विदेशी मुद्रा तस्करी गर्ने एसएसपी बर्खास्त

काठमाडौं- सरकारले वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठलाई सेवाबाट आज बर्खास्त गरेको छ। विदेशी मुद्रा तस्करीमा प्रत्यक्ष संलग्नता भएको ठहर गरी उनलाई सेवाबाट बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए। गत असोज २१ गते एक करोड ५४ लाख विदेशी मुद्रा दुबईतर्फ पठाउने कार्यमा श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको ठहर गरी आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो।

श्रेष्ठले सो परिणामको विदेशी मुद्रा आफ्ना सहयोगी प्रहरी हवल्दार सोवित कार्कीको सहयोगमा विमानस्थलसम्म पुर्‍याएर दुवईतर्फ पठाउने कार्य गरेको अभियोग लागेको थियो। हवल्दार कार्कीमार्फत सो परिमाणको विदेशी मुद्रा विमानभित्र पुर्‍याइसकिएको भएता पनि विमानमा बम राखिएको हल्ला फिजिएपछि विमानभित्र जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको थियो।
सो रकम कसरी त्यहाँ पुग्यो भन्ने बारेमा सिसीटिभीको सहयोगमा गरिएको अनुसन्धानमा उनका सहयोगीले सो रकम विमानस्थल पार गराउने काम गरेको पाइएको थियो। सो घटनापछि फरार रहेका हवल्दार कार्कीलाई पक्राउ गरेपछि घटनाको वास्तविकता खुलेको थियो।
उनले एसएसपी श्रेष्ठकै निर्देशनमा उनकै गाडी प्रयोग गरेर विमानस्थल पुर्‍याएको स्वीकारेका थिए। हवल्दार कार्की माग गरिएको धरौटी रकम बुझाउन नसकेका कारण हिरासतमा छन्।
सो घटनाबारे प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक भिष्म प्रसाइँको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। प्रहरी उपरीक्षक श्रेष्ठले सो घटनाको बारेमा दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि गृह मन्त्रालयले आज भविष्यमा नोकरीमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो।
यसबारे प्रहरी प्रवक्ता केशव अधिकारीलाई राखिएको जिज्ञासामा साँझ अबेरसम्म यस विषयमा प्रहरी प्रधान कार्यालयलाई आधिकारिक जानकारी आइनसकेको प्रतिक्रिया दिए। रासस

Leave a Reply

Your email address will not be published.