संगीता- दौडको अभ्यासमा व्यस्त छिन्, केशरी चौधरी। बिहानै ६ बजे उनी रंगशाला मैदानमा पुगिसकेकी हुन्छिन्। दैनिक तीनदेखि चार घण्टा अभ्यास गर्छिन्। ‘गाह्रो हुन्छ, कहिलकाहीँ थाकेर चूर भइन्छ। तैपनि नखेली मनले मान्दैमान्दैन,’ उनी भन्छिन्। खेल उनको नशा हो, बानी हो र जीवन हो। भन्छिन्, ‘खेलविनाको जीवन पनि के जीवन?’
विसं २०४८ मा बर्दियाको जोगी गाउँमा जन्मिएकी हुन् उनी। उमेर सानै छ, तर उनका उपलब्धि भने ठूला छन्। दौड, क्रिकेट, लङजम्प, हाईजम्प, टि्रपलजम्प र भलिबललगायत खेलमा उनले राम्रो प्रदर्शन गरेकी छिन्। एथलिटका रूपमा उनले जति सफलता हात पारेकी छिन्, क्रिकेटरको रूपमा पनि त्यति नै प्रसिद्धि कमाएकी छिन्। उनी भलिबलकी प्रतिभावान् खेलाडी हुन्।
‘कक्षा ५ सम्म मलाई खेलको ‘ख’ पनि थाहा थिएन,’ उनी भन्छिन्। २०५९ सालमा भएको रनिङ सिल्डबाट उनको खेल जीवनको सुरुवात भएको हो। त्यतिबेला उनी ११ वर्षकी थिइन्। रनिङ सिल्ड सुरु हुनुअघि १०–१५ दिन अभ्यास भयो। उनको खेल क्षमताले उनलाई रनिङ सिल्डमा सामेल गरायो। पहिलो प्रतियोगितामै हाईजम्पमा पहिलो भइन्। त्यसपछि उनले क्षेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाइन्। विद्यालय स्तरको राष्ट्रिय च्याम्पियनसिप खेलमा भाग लिइन्। त्यहाँ पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो। लङजम्पमा पहिलो स्थान हात पार्न सफल भइन्। ‘थाहै नपाई खेलमा लागियो। त्यतिबेला त जिते पनि केही वास्तै हुँदैनथ्यो,’ जितका सुरुवाती क्षण सम्झँदै उनी भन्छिन्। राष्ट्रिय च्याम्पिनसिपमा राम्रो खेलाडीको पहिचान बनाउन सफल भएकी उनलाई नेपालगञ्जको एन्जल्स स्कुलले छात्रवृत्तिको व्यवस्था गरिदियो। यसपछि उनी आफ्नो घरगाउँ छोडेर लागिन् नेपालगञ्जतर्फ।
केशरीका दुई दाइ र दुई दिदी छन्। कान्छी छोरी हुन् उनी। कलिलो उमेरकी छोरीलाई घरबाट टाढा पठाउँदा आमाको मन दुख्नु स्वाभाविकै थियो। ‘आमा र हजुरआमा धेरै रुनुभयो। पहिला त मलाई पठाउन मान्नु नै भएन,’ त्यो समयलाई स्मरण गर्दै केशरी भन्छिन्, ‘तर, बुवा र दाइहरूले सम्झाएपछि बल्लतल्ल मान्नुभयो।’
नेपालगञ्जको एन्जल्स स्कुलमा उनी कक्षा ६ देखि पढ्न थालिन्। २०६१ सालमा भएको रनिङ सिल्डमा हाईजम्प, लङजम्प र २०० मिटरको रिले दौडमा उनले पहिलो स्थान हात पारिन्। उनको खेल क्षमता देखेर साथीभाइ र शिक्षक छक्क पर्थे। गुरु चन्द्रबहादुर गुरुङको प्रशिक्षार्थी भएपछि उनको खेल क्षमता झन् राम्रो हुँदै गयो। २०६२ सालमा उनले हाईजम्पमा रेकर्ड नै तोडिन्। रनिङ सिल्डमा उनी लगातार चार वर्षसम्म पहिलो स्थानमा रहिन्।
एथलेटिक्स उनको मुख्य पहिचान भए पनि कक्षा ८ मा पुगेपछि उनले क्रिकेटमा पनि सहभागी हुन् अवसर पाइन्। सन् २००७ मा मलेसियामा भएको एसिसी महिला क्रिकेटमा उनले पूरै खेलमा सात विकेट लिई म्यान अफ द म्याच बनिन्। सन् २००९ मा थाइल्यान्डमा सम्पन्न एसिसी यू–१९ महिला क्रिकेटमा उनले ११ विकेट लिइन् र यहाँ पनि म्यान अफ द म्याचको उपाधि हासिल गरिन्।
उनको खेल क्षमताबाट प्रभावित भएर नेपाल पुलिस क्लबले उनलाई आफूसँग आबद्ध गरायो। २०६५ सालमा एसएलसी पास गरेपछि उनी पुलिसमा आबद्ध भइन्। अहिले उनको क्रिकेट यात्रा अवरुद्ध भएको छ। ‘पुलिसमा पनि क्रिकेट टिम बन्यो भने फेरि क्रिकेट खेल्न थाल्छु,’ क्रिकेटप्रति आफ्नो मोह व्यक्त गर्दै उनी भन्छिन्। जुनियर एसियन च्याम्पियनसिप, एसियन च्याम्पिनिसिप, सार्क गेम्स, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगिता छुटाएकी छैनन् उनले। लङजम्पमा उनले पाँच पटक रेकर्ड तोडेकी छिन् भने टि्रपलजम्प र हाईजम्पमा आठ–आठ पटक रेकर्ड बे्रक गरेकी छिन्। विभिन्न राष्ट्रिय कीर्तिमान थुपार्दै दख्खल र उत्कृष्ट खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी छिन् केशरीले।
शुक्रवार साभार
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर