शान्ताको ‘कमलरीदेखि सभासद्सम्म’ सार्वजनिक

Shanta Book-2काठमाडौं- पूर्व सभासद् शान्ता चौधरीद्वारा लिखित ‘कमलरीदेखि सभासद्सम्म’ नामक आत्मसंस्मरण नामक पुस्तकको आज लोकार्पण गरिएको छ। सो पुस्तकको पूर्व कमलरी मञ्जिता चौधरीले लोकार्पण गरेका थिइन्। पुस्तकमा पूर्व सभासद् शान्ताले दाङमा कमलरी भएर बस्दाको कष्टपूर्ण अवस्था, भूमि अधिकार आन्दोलन, निरक्षरबाट साक्षर र सभासद् हुँदाको सङ्घर्षपूर्ण जीवनबारे उल्लेख गरेकी छन्। 
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले समाजमा रहेको दास प्रथा र शोषणलाई पुस्तकले उजागर गरेको बताउँदै समाजको रुपान्तरण गर्न चाहने राजनीतिक दलले यस्ता कुरीतिलाई अन्त्य गर्न पहल गर्नुपर्ने बताए। उनले संविधान सभालाई समावेसी बनाउन आफ्नो पार्टीले शान्तालाई समानुपातिकबाट सभासद् बनाएको उल्लेख गरे।
पूर्व सभामुख सुवास नेम्वाङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएमा शान्ताजस्ता पिछडिएका वर्गले अवसर पाउने बताए। पुस्तकका लेखिका शान्ताले देशको गरिबीले जन्माएको कम्लरी प्रथालाई पूर्णरुपमा उन्मूलन गर्न पुस्तकले राज्यलाई सहयोग पुर्याेउने धारणा राखे।
चौधरीले यस कताबले कमैयाले भोगेका दुःखबारे चित्रण गर्ने बताइन्। ‘संविधान सभा भवनमा आएर कमलरीको वकालत गर्दा सबैले कमलरी को हो? यो कहाँ पाइन्छ भनेर प्रश्‍न गरेका थिए,’ विगत सम्झिँदै उनले भनिन्, ‘यो किताबले ती आम प्रश्नलको उत्तर दिनेछन्।’
उनले आफू सुत्केरी भएको बेला पाएको पीडाको बयान गर्दै भक्कानिएकी थिइन्। ‘९ दिनको सुत्केरी हुँदा म बसेको घर प्रहरीले जलायो,’ आँखामा आँशु आएका उनले भनिन्, ‘१९ दिन पानी खाएर बाँचे तर मेरो पहिलो सन्तानलाई बचाउन सकिनँ।’

किताबको अर्को एक अंश पढ्नुस्। यसअघि थारुवान डटकमले ‘सबै पराइ भएपछि’ सार्वजनिक गरेको थियो।

Shanta Book-3आँशु थाम्न सकिनँ

प्राकृतिक स्रोत र साधन समितिको सभापतिका रूपमा कार्यरत् रहँदा धेरै अनुभव हासिल भयो। धेरै जनाले सघाउनुभयो। धेरै विषयमा अध्ययन गरेर प्रतिवेदन पनि तयार गरियो। समग्रमा हामीले सक्ने जति काम गर्‍यौं। समितिको भूमिका निर्देशन र सुझाव दिनेमा केन्द्रित रहेकाले कार्यान्वयन भने अझै पनि प्रभावकारी हुन सकेको छैन। यो भयो एउटा पाटो।

यही क्रममा साह्रै दुःख लागेको क्षण पनि जिन्दगीमा बिर्सनै नसकिने घटनाका रूपमा रहन पुग्यो। २०६९ वैशाख २४ गते भूमिहीनका समस्या समाधान गर्न केही प्रतिनिधिलाई समितिकै बैठकमा निम्ताएकी थिएँ। पीडित र समितिका सभासद्हरू आमनेसामने भएर छलफल गर्दा समस्याको बुझाइमा स्पष्टता आउने र समाधानको नजिक पुगिने विश्वासका साथ उनीहरूलाई सबैसँग भेटाउन र छलफल गराउन समितिमै बोलाएकी थिएँ।

