दाङकी मुक्त कमलरी सिर्जना चौधरीको हत्यालाई लिएर उनीजस्तै नियति भोगेकाहरू मात्र हैन, न्याय र मानवीय मर्यादामा विश्वास गर्ने सबै चेतनशील व्यक्तिहरू मर्माहत छन् । न्यायका लागि या सिर्जना हत्यामा छानबिनको माग गर्दै सडकमा आउनेहरूमाथि राज्यसत्ताले गरेको दमन कुनै पनि बर्बर शासकहरूले दुनियाँमा देखाएका पाशविक बर्बरतासँग तुलना गर्न सकिन्छ । दुर्भाग्य, यो बर्बरताको प्रदर्शन त्यसबेला भइरहेको छ जब न्यायपालिकाको उच्चतम कुर्सीमा आसिन खिलराज रेग्मी मुलुकका कार्यकारी प्रमुख पनि छन् । कमलरी सिर्जना चौधरीको मृत्यु र शान्तीपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप तथा उनीहरु माथि भईरहेको यौन शोषणको छानबीनको माग गदै भइरहेको आन्दोलनको शेरेफेरोमा रहेर पूर्वसभासद्, तथा कमलरी प्रथा उन्मूलन संघर्ष समितिकी सदस्य शान्ता चौधरीसँग गरिएको कुराकानी ।
तपाईँहरुको आन्दोलन केका लागि हो?
– कमलरीहरुले दासप्रथाबाट मुक्ति पाउनुपर्यो भन्ने न्यायको माग हो।
कहिले, कसरी सुरु भयो यो आन्दोलन?
-आन्दोलन पहिल्यैदेखि हुँदै आएको थियो। चैत १४ गते १२ वर्षकी सिर्जना चौधरीलाई घरमालिकले जिउँदै जलाएर मारेको घटनाले हामी मर्माहत भयौं। बिस्तारै आन्दोलन सुरु गर्दै थियौं। कमलरीमाथिको हिंसा झन् बढ्दै गयो। बिरोध स्वरुप हामी काठमाडौं आउन बाध्य भयौं।
न्यायको माग कहाँ पुग्यो?
– हामीले शान्तिपूर्ण रुपमा तराई हुँदै काठमाडौंसम्म कमलरीलाई मुक्त गरिनुपर्यो, उनीहरुमाथिको हिंसा रोकिनुपर्यो भन्ने माग गर्यौं। त्यसको बदला प्रहरीले हाम्रा कलिला कमलरी बहिनीको छातीमा खुट्टा बजार्यो।
अहिले घाइतेको अवस्था कस्तो छ?
– ११ घाइतेमध्ये ५ जना गम्भीर छन्। तर सरकारको दर्मन गर्ने तरिका हेर्दा अरु थुप्रै कलिला बहिनीहरुको छातीमा प्रहरीको बुट बजारिन्छ।
आज (बुधबार) पनि सरकारले बार्ताका लागि बोलाएको थियो, होइन?
– हिजो निष्कर्ष निस्कन नसकेपछि आज (बुधबार) दिउँसो १ बजे बोलाएको थियो। तर हामीले कमलरी बहिनीमाथि दमन गर्ने प्रहरीलाई पहिचान नगरेसम्म बार्तामा नबस्ने अडान लिएका छौं।
कमलरी भएकै कारण पीडा भोगेकाहरुको सुनुवाइ कस्तो भइरहेको छ?
– प्रहरी सबै घटना लम्बाउन मात्रै खोज्छन्। कमलरी भनेका जातैले गरिब शोषित हुन्। उनीहरुको कहिँ पहुँच हुँदैन। धनीमानिले जे चाह्यो त्यही हुन्छ। सिर्जनालाई जलाएको घटनामा पनि प्रहरीले धेरै आलटाल गरेको छ।
सिर्जनाले त आत्महत्या गरेको भन्छ नि प्रहरी?
– हत्यापछिको छानबिनमै त्यति धेरै समय लिने प्रहरीले आलटाल नै बढी गर्छ। १२ वर्षकी बालिकाले किन आत्महत्या गर्नुपर्यो भन्ने पनि त खोजी हुनुपर्यो नि।
अहिले कमलरी मुक्तिका लागि तपाईंहरु कतिजना आन्दोलनमा उत्रिनुभएको छ?
– तराईका विभिन्न जिल्लाबाट ७० जना दिदीबहिनीहरु आउनुभएको छ। उहाँहरु सबै अहिले पशुपतिको धर्मशालामा बसेर मुक्तिका लािग लडिरहनुभएको छ।
अहिले आन्दोलनमा तपाईहरुको मुख्य माग केके हुन्?
