एमाओवादीका अर्का उपाध्यक्ष र महासचिवले पनि राजीनामा दिए

narankaji and bogatiकाठमाडौं- एमाओवादीको जारी केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको ‘विशेष साङ्गठनिक तथा राजनीतिक प्रस्ताव’ माथि नेताहरूले आफू सम्बद्ध समूहको धारणा राखेका छन्। ललितपुरको खन्ना गार्मेन्टमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभएको जानकारीअनुसार अध्यक्षले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रस्तावमाथि १६ वटा समूह नेताले आ–आफ्नो समूहको धारणा राखेका थिए।
टोली नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर आगामी संविधानसभाको निर्वाचनलाई सफल बनाउन जुट्नुपर्ने, तत्कालका लागि पार्टीको सर्वोच्च निकायमा अध्यक्ष मात्रै रहने र अरु केन्द्रीय सदस्यको रुपमा रहने भन्ने प्रस्ताव नै तत्कालका लागि उचित विकल्प भएको धारणा राखेका थिए।
विस्तारित बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि १६वटै टोलीका नेताले सहमति जनाएको जानकारी दिँदै प्रवक्ता सापकोटाले संविधानसभाको निर्वाचन पछाडि विशेष राजनीतिक सङ्गठनात्मक सम्मेलनको आयोजना गरेर ठोस रुपमा सङ्गठनात्मक प्रणालीको विकास गर्नुपर्नेमा उनीहरुले जोड दिएको बताउनुभयो।
बैठकमा बोल्ने अधिकाँश टोली नेताले उपाध्यक्ष पद त्याग गर्नुभएका डा बाबुराम भट्टराईलाई सो निर्णय फिर्ता लिन आग्रह गर्दै पार्टीमा देखिएको विवाद तत्काल हल गरेर पार्टीको श्रेष्ठता कायम गर्न जनतामा जानुपर्ने बताएका थिए।
बैठकमा आ–आफ्ना टोलीका तर्फबाट मन्तव्य राख्नेहरूमा सेती–महाकाली ब्यूरोबाट रेणु चन्द, भेरी–कर्णालीबाट सुरेश पहाडी, थारुवानबाट जगप्रसाद शर्मा, मगरातबाट टेकबहादुर बस्नेत, तमुवानबाट हरि अधिकारी, अवधबाट कमल चुदाली र भोजपुराबाट अञ्जना बिशङ्खे हुनुहुन्थ्यो।
त्यसैगरी ताम्सालिङबाट हितबहादुर तामाङ, किराँतबाट सुरेशकुमार राई, लिम्बूवानबाट टङ्क आङबुहाङ, मजदुर मोर्चाबाट शालिकराम जमरकट्टेल, अन्तर्राष्ट्रिय ब्यूरोबाट युवराज चौलागाईं र सल्लाहकार परिषद्बाट नन्दकुमार प्रसाईं लगायतले आ–आफनो समूहको धारणा राख्नु भएको थियो।
पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले दिनुभएको जानकारी अनुसार एकल नेतृत्वको प्रस्ताव गरिएका कारण पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्ट बहादुर बोगटीले पनि आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
प्रवक्ता सापकोटाले भन्नुभयो – एकल नेतृत्वको कुरा आएपछि उहाँहरूले स्वतः पद छोड्ने भन्ने कुरा हो, उहाँहरूको त्यसमा सहमति छ, त्यसलाई राजीनामा भन्दा पनि हुन्छ, पदत्याग गरेको भन्दा पनि हुन्छ।

बैठकको बन्दसत्रमा एमाओवादी अध्यक्ष दाहालले सङ्गठनसम्बन्धी पाँच बुँदे प्रस्ताव पेस गर्नुभएको थियो। बैठकमा बोल्नेमध्ये केहीले भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न जानु कुन नैतिकता हो भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
सल्लाहकार परिषदका अध्यक्ष नन्दकुमार प्रसाईले सल्लाहकार परिषद जिल्ला र क्षेत्रतहसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो। सेती–माहाकालीबाट बोल्नु भएकी नेतृ रेणु चन्दले उत्पिडित क्षेत्रको रुपमा रहेको सुदूरपश्चिम क्षेत्रलाई पार्टीले विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो।
छलफलमा सहभागी कतिपयले भने महाधिवेशनले चुनेका पदाधिकारीको पद खारेज गर्न नमिल्ने तर्क गरेका थिए। छलफलमा सहभागी केहीले अब पार्टीभित्र गुटबन्दी अन्त्य हुनुपर्ने र धोविघाट जस्ता गठबन्धन कहिल्यै हुन नहुने सुझाव दिएका थिए।
बैठक भोलि दिउँसो १२ बजेसम्मका लागि स्थगित गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.