इराकसँग नेपाल बराबरी खेल्यो

gaol nepalकाठमाडौं- राजधानीमा जारी एएफसी सोह्र वर्षमुनि (यु–१६) फुटबल प्रतियोगिताको समूह सी छनोट खेलमा आज नेपालले निकै बलियो टिम मानिएको इराकसँग बराबरी खेलेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपालले इराकसँग २–२ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको छ। आजको खेलमा अग्रता भने इराकले लिएको थियो। इराकका खेलाडी हुसम हसनले खेल सुरुवाती १५ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए भने इराकका अर्का खेलाडी अमिर साबहले खेलको पहिलो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै खेल २–० ले अगाडि रह्यो।
खेलको पहिलो हाफमा खासै राम्रो प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो हाफमा भने निकै सुधार गर्‍यो। दोस्रो हाफ सुरु भएको चार मिनेटमा एक गोल फर्काएको थियो। नेपालका लागि कप्तान विमल घर्तीमगरले डिबक्स एरियाबाट एक गोल फर्काएका हुन्। यस्तै नेपालका अर्का खेलाडी अन्जन विष्टले खेलको ७९ औँ मिनेटमा थप एक गोल गर्दै नेपाललाई २–२ गोलको बराबरीमा ल्याए।
विष्टले हेमन्त थापामगरको कर्नर पासलाई सदुपयोग गर्दै हेडमार्फत सुन्दर गोल गरेका थिए। विष्टको व्यक्तिगत यो अन्तर्राष्ट्रिय दोस्रो गोल हो। यसअघि बुधबार भएको बहराइनविरुद्धको खेलमा एक गोल गरेका थिए।
जारी प्रतियोगितामा दुईदुई खेलमा नेपाल र इराकले समान चार अङ्क जोडेका छन्। यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले बहराइनलाई २–० गोलले पराजित गरेको थियो भने इराकले तुर्कमेनिस्तानलाई ८–१ को फराकिलो गोलअन्तरले हराएको थियो।
नेपालले छनोट चरणको तेस्रो तथा अन्तिम खेल यही असोज १३ गते तुर्कमेनिस्तानको सामना गर्नेछ। सोही मैदानमा आजै भएको पहिलो खेलमा बहराइनले तुर्कमेनिस्तानलाई ३–१ गोलअन्तरले पराजित जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो।

 

Leave a Reply

Your email address will not be published.