धेरैले नदेखेको ‘गुरही’ (भिडियोसहित)

gurahi festival-tharu community

मुकेश टेर्रा, कैलाली– दिनको ढलानसँगै धनगढीको क्याम्पस चोकमा थारु समुदायको भीड बढ्दै गयो। सधैं कोटपाइन्टमा छाटिने थारु अगुवाहरु आफ्ना पुराना पहिरन ‘धोती–अंगिया र भादगाउँले टोपी’मा सजिएका थिए। टि–शर्ट पाइन्ट र कुर्तासरवालमा ठाटिने ठिटीहरु पनि मातृ पोषाक ‘लहँगा–चोली’मा थिए।
तिनीहरुको हातको थाली, त्यसमा कपडाको गाइने किरा, दुबो, भुजा देख्दा लाग्थ्यो तिनीहरु मन्दिर जाँदैछन्। तर तिनीहरु क्याम्पस चोकमै उभिरहे। सबै जम्मा भइसकेपछि चोकमा उम्रेको ‘कुश’ टोली अगुवा थारु कल्याणकारिणी सभाका कैलाली जिल्ला सभापति प्रभातकुमार चौधरीले एक सासमा उखेले। यत्तिकैमा पितृपोशाकमा ओइरिएका केटाहरुले केराको पातेडाँठ, कुशको सोंटा (कोर्रा) हिर्काउन थाले। मानौं त्यो उखेल्दा विषालु किरा र सर्प निस्किए।
महिलाहरुले आफूले ल्याएका सुन्दर ‘गाइने’ त्यसै ठाउँमा फाल्न थाले। उखेलेपछि निस्किएका ती किरा र सर्पलाई पुरुषले पटापट पिटे। किरापिटेर थाकेका उनीहरुले लहँगा चोलीमा सजिएकी युवतीले ल्याएको मकै, मटर र चनाको भुजा ‘घुघ्री दे, घुघ्री दे’ भन्दै मागेर खाए।
यो घटना होइन। थारु समुदायको एउटा महत्वपूर्ण रित हो। हरेक वर्ष नाग पञ्चमीमा दिन ‘रझेत्या’ र ‘दिउखर्यार’ थारु समुदायले यो पर्व मनाउने गरेका छन्। उनीहरुकै भाषामा यसलाई ‘गुरही’ भन्ने गरिन्छ। यस वर्ष पहिलो पटक धनगढीमा विभिन्न ठाउँबाट आएका थारु समुदायले क्याम्पस चोकमा भेला भइ सामूहिकरुपमा साउन १९ गते नागपञ्चमीका दिन ‘गुरही’ मनाएका हुन्। कुशमा गाठो पार्नु, उखेल्नु, पिट्नु, कपडाले बनाएको गाइने फाल्नुलाई गुरही अस्राई (सेलाउनु) भन्छन्।
थारु समुदायले यो पर्वलाई रोपाईँपछिको र वर्षमै पहिलो चाडको रुपमा मनाउने गरेका छन्। थारु समुदायले ‘गुरही’बाटै चाड मनाउन सुरु भएको विश्वास गर्छन् र कतिपय थारु गाउँमा यसै दिन रोपाईँ सकेको खुसियाली ‘हरडहुवा’ खाने पनि चलन छ।
यो पिटाईपछि डराएर विषालु किरा र सर्पहरु एक वर्षका लागि नफर्कने थारु समुदायमा विश्वास छ। यसका साथै किराहरुसँगै रोगव्याधीहरु पनि टाढिने विश्वास समाजमा व्याप्त छ। यसरी पिटीरहेको ठाउँमा कपडाले बनाएको गाइने फाल्दा त्यसैसँग रोग पनि सति जाने विश्वास थारु समुदायको छ। गाइने किरा (गुरही)लाई संकटको प्रतिकको रुपमा मान्ने गरिन्छ।
‘गुरही सेलाउनाले साना बालबालिकामा लागेको आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने विश्वावस थारु समुदायमा छ,’ यसको विषयमा लेखिरहेका पत्रकार अविनाश दहितले भने, ‘गाउँमा भएको दुःख, संकट वा हुने द्वैवीय विपत्ती टाढिने गरेको विश्वास राखिन्छ।’
यस पर्वदेखि पृथ्वीको तापक्रम घट्ने भएकाले सर्प लगायतका विषालु किरालाई विदा गर्न यो पर्व मनाइएको बताउँछन्, धर्मोदय सभाका सभापति लाहुराम चौधरी। उनका अनुसार जाडोमा सर्प र विषालु किराहरु कठ्यांग्रिएर मर्ने भएकाले उनीहरुलाई पटालमा बस्न पठाइएको हो।
गुरही मनाउने योजना
विगत केही वर्षदेखि नागपञ्चमीका दिन एउटा फोन आउँथ्यो, ‘गुरही मनाउन आनुस्।’ साँझको बेला मनाइने गुरही मनाउने मौका पत्रकारिताले दिएको थिएन। हरेक साँझ ‘बिजी’ साँझ हुन्छ।

