एकादेशको कथाजस्तै बन्दै गएको गुढ्ढागुढिन् पर्व

gudiya festivalकमला चौधरी- थारु समुदायमा प्रत्येक वर्ष नागपञ्चमीका दिन कपडाको (गुडिया) गुढ्ढागुढिन् खोलामा बगाउने प्रचलन छ। हिन्दू परम्परा अनुसार नागलाई पानी र वर्षाका देवताका रुपमा लिइन्छ। ‘जुन घरमा नागको बास हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ’ भन्ने पनि धामिर्क विश्वास जनमानसमा रहेको पाइन्छ। नागलाई खुसी पार्न नागलाई मन पर्ने दुध, दुबो चढाई स्तुति र पूजा गर्दा घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने, आगलागी र दैवी विपत्ति नपर्ने विश्वास छ। आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ। सबै नेपालीले यसैगरी नागपञ्चमी मनाउने गर्छन्।
नेपालको आदिवासी थारु समुदायमा भने फरक तरिकाले मनाउने चलन छ। रुपन्देहीमा थारु समुदायले गुडिया पर्वको रुपमा मनाउने गर्छन्। नागको पूजा गर्नुका साथै थारु समुदायले सप्तरङ्गी कपडाबाट बनाइएको गुडियालाई पूजा गरी खोलामा विसर्जन गर्ने गर्छन्। जिल्लाको बुटवल, गजेडी, पर्रोहा, सालझण्डीलगायतका थारु बस्तीमा यो पर्व विशेष धुमधामका साथ मनाइन्छ। पौराणिककालमा गुडिया पञ्चमी भनेर थारुहरु समुदायले भन्ने प्रचलन रहेको थारु अगुवाहरुले बताउँछन्। पात्रअनुसार पञ्चमीमात्रै उल्लेख गरिए पनि पछि गएर हिन्दू धर्मावलम्बीले नागपञ्चमीको रुपमा मनाउन थालेका हुन्।
यो समुदायमा नाग पञ्चमी अर्थात् गुडिया पञ्चमी पहिलो र फागु पुर्णिमा अन्तिम पर्वको रुपमा मानिदैआएको थारु जानकारहरुले बताउछन्।
विभिन्न थारु विज्ञहरुको फरक फरक धारण र परिभाषा छन्। थारु जनकवि बमबहादुर थारु भन्छन्, ‘थारुहरुको पहिलो पर्वको रुपमा यसलाई मानिँदै आएको छ। थारु घरहरुमा हप्तौदेखि सरसल्लाह हुन्छ। घरमा छोरीचेलीबेटीलाई बोलाएर रमाइलो माया साटासाट जर्ने चलन हुन्छ।

कपडाको मान्छे आकारको कलात्मक तरिकाले कचरी, वेल्वालाई पुतलीजस्तै गुडिया बनाइन्छ। यसलाई गुडिया पर्वको रुपमा पनि लिइन्छ। विभिन्न परिकारजस्तै ढिकरी, चनाको घुघुरी, गाभाको पकौडा, दुध र प्रसाद बनाउने गरिन्छ। गुडियालाई दुल्हादुलही बनाइ साँझपख नदी खोला अथवा तालमा गएर अविवाहित युवायुवतीले डोलामा राखेर विसर्जन कार्य हुन्छ। यस्तो गरेको खण्डमा घरको भएका दुख, शोक सन्ताप जति गुडियासँगै बगेर जाने मान्यता छ। गुडिया विर्सजन गरिसकेपछि घरघरमा प्रसाद बडेर रातभर रमाइलो गर्ने चलन छ।

त्यसैगरी थारु कल्याणकारिणी सभा रुपन्देहीका उपसभापति रामवलि चौधरी भन्छन्, ‘यो विशेषगरी थारु अविवाहित युवतीको पर्व हो। उनीहरुले कपडाको पुत्लापुतली बनाइ साझमा खोला वा कुलोमा गएर विसर्जन गर्ने गर्छन्। मान्छे आकारजस्तै बनाइएको गुडियालाई केटाले काचो काठको लाठी बनाइ पिट्ने चलन छ। केटीहरुले साडी लगाएको पोसाकमा र केटीहरु थारु पोसाकमा लाइनबद्ध भएर खोलामा गएर विसर्जन गर्ने गर्छन्। थारु झाँकीसहित बनाइएको गुडिया बगाउने चलन छ। बगाइसकेपछि केहीबेर खोला नजिकै नाचगान गर्ने चलन छ। थारु बाजागाजासहित बढापुस्ताले रमाइलो गर्ने गर्छन्। समग्रमा भन्नुपर्दा पुराना पुस्ताले चलाउँदै आएको परम्परालाई निरन्तरता दिएको उनको भनाइ छ।
अर्का ज्ञाता नेपाल निर्माण सम्बद्ध श्रमिक संघका ओमप्रकाश चौधरी भन्छन्, ‘पौराणिक कथनअनुसार गरिब घरकी छोरीको विवाह धनी परिवारमा भएको हुन्छ। धेरैपछि केटीको दाजुले चाड मनाउन बोलाउन जादा घरबाट बाहिर ननिस्कि बाहिरैबाट दाजुलाई घर पठाइदिएको धारण छ। आफू सुसम्पन्न गरगहनाले भरपुर्ण रुपले सजिएकी दाजुले भने फाटेको कपडा लगाएको देखेर बाहिर आउन लाज लाएको, पछि एक्लै आउँछु भनि, पालेलाई भनेर घर पठाइदिएको भनाइ छ। दाजुलाई यो कुरा मन पर्दैन। यो मन दुखाउँदै घर जान्छ। केही दिनपछि छोरी, बहिनी माइत जान्छे र यो कुरा

माइतपट्टीलाई मन परेको हँदैन। बहिनी घर जाने क्रममा बाटोमा अबदेखि तिमी धनी भयौं, तिम्रो लागि हामी पराया भयौं, सधैं खुसी र सुखी रहनू, तिमी फर्केर अब माइत नआउनु भन्दै खोला तराइदिएपछि यो चाडलाई मनाउन सुरु गरिएको भनाइ छ। त्यो दिनदेखि बहिनी माइत आउन छोडेको विज्ञहरु बताउँछन्।
भनाइ जस्तोसुकै भए पनि हामीले आफ्नो संस्कृति, रीतिरीवाज र परम्परालाई विर्सनु हुँदैन। पूर्वी नेपाल र पश्चिमी नेपालमा जसरी मनाइए पनि यो चाडलाई गुमाउनु हुँदैन। पार्खा पुस्ताले सिर्जना गर्दै आएका संस्कृतिलाई युवापुस्ताले पनि निरन्तरता दिनुपर्छ। गुडिया पर्व एकादेशको कथाजस्तै नबोस्।

3 thoughts on “एकादेशको कथाजस्तै बन्दै गएको गुढ्ढागुढिन् पर्व

  1. कमलाजी यो पर्वको नाम हो । त्यसैले नेपाली नामाकरण नगर्दा बहुत राम्रो हुन्छ ।

  2. हाम्रो यता गुरही भन्ने गरिन्छ । हामी यो पर्वलाइ यहाँ अन्य समुदायलाइ यसै नाम र यसैगरी बुझाएका छो । यसलाइ ट्रान्सलेट गरेर अर्को भाषामा हामीले अर्को नाम दिएर बुझायो भने यसको मोलिकता रहँदैन र यसको महत्व कम हुन्छ भन्ने हामीले बुझेका छो ।

Leave a Reply

Your email address will not be published.