कांग्रेसका केन्द्रीय नेताहरू त्रिवेणीमा

कावासोती- सोमबार सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकको सबै जसो तयारी पूरा भएको छ। भेलाको तयारीका लागि कांग्रेस सभापति सुशील कोइरालासहित अधिकांस केन्द्रीय सदस्यहरू नवलपरासी आइपुगेका छन्। उनीहरू सोमबार सदरमुकाम परासीमा काँग्रेसले गर्ने आमसभाको तयारीका लागि ब्यस्त छन्। कांग्रेसले परासीमा शक्ति प्रर्दशनसहित उद्घाटनका लागि आमसभा गर्ने जनाएको छ। 
सभापति कोइरालाले महासमिति भेलाले देशलाई निकास दिने महत्वपूर्ण निर्णय गर्ने र पार्टी विधिवत निर्वाचनमा होमिने बताए। उनले भने, “निर्वाचन समयमै गर्ने र नयाँ संविधान निर्माण गरेर देशलाई निकास दिनुपर्ने अवस्था भएकाले अब काँग्रेसको ध्यान निर्वाचनमा केन्द्रित हुनेछ।”
यसैबीच सभापति कोइरालाले नवलपरासीको त्रिवेणीस्थित गण्डक बाँधको आज निरीक्षण गरेका छन्। नर्सही गाविसमा नारायणी नदीले गरेको कटान क्षेत्रको उनले स्थलगत निरीक्षण गरेका हुन्। भारतले पानी लगेको गण्डक नहरका कारण नदीको वहावले गत वर्षादमा नर्सही गाविसको १२ नम्बरको ठोकरबाट गाउँतिर नदी पस्ने खतरा छ। त्यहाँ नेपाल भारतको सीमामा नारायणी (गण्डक) नदी छ।

नदी क्षेउछाउको कटान क्षेत्र नियन्त्रण गर्ने जिम्मेवारी गण्डक सम्झौताअनुसार भारतको हो। उसले समयमै कटान नियन्त्रणका काममा बेवास्ता गरेका कारण नेपाली भूभागतर्फ नदी पसेको हो।
स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदा समेत नेपाल र भारत सरकारले बेवास्ता गरेका कारण यसवर्षको वर्षादमा नेपालका १५ गाविस डुवानमा पर्नसक्ने खतरा रहेको छ। स्थलगत निरीक्षणका लागि आएका कोइरालाले सरकारको तत्काल ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published.