तर छलफलका क्रममा सभासद् जस्तो गरिमामय पदमा बसेकाहरूले भूमि अधिकारबाट वञ्चितहरूमाथि दुर्व्यवहार गरे। भूमिहीनसँग पनि कहीँ मोबाइल हुन्छ? भूमिहीनले पनि सफा चिटिक्क लुगा लगाएर हिँड्छ भन्दै उनीहरूले यी नक्कली भूमिहीन हुन् जस्ता जथाभावी आरोप लगाए। त्यतिमात्र हैन, उनीहरूले भूमिहीनलाई बाहिर ननिकाल्दासम्म छलफल नै नगर्ने अडानसमेत लिए। आफैंले बोलाएर ल्याएकी पाहुनामाथि यस्तो दुर्व्यवहारले मलाई एकदमै दुःखित बनायो। मैले उनीहरूमाथिको दुर्व्यवहार खप्न नसकेपछि आँसुसमेत थाम्न सकिन। गरिबमाथि सभासद्हरूले देखाएको यो व्यवहार मेरो जीवनकै सबैभन्दा दुःखद् क्षणमध्ये रहिरहनेछ।

सभासद्हरूले नै भूमिहीनलाई साह्रै हेलत्तो गरेको अवस्थाबाहेक सभासद् बनेको सुरुसुरुका दिनमा पनि निकै नमजा लाग्यो। आफ्नो कपडा र लवाइखवाइकै कारण कोही नबोल्ने, टाढा टाढा हुन खोज्ने प्रवृत्ति देखेर सिंत्तै सभासद् भइएछ जस्तो धेरै पटक लाग्यो। गरिबको हित गर्छु भनेर आउनुपर्ने सभासद् जस्तो मान्छेले पनि रूप, लवाइ, बोलाइ आदिका आधारमा यस्तो व्यवहार गर्लान् भनेर मैले कल्पनासमेत गरेकी थिइन्। तर भयो त्यस्तै। जसले मलाई निराश त बनायो नै, साथै दिक्दारी पनि लगायो।

गरिबका कुरै सुन्न नचाहने, भूमिहीन, कमलरी भनेपछि एलर्जी नै हुने, यससम्बन्धी बैठक राख्यो भने आउँदै नआउने, मैले संसदमा यसबारे कुरा उठाउँदा पनि गललल्ल हाँस्ने, म उठ्यो कि अब यसले त्यही भूमिहीन, कमलरीकै कुरा गर्ने त होला नि भनेर छेड हान्ने जस्ता काम पनि निकैले निकै समय गरिरहे। म भने त्यही वर्गको उत्थान गर्न सकिन्छ कि भनेर राजनीतिमा लागेका कारण उनीहरूबारे आवाज उठाउन पाउँदा गर्व महसुस गर्थें। तर पनि मैले थुप्रै निराशा र दिक्दारीका बाबजुद पनि आफ्नो वर्गको हित र अधिकारका लागि आवाज उठाउन भने छाडिन।

संसदको प्राकृतिक स्रोत साधन समितिको सभापतिको हैसियतले ममा निकै जिम्मेवारी थियो। बरु मन्त्रीले आफ्नो सम्बन्धित मन्त्रालयको विषयमा मात्र हेरे पुग्थ्यो तर यो समितिअन्तर्गत धेरै मन्त्रालयका काम/कारबाही हेर्नुपर्ने जिम्मेवारी थियो। मल नपुगेको होस् कि वन मासिएको विषय होस् वा ढुङ्गा गिटी झिकिएको जस्ता थुप्रै विषयमा यो समितिले हेर्नुपर्थ्यो। जताजतै तनावै तनाव। यस्तो तनावबीच आफ्नो वर्गको हितका खातिर आवाज उठाउने अवसर कमै आउँथ्यो। त्यही बेला उठाएको आवाज पनि खासै सुनिन्नथ्यो। जसले मलाई धेरै पटक सभासद् भएकामा पश्चातापसमेत दिलाएको छ।

