‘भिजिलान्ते’को राम्रो घुसपैठ

आधा शताब्दीको यात्रा पूरा गर्नै लाग्दा प्राविधिक हिसाबले नेपाली फिल्मले नयाँ फड्को मारेको छ। नेपालमा पहिलो पटक थ्रीडी प्रविधिमा नेपाली फिल्म हेर्न पाइने भएको छ। राजधानीका मल्टिप्लेक्स हलहरूमा स्वाद र सुगन्धबाहेक सबै अनुभूति हुने फिल्म हेरेका दर्शकका लागि थ्रीडी सामान्य लागे पनि नेपाली निर्देशक, नेपाली कलाकार र प्राविधिकले बनाएको ‘भिजिलान्ते’ले फरक स्वाद पस्कन सकेको छ। नेपाली फिल्ममा केही पनि हुँदैन भन्नेलाई युवा निर्देशक दीपेन्द्र के खनालले गतिलो जवाफ दिएका छन्। 
जापानमा फिल्म अध्ययन गरेर आएका निर्देशक खनाल केही नयाँ गरौँ भन्ने निर्देशक हुन्। यसअघि उनले ‘चपली हाइट’ फिल्ममा राम्रो प्रशंसा बटुलेका थिए। फिल्मको बजार ध्वस्त भएका बेला निर्माताको खल्तीमा करोड जम्मा गराउन सफल खनाललाई त्यतिबेला यौन कन्टेन्ट बढी भएकाले टिकेको हो भन्नेहरू पनि नभएका होइनन्। तर, उनले ‘चपली हाइट’मा सेक्स साइकोलोजीलाई निकै कलात्मक ढंगले प्रस्तुत गरेका थिए।
खनालको नयाँ फिल्म ‘भिजिलान्ते’ चस्मा लगाएर हेरेपछि निकै क्लियर देखिन्छ। फिल्मका कलाकार दर्शकका गाला सुमसुुमाउन आइपुग्छन्। प्रविधिका कारण पर्दाका देखिने दृश्य आँखाको नानीमै ठोकिएजस्तो अनुभूति हुन्छ। फिल्मभित्र हुने आरोह–अवरोहलाई दर्शकले अनुभूत गर्न पाउने यो फिल्म वास्तवमै वाह! भन्ने खालको छ। vijilante