– पहिला मधेसतिरमात्रै भएको कमलरी प्रथा बिस्तारै शहरी क्षेत्रमा छिरेको छ। शब्द मात्रै कमलरी र घरेलु कामदार हो। आखिर घरेलु कामदार सबै कमलरी नै हुन्। त्यसैले कमलरीहरुको पीडा झन् थपिएको छ। त्यसैले हामीलाई कमैया जस्तै मुक्त घोषणा गर्नुपर्यो र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्यो। महिला र पुरुषमा हामीलाई कमैया र कमलरी गरी विभेद गरियो। पुरुषहरु मुक्त हुने महिलाहरु नहुने पनि हुन्छ?
कमैया मुक्त भनेर सरकारले घोषणा गर्दा त्यसमा कमलरीहरु परेनन्?
– सरकारले घोषणा गर्दा कमैया भनि गर्यो। सायद कमैया/कमलरी दुबै भन्न खोजेको होला। तर त्यसले कमैया मात्रै हुन् भन्ने बुझायो। हामी कमलरीहरु अझै पीडामै छौं।
तपाईँ आफैँ सभासद् हुनुभयो, कमलरीको आवाज कसरी उठाउनु भयो?
– ६०१ मध्ये म एकजना मात्रै कमलरी सभासद् थिएँ। संविधानसभामा मैले प्रत्येकपल्ट बोल्न पाउँदा कमलरीको पक्षमा बोलेँ। तर संविधानसभा नै बिघटन भयो।
तपाईँ पनि कमलरी बस्नुभएको थियो?
– म ८ वर्षदेखि २६ वर्ष हुँदा सम्म अर्काको घरमा कमलरी बसेको थिएँ। सहरले सोचेको भन्दा ज्यादै पीडादायी हुन्छ कमलरीको जीवन। यहाँ त कमैया/कमलरी भनेको के, धेरैलाई थाहै हुँदैन।
सहरले सोचेभन्दा बढी पीडा हुन्छ भन्नुभयो। कस्तो पीडा?
– एउटा त गरिब हुनुको पीडा। अर्को त्यही गरिबीका कारण बाबुआमाले अरुलाई वार्षिक तलब लिएर बेचिदिन्छन्। बिहान ४ बजेदेखि बेलुकी १०/११ बजेसम्म काममा जोतिनुपर्छ। मेरो आफ्नै दिदी यौनशोषणमा परेकी छ। आफ्नै बुवाआमाले गरिबीका कारण बेचेपछि मालिकले जे भने पनि सहनुपर्छ। पीडा त्यही हो। कैलाली, कन्चनपुर, दाङतिर अझै पनि थुप्रै कुमारी आमाहरुको सडक बास छ।
सरकारले मुक्त कमैया भनेर घोषणा गरेपछि अब पुरुषहरु साँच्चै मुक्त भएका छन् त?
– पहिलाजस्तो कमैया बस्दैनन् छोरामान्छेहरु। तर सरकारले बचन दिए जस्तो पुनर्स्थापनाको लागि काठ, रुपैँया र जग्गा दिएको छैन। दिए पनि खोलाको किनारतिर मात्रै दिएको छ।
त्यसो भए मुक्त कमलरी भनेर घोषणा गर्दैमा तपाईँहरु मुक्त हुनुहुन्छ त?
– हो। पहिला मुक्त कमैया जस्तै कमलरी घोषणा गर्नुपर्यो। वचनअनुसार पुनर्स्थापना गर्नुपर्यो। आवश्यक कानुनहरु बनाउनुपर्यो। कमलरी राख्नेलाई यति सजाय हुन्छ भनेर तोकिनुपर्यो।
अहिले देशभर कति कमैया छन्?
– पहिचान भएका ७ सय कमलरी छन्। १२ हजार कमैयालाई विभिन्न संघसंस्था र हाम्रै संघर्ष समितिको पहलमा मुक्त गरियो। अब पहिचान हुन अझ धेरै बाँकी छन्।
सरकारले तपाईँहरुको मागलाई कसरी सम्बोधन गर्न खोजेको छ?
– न्याय दिनुपर्छ भन्ने प्रधानन्यायाधीश नै अहिले सरकारमा हुनुहुन्छ। उहाँको नेतृत्वको सरकारले हामीमाथि गरेको दमन देख्दा लाज लाग्छ। यस्तो वर्गीय समस्या समाधान गर्न उहाँले धेरै काम गर्नुपर्थ्यो। तर न्यायको सट्टा उहाँले नै अन्याय गरिरहनुभएको छ। तर हामी आफ्ना माग पूरा गर्न जति संघर्ष पनि गर्न तयार छौं। सधैँ कमलरी बस्नुभन्दा यही आन्दोलनबाट कमलरीलाई मुक्त गर्न पाए हामी भन्दा पछिका बहिनीहरुले पीडा भोग्नुपर्दैन।
साभार : सेतोपाटी