साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Bharat khawa-tकाठमाडौं- दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण खेल साफ च्याम्पियनसीप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपालले बङ्गलादेशलाई हराउँदै राम्रो सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गराएको हो। नेपालका लागि अनिल गुरुङले खेलको १८ औँ मिनेटमा भोला सिलवालको पासमा हेडमार्फत् गोल गरेका थिए।

त्यस्तै नेपालका अर्का खेलाडी भरत खवासले खेलको ३१औं मिनेटमा थप एक गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि खेलमा दवै पक्षबाट कुनै गोल हुन सकेन र नेपालले २–० ले विजयी भयो। म्यान अफ दी म्याच भरत खवास घोषित भए। जितसँगै समूह ए मा रहेको नेपालले महत्वपूर्ण ३ अङ्क जोडेको छ। फुटबल हेर्न करिब २० हजार दर्शक रङ्गशाला आएको एन्फाले जनाएको छ।

यसअघि सन् २०११ मा भएको सातौँ संस्करणमा भने नेपाल बङ्गलादेशसँग १–० पराजित भएको थियो। यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले खेलकुदको विकासले मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने भन्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

उद्घाटन कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापालगायत पदाधिकारीको उपस्थिति थियो। प्रतियोगिताअन्तर्गत भोलि साँझ ६:३० बजे दशरथ रङ्गशालामा भारतले पाकिस्तानको सामना गर्नेछ। रासस

Leave a Reply

Your email address will not be published.