सागर थापालाई अपार्टमेन्ट

काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई आज सम्मानस्वरुप हात्तीवनस्थित मेरो सिटीको अपार्टमेन्ट प्रदान गरेको छ। सङ्घले थापालाई लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गरेवापत रु ३३ लाख मूल्य पर्ने अपार्टमेन्ट प्रदान गरेको हो। विसं २०४२ सालमा जन्मेका थापा २०५८ सालमा फ्रेण्डस क्लबबाट ए डिभिजन लिग फुटबल खेलेका हुन्। यस्तै सन् २०११ डिसेम्बर ४ मा भारतको नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बङ्गलादेशविरुद्ध उत्कृष्ट गोल गर्दै उनले चर्चा बटुले भने विश्वको चर्चित गोलमध्ये पाँचौँ गोल गर्ने खेलाडीको सूचीमा समेत परेका थिए।

Sagar Thapaआज आयोजित कार्यक्रममा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कप्तान थापालाई सो अपार्टमेन्टको साँचो हस्तान्तरण गर्दै आमनेपालीको पहुँचमा पुग्ने र सबैको लोकप्रिय खेल फुटबल रहेको हुँदा ग्रामीण भेगदेखि नै यसको विकास र विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको रङ्गशालाको अभाव रहेको भन्दै यसको निर्माणका लागि मित्रराष्ट्र चीन र भारतसँग विशेष छलफल गर्ने र सकेसम्म सकारात्मक सन्देश ल्याउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले वैशाख १ गते आफू चीन र भारत भ्रमणका लागि प्रस्थान गर्ने जानकारी दिदै सोही अवसरमा सहयोगका लागि दुवै राष्ट्रसँग सो बारेमा छलफल गर्ने बताएका हुन्। यस्तै नेपाल खेलकुद परिष्द (राखेप)का सदस्य सचिव युवराज लामाले यस किसिमको सम्मानले खेलाडीहरुमा खेलप्रति लगाव बढ्ने भन्दै खेलसँग सम्बन्धित अन्य सङ्घ सँस्थाले सम्मानको पद्धतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
एन्फाका अध्यक्ष गणेश थापाले लामो समयसम्म खेल क्षेत्रमा समर्पित खेलाडीले राम्रोसँग जीवनयापन गर्न सकुन भन्ने उद्देश्यले सो पुरस्कार प्रदान गरिएको बताए। यस्तै अपार्टमेन्ट विजेता कप्तान थापाले सो पुरस्कारले आफूप्रति थप जिम्मेवारी बढेको भन्दै आगामी दिनमा नेपालमै हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा राम्रो नतिजा ल्याउनका लागि सक्दो प्रयास गर्ने बताए। कप्तान थापाले पाएको सो अपार्टमेन्ट दोस्रो हो। यसअघि राष्ट्रिय फुटबल खेलाडी राकेश श्रेष्ठले प्राप्त गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.