पूर्व सभासद् हत्याराको नजिक पुगेको प्रहरीको दाबी

जविराज- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरी विघटित संविधान सभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको भन्दै उनले दुई/तीन दिनभित्रै हत्यारा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे। हत्या घटनाको छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिले हिजोदेखि काम सुरु गरेपनि प्रगतिबारे भने कुनै जानकारी दिएको छैन।

यता हत्याको विरोधमा दुई दिनदेखि गरिएको बन्दका कारण पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरी र सिरहाका विभिन्न स्थानमा रोकिएका सयौँ सवारी साधनलाई गएराति प्रहरीले गन्तव्यतर्फ पठाएको छ।

हत्याको विरोधमा गठित सङ्घर्ष समिति र स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार राति २ बजेदेखि बिहान ५ बजेसम्म दुई दिनदेखि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको हो।

सप्तरीको कल्याणपुरदेखि सिरहाको जिरो माइलसम्म सडकमा अलपत्र परेका सम्पूर्ण सवारी साधन र हजारौं यात्रुहरु आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी उपरीक्षक बस्नेतले बताए। अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइए पनि यहाँको बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द रहेका छन्। बन्दका कारण जनजीवन प्रभावित भएको छ।

हत्या गरिएका पूर्व सभासद् हकलाई सहिद घोषणा, गृहमन्त्री घटनास्थलमा उपस्थित भई हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता, पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गर्नुपर्नेलगायतका नौबुँदे माग अघि सार्दै स्थानीय जनता र मृतकका आफन्तले आन्दोलन जारी राखेका छन्।

 

कल्याणपुर गाविस–२ विसनपुर निवासी हकको सोमबार राति अज्ञात समूहले घरदेखि पाँच सय मिटर पश्चिम लोकमार्गमा रहेको खोजपुर गाविस–७ स्थित उनकै हुमा आयल टेड्रर्समा धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो।

पेट्रोल पम्प, सःमिल, इँटाभट्टालगायतका विभिन्न उद्योग सञ्चालन गर्दै आएका पूर्व सभासद् हक २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ५ बाट स्वतन्त्र सभासद्का रुपमा निर्वाचित भएका थिए।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हत्या सम्बन्धमा पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषदले पीडित परिवारलाई राहतस्वरुप दस लाख रुपैयाँसमेत उपलब्ध गराउने भएको छ। रासस

Leave a Reply

Your email address will not be published.