एमाओवादीद्वारा परशुरामलाई सुनसरीबाट उम्मेदवारीको सिफारिस

prasuram chaudharyकाठमाडौं- थारु अभिनेता परशुराम चौधरीलाई एकीकृत माओवादीले कोचिला राज्यबाट संविधान सभाको चुनावका लागि सिफारिस गरेको छ। थारु, मैथली, भोजपुरी, रजवंशी तथा बंगाली फिल्ममा अभिनय गर्दै आएका उनलाई पार्टीले सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस गरेको हो। ‘कोचिला राज्यको सुनसरीबाट थारु हिरो परशुराम चौधरीलाई सिफारिस गरेका छौं,’ सिफारिस संयोजक निर्मल बरालले भने, ‘थारु बाहुल्य क्षेत्र भएकाले उहाँलाई सिफारिस गरेका हौं।’

सुनसरी क्षेत्र नम्बर २ अधिकांश थारु समुदायका मानिस बस्छन्। क्षेत्र नम्बर २ मा ९५ प्रतिशत जनसङ्ख्या थारु समुदायको छ,’ उनले भने, पार्टी संघीयताको पक्षमा भएकाले र उहाँ आफैं पनि पब्लिक फिगर भएकाले उहाँको नाम सिफरिस गरिएको हो।’

यता अभिनेता चौधरीले आफ्नो नाम सिफारिस भएको टेलिफोनमार्फत् थाहा पाएको बताए। उनले सहजरुपमा लिँदै पार्टीले टिकट दिए अत्याधिक मतले विजयी हुने बताए। सुनसरीको क्षेत्र नम्बर २ मेरो जन्मथलो हो,’ उनले भने, हरेक मानिससँग मेरो आत्मिय रहेकाले टिकट दिए अत्याधिक भोट ल्याएर जित्नेछु।’

विगत २५ वर्षदेखि फिल्म क्षेत्रमा काम गर्दै आएका चौधरीले नेपालको पहिलो थारु फिल्म निर्माण गरेका थिए। उनले थारुसँगै मैथली, भोजपुरी, बंगाली भाषाको फिल्ममा अभिनय गरेका छन्। उनले नेपाली म्युजिक भिडियो तथा फिल्ममा समेत काम गरिसकेका छन्। थारु भाषाको राष्ट्रिय गीतको भिडियो समेत चौधरीले निर्देशन गरेका हुन्।

यसअघि एमाओवादीले अभिनेत्री रेखा थापालाई पर्साबाट उम्मेदवारीका लागि सिफारिस गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.