वन र वातावरणलाई हानि पुग्नेगरी ढुङ्गा, गिटी झिकिएकोबारे समितिमा थुप्रै उजुरी आएका थिए। यसरी आएका उजुरीका आधारमा निरीक्षण गर्न पनि गइयो। यसरी जाँदा धेरै ठाउँमा धम्कीसमेत बेहोरेकी छु। …तपाईँ ठीक गरिरहनुभएको छैन, सोच्नुहोला’ भनेर थर्काउँथे। जवाफमा भन्थें– कानुनअनुसार गर्नूस् भनेका हौं। अरु के भनेका छौं र?’ त्यसपछि उनीहरूको प्रतिउत्तर हुने गर्थ्यो– तपाईँहरूले चाहिँ कानुनअनुसार गर्नुभएको छ? संविधान किन नबनाएको त? मलाई उनीहरूले दुर्व्यवहार गर्न थालिसकेका थिए। एक पटक नक्सालमा मेरो गाडीमा ढुङ्गासमेत हाने। सिसा फुट्यो। धन्न उक्त गाडीमा म थिइन्। त्यसपछि सतर्क भएर हिँड्नुपर्ने अवस्था पनि आयो। निरीक्षणका क्रममा धेरै पटक गालीगलौज पनि बेहोरेकी छु।

एउटा गजवको घटना पनि थाहा भयो सभासद् भएकै बेला। एक दिन अर्थ मन्त्री सुरेन्द्र पाण्डेले बोलाउनुभयो। अनि भन्नुभयो– ल बधाई छ, कमलरीको शिक्षाका लागि तपाईँले भनेजत्तिकै बजेट (१२ करोड रुपियाँ) छुट्याएको छु। अनि उहाँले थप्नुभयो– …छुट्याउन त छुट्याएँ तर बजेट छुट्याइसकेपछि यति धेरै रकम किन छुट्याएको भनेर शिक्षा मन्त्रालयबाट कर्मचारीको एउटा समूह नै विरोध गर्न पो आइपुग्यो।’ हे भगवान! गरिबगुरुवाका लागि बजेट विनियोजन हुँदा कर्मचारीको टाउको किन दुख्छ? म धेरै बेर घोत्लिएँ। तर यसको कारण भने मैले अहिलेसम्म पनि बुझ्न सकेकी छैन। जबकि कमलरीलाई शिक्षा उपलब्ध गराउन चाहिने बजेट मैले व्यक्तिगतरूपमै पेश गरेकी थिएँ।

(बुधबार विमोचन भएको शान्ता चौधरीको किताब ‘कमलरीदेखि सभासद्सम्म’को एक अंश)

विमोचन कार्यक्रममा शान्ता चौधरीले के बोले सुन्नुस्

3 thoughts on “शान्ताको ‘कमलरीदेखि सभासद्सम्म’ सार्वजनिक

  1. Congrats! Shanta jee, Your auto-biography will let people know how the feudal structure of the current government mechanism and social structure still obstructs the changes that is for majority of poor people of this country and also will inspire to those people who want to join political and social sector with positive objective for being steady and committed despite of all challenges. Wish you to be the ideal of Tharu Nepali people!

  2. शान्ता जी को “कम्लहरी देखी सभासद सम्म” किताव पढे । एउटी अति सामान्य, अनपढ, गाउँले थारु सुदायकी अति गरीव युवतीको त्यो सोंच, त्यो हिम्मत, केही गरेर देखाउने त्यो वलियो इच्छा शक्ति, निडर स्वाभाव, चुनौतीलाई सजिलै संग स्वीकार्न सक्ने खुवी भएकी असाधारण व्यक्तित्व की धनी शान्ता चौधरीलाई म हृदयदेखी नै सलाम गर्दछु र आशा अनि विश्वास पनि गर्दछु की साच्चीकै उनले अव देश र सम्पर्ूण्ा देशवासीकै हककितका लागि अर्को फड्को पनि मार्नेछिन । हामी तिम्रो साथमा छौं । वेष्ट अफ लक ।

Leave a Reply

Your email address will not be published.