हत्याराको कारबाही माग गर्दै कमलरीद्वारा राजधानीमा धर्ना (फोटो फिचर)

Kamlari Dharna-9मदन चौधरी, काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समितिले राजधानीमा धर्ना सुरु गरेको छ। राज्यले कमलरी प्रथालाई अवैध घोषणा गरेपनि कानुन कार्यान्वयन नहुँदा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र किशोरीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै उनीहरुले रत्‍नपार्कको शान्तिवाटिकामा धर्ना दिएका हुन्।

समितिले २०६९ चैत १४ गते दाङ लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको हत्यामा संलग्न ललितपुरका युवराज पौडेल र उनका साला शंकर अधिकारीलाई कानुनी कारबाहीसमेत माग गरेको छ। चौधरीको मट्टितेल छर्केर हत्या गरिएको आरोप उनीहरुले लगाउँदै आएका छन्।

सिर्जना चौधरी र मेघी चौधरीका हत्यारा युवराज पौडेल, शंकर अधिकारी, बालकृष्ण शाह, लालमणी शर्मा र पार्वती गिरीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, कमलरीको उद्दार गरी पुनःस्थापना गर्नुपर्ने, कमलरी पुनःस्थापना निर्देशिका परिवर्तन गरेर छात्रवृद्धि रकम बढाउनुपर्ने, मुक्त कमलरीलाई परिचय पत्र दिनुपर्ने, डेरा गरेर पढिरहेका कमलरीलाई छात्रबासको ब्यवस्था गर्नुपर्ने र कमलरी प्रथा उन्मुलनको घोषणा गरेर पुनःस्थापनाका लागि छुट्टै ऐन बनाउनुपर्ने मागसहित उनीहरु धर्नामा बसेक हुन्।

आफ्ना माग पूरा नगरे जे पनि गर्ने मुक्त कमलरीहरुले बताइन्। ‘सुरुवाती तीन दिन हामी धर्नामा बस्नेछौं,’ मुक्त कमलरी विकास मञ्चका अध्यक्ष तथा समितिका संयोजक उर्मिला चौधरीले भनिन्, ‘त्यतिमा पनि सुनावाइ नभए चौथो दिनदेखि रिले अन्सन बस्छौं।’ उनीहरुले आफ्ना माग पूरा गराइ छाड्ने बताइन्। ‘हाम्रो माग जायज छ,’ १४ वर्ष कमलरी बसेका २२ वर्षीया सुशीला चौधरीले भनिन्, ‘त्यसका लागि भोकै ज्यानै दिन किन नपरोस्। जायज माग पूरा गराइछाड्छौं।’

सात दिनमा पनि राज्यले केही नगरे समितिले तराईका सबै जिल्ला अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका गरी करिब सय जना मुक्त कमलरी धर्नामा सहभागी छन्। उनीहरुसँगै पूर्व सभासद् शान्ता चौधरीले पनि धर्नामा ऐक्यबद्धता जनाएकी छन्। ‘कमलरी कहीँ न कहीँ भूमिसँग जोडिएका मुद्दा हुन्,’ धर्नामा बसेकी शान्ता चौधरीले भनिन्, ‘त्यसैले ब्यवहारिकरुपमा कमलरीहरु मुक्त हुन जरुरी छ।’

उनले सिर्जना चौधरीका हत्यारालाई कानुनी कारबाही नभएसम्म त्यस्ता अपराधिक घटना मौलाउँदै जाने बताइन्। त्यसैले सरकारको त्यसतर्फ ध्यानाकार्षण जान जरुरी रहेको उनले बताइन्। सिर्जना त उदाहरणमात्र रहेको भन्दै दिनहुँ त्यस्ता घटना मौलाउँदै गएको उनले बताइन्।

आन्दोलनमा कसैको सहयोग नपाएकोमा उर्मिला चौधरीले दुःखेसो पोखिन्। उनले खानाका लागि गाउँबाटै चामल, नुन, तेल बोकेर ल्याएको बताइन्।

यसअघि समितिले राष्ट्रपति, सरकार प्रमुख, गुह, शिक्षा, महिला तथा बालबालिका मन्त्री, राष्ट्रिय मानवअधिकार आयोग र प्रमुख दलका नेतालाई घच्घच्याउन ज्ञापन पत्र बुझाएको थियो।Kamlari Dharna-13 Kamlari Dharna-1 Kamlari Dharna-2 Kamlari Dharna-3 Kamlari Dharna-4 Kamlari Dharna-5 Kamlari Dharna-6 Kamlari Dharna-7 Kamlari Dharna-8 Kamlari Dharna-10 Kamlari Dharna-11 Kamlari Dharna-12

Leave a Reply

Your email address will not be published.