gurahi festival-tharu community-2
यस वर्ष बल्ल लगत जुर्यो , नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कैलालीकै अगुवाईमा गुरही मनाउने निर्णय भएपछि। यो पर्व मिडियामा आओस भन्ने चाहना राख्‍ने मित्र उन्नती चौधरीले नै संगठनमा बृहत् रुपमा मनाउने प्रस्ताव ल्याएकी हुन्। आदिवासी थारुको पहिचान खोज्नेले पहिचानको उठान यहाँबाट हुन्छ भन्ने विश्वसास लिएर अगुवाई गर्‍यौं।
थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दिरा चौधरीले ब्यानर बनाउन जिम्मा लिइन्। थारु कल्याणकारिणी सभा कैलालीले ५ किलो मटरको व्यवस्था गर्ने भयो र आदिवासी जनजाति विद्यार्थी महासंघले ३ किलो मकै ल्याउने जिम्मा लियो। अनिजका अध्यक्ष अविनाश दहितले भुजा भुज्ने जिम्मा लिए र होमस्टे पर्यटन गाउँ भादाको पर्यटन विकास तथा व्यवस्थापन समितिले दुना बनाउने जिम्मेवारी लियो। सबैले आ-आफ्ना टोलबाट सहभागी बोलाउने निर्णय भयो।
गुरही र थारुको पहिचान
यसले सामाजिक सद्‍भाव र आपसी मित्रता बढाउन मद्दत गर्नुका साथै खेतीपाती गरिसकेपछि रमाइलो गर्ने पहिलो पर्वको रुपमा पनि लिइएको छ। यो आदिवासी समुदायको समाजमा पहिचान गराउने एउटा सशक्त माध्ययम पनि हो। यसले आदिवासी थारु भनेका प्रकृति पुजक हुन् भनेर चिनाउँछ। थारुहरुकै धर्म भनेको प्रकृति पुजन हो। उनीहरुको हरेक चाडमा प्रकृतिको पूजा गरिन्छ र प्राकृतिक सौन्दर्य अनुसारका पर्वमा थारु समुदायमा पर्व मनाउने गरेको पाइन्छ।
यद्यपि अहिले आएर ‘गुरही’ आफैं पहिचान खोजिरहेको छ। गुरही मनाइन्छ तरिका, यसको नाम, मनाउने समुदायको बारेमा धेरै कमलाई जानकारी छ। अरुको के कुरा गर्नु आफ्नै गरौं। थारु समुदायमै जन्मेको हुर्केको म, थारु समुदायकै पहिलो पर्व गुरही हेर्ने मौका २२ वर्षपछि पाएँ। मात्रै डगौरा थारु समुदायमा जन्मेकाले यो सजाय भोग्नुपर्योा। गुरही मनाउने निर्णय भएपछि धेरै थारु युवाहरुले नै सोधे, ‘गुरही भनेको के हो?’ सोध्ने सबै डगौरा थारुका छोरा थिए। यो स्थितिमा अन्य जातिले गुरहीलाई जानेका छन्, चिनेका छन् भन्ने ठाउँ छैन।
समाजलाई चिनाउने भनेको उनीहरुको पर्व, भेष, भाषा र चाल चालन हुन्। त्यसमध्येको एउटा सशक्त माध्यम हो पर्व। तर गुरही हाम्रो गाउँमा मात्रै सिमित छ। यसलाई सञ्चार माध्यमले पनि चासो दिएका छैनन्। यसै पर्वमार्फत् संविधान लेखनसम्मको सिढी लगाउने उद्देश्य हो थारु अगुवाको। थारु कल्याणकारिणी सभाका जिल्ला सभापति प्रभातले थारु समुदायको यस्ता पहिचान संविधानमा लेखिनुपर्ने माग गर्छन्। यस पर्वले थारु सध्यता र धर्मलाई झल्काउने भएकाले यसलाई संरक्षण गर्न संवैधानिक व्यवस्था गरिनुपर्ने माग थारु अगुवाको छ।
फेसबुक पेज थारु कम्युनिटीको भिडियो हेर्नुस् :

One thought on “धेरैले नदेखेको ‘गुरही’ (भिडियोसहित)

  1. तीन वर्षा पहिले लेखेको स्टारी एक पटक यसपाली फेरि पढें, थारूवान डटकममा पोष्ट भएपछि । गुरही बारे नयाँ एंगल नपाएकोले पुरानै स्टोरी सेन्ड गरेको थिएँ । फेरि पढ्दा केहि शब्द बढि लेखेजस्तो लाग्यो । ति शब्द गलत त होइनन् तर हटाउँदा स्टोरी रस थपिदो रहेछ भनेर महसुस गरे । एक पटक खररर पढेर पढाए राम्रो हुन्थ्यो भन्ने ज्ञान पाइयो ।

Leave a Reply

Your email address will not be published.