पूर्व कमलरी भन्छन्- हाम्रो आन्दोलन जारी छ

kamalari girl in press meetनविन चौधरी, दाङ- बालिका बचाउ आन्दोलनमा उत्रिएका पूर्व कमलरीले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन्। शनिबार घोराहीमा चार दिने बन्दको समीक्षा एवं पत्रकार सम्मेलनमा बोल्दै पूर्व कमलरीहरुले यस्तो बताएका हुन्। सरकारले सहमतिका १० बुदाँ पूर्णरुपमा कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्‍ने उनीहरुले बताए। 
पूर्व कमलरी गीता चौधरीले आफूहरुको यो आन्दोलन सुरुवातमात्रै भएको बताउँदै सरकारले माग पूरा नगरे सडकमा हतियार लिएर आउने चेतावनी दिए। बिमला चौधरीले आफ्नो हक अधिकारका लागि आफैं लड्नसक्ने भन्दै अबदेखि कमलरीलाई कमजोर नठान्न सबैलाई चेतावनी दिए।
संघर्ष समितिका दाङ जिल्ला संयोजक शंकर चौधरीको अध्यक्षता एवं समितिका केन्द्रीय सदस्य लक्ष्मीमान चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तिलबहादुर पुन, मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष मञ्जिता चौधरी, नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी, बरघर भलमन्सा महतावा महासंघका केन्द्रीय सदस्य जगवीर चौधरी, पत्रकार सुर्दशन रिजाल, थारु कल्याण कारिणीका सदस्य पहलमान चौधरी, भूमि अधिकार मञ्चकी अध्यक्ष निर्मला विकलगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन स्वान सस्थाका निर्देशक भागिराम चौधरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published.