घाटन संघको संस्थापक अध्यक्ष स्वर्गीय पत्रकार जयप्रकाश चौधरीकी धर्मपत्‍नी गीता थारुले गरेकी थिइन्। कार्यक्रमको उद्‍घाटन गर्दै प्रमुख अतिथि थारुले थारु पत्रकारलाई सक्रिय भएर थारुको मुद्दामा कलम चलाउन आग्रह गरिन्।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजकुमार लेखीले थारुलाई सरकारले सदियौंदेखि उपेक्षामा राखेकाले पत्रकारलाई सक्रियतापूर्वक कलम चलाउन आग्रह गरे। उनले थारुको पहिचान मेट्ने षड्यन्त्र भइरहेकाले सोप्रति पत्रकारहरु एक भइ संघमार्फत् पहल थाल्न सुझाव दिए।

पूर्व सभासद् तथा संघका सल्लाहकार महेश चौधरीले थारुको अस्तित्व र पहिचान नामेट गर्न ठूलो षड्यन्त्र भइरहेकाले संघमा आबद्ध पत्रकारलाई सचेत भइ कलम चलाउन आग्रह गरे। नेपालमा मधेस कहीँ नभए पनि थारुलाई मधेसी बनाउने षड्यन्त्र भइरहेकाले आफ्नो पहिचान र अस्तित्वका लागि पत्रकारलाई सचेत हुन सुझाव दिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव गजुरधन राईले आदिवासी जनजातिको समग्र लडाईँ अहिले राज्यसँग रहेकाले राज्यलाई दबाब दिन सबै आदिवासी जनजातिहरु सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राखे।

TJA-2

संघकी अध्यक्ष विनिता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान महासचिव कृष्णराज सर्वहारीले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। निवर्तमान अध्यक्ष चौधरीले संगठनको आर्थिक अवस्था र समग्र आफ्नो कार्यकालको गतिविधिबारे जानकारी गराए।

निर्वाचन मण्डलका अध्यक्ष सियाराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको थियो। कार्यक्रममा तीन जना पूर्व पत्रकारलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। थारु पत्रकारिताको जग हाल्ने पूर्व पत्रकार महेश चौधरी, पश्चिमा थारु भाषाको रेडियोमा पहिलो समाचार वाचक नेमनारायण चौधरी तथा पूर्वीया थारुभाषाका समाचार बाचक भुदेव भगतलाई सो अवसरमा सम्मानित गरिएको थियो।

संघको उपत्यकालगायत आठ जिल्लामा कार्यसमिति गठन भएको भए पनि तीन जिल्ला कञ्चनपुर, दाङ र रुपन्देहीबाट प्रतिनिधि सहभाग थिए। कार्यक्रममा ४० जना पत्रकारको सक्रिय सहभागिता थियो।

Leave a Reply

Your email address will not be published.