कमलरीमाथि दमनको सर्वत्र निन्दा

Freed kamlaris  protest 1मदन चौधरी, काठमाडौं– प्रहरी दमनमा गम्भीर घाइते दुई जना सामान्य अवस्थामा आए पनि तीन कमलरी अझै अचेत अवस्थामा छन्। उनीहरु सबैको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ। प्रहरीले पेटमा बुट हानेकाले पाठेघरमा समस्या भएको डाक्टर निरजले बताए। दाङकी उर्मिला चौधरीको चोटकै कारण रगत आएको उनले बताए। दाङकै सुजाता चौधरी र कञ्चनपुरकी सीता चौधरी अचेत अवस्थामा छन्। दुवैको खुट्टामा गहिरो चोट पुगेकाले उभिनसमेत गाह्रो भएको उपचाररत डाक्टरले बताए।

कमलरी उन्मूलन संघर्ष समितिले सोमबारै पत्रकार सम्मेलन गरी कमलरीमाथि भएको प्रहरी दमनविरुद्ध विरोध र्‍याली गर्ने जनाएको छ। मंगलबार दिउँसो २ बजे हनुमानथानमा भेला भई कोणसभा गर्ने थारु कल्याण सभाका अध्यक्ष चन्द्रकुमारले बताए। समितिले मंगलबारदेखि नै तराईका सबै जिल्ला अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

समितिले सचिवस्तरीय वार्ता टोलीमा नबस्ने भन्दै प्रधानमन्त्री कार्यालयले पठाएको चिठी अस्वीकार गरेको छ।

‘साना बालबालिकामाथि दमन भएको छ, निहत्था उनीहरूले प्रहरीको बुट खाएका छन्,’ पूर्व कमलरी तथा पूर्व सभासद शान्ता चौधरीले भनिन्, ‘मन्त्रीस्तरीय वार्ता टोली गठन नभएसम्म हामी वार्तामा बस्दैनौं।’ सम्बन्धित ठाउँमा कुरा पुर्‍याउन समितिले मन्त्रीस्तरीय वार्ता टोलीको माग गरेको छ। समितिले शान्तिवाटिका तथा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका प्रशासन कार्यालयमा गर्दै आएको धर्ना भने जारी रहने जनाएको छ।

सरकारले वार्तामा बोलायो

कमलरी उन्मूलन संघर्ष समितिलाई सरकारले वार्तामा आउन आह्वान गरेको छ। मुख्य सचिव लीलामणि पौड्यालको अध्यक्षतामा बसेको बैठकले कमलरीका माग सम्बन्धमा हालसम्म भएका कार्यको समीक्षा गरी सुझाव प्रस्तुत गर्ने निर्णय गरेको बिहीबार जारी विज्ञप्ति उल्लेख छ। बैठकले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव उपेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरेको छ। टोलीमा गृह, शिक्षा, श्रम तथा रोजगार र भूमिसुधार र व्यवस्था मन्त्रालयका सहसचिवहरू छन्। कमलरीका मागप्रति सरकार संवेदनशील रहेकाले वार्तामा बस्न संघर्ष समितिलाई सरकाले अपिल गरेको छ।

छानबिन समिति गठन

नेपाल प्रहरीले आइतबार कमलरीमाथि भएको दमनप्रति छानबिन समिति गठन गरेको छ। डिआइजी विश्वराज सिंह शाहीको नेतृत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा एसएसपी विजयलाल कायस्थ र एसपी धिरजप्रताप सिंह छन्। समितिले तीन दिनभित्र कमलरीमाथि भएको दमनबारे प्रतिवेदन प्रस्तुत गर्नेछ।

प्रहरी दमनको भर्त्सना

कमलरीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विभिन्न राजनीतिक दल तथा संघसंस्थाले भर्त्सना गरेका छन्। दर्जन संघसंस्थाले कमलरीलाई बुट हान्ने प्रहरीलाई कारबाही माग गरेका छन्। थारु कल्याण कारिणी सभाले न्यायिक तथा शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरी निहत्था कमलरीलाई घाइते बनाएकोप्रति घोर भर्त्सना गरेको छ। मानवअधिकार सम्बद्ध संस्था सिभिकले पनि कमलरीमाथिको दमनप्रति भर्त्सना गरेको छ। उनीहरुले कमलरी आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएको छ। भर्त्सना गर्नेमा मानव अधिकार तथा शान्ति समाज, ओरेक नेपाल, नेकपा–माओवादी, जयपुरी घर्तीमगर नेतृत्वको अखिल नेपाल महिला संघ क्रान्तिकारी, एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी छन्।

Leave a Reply

Your email address will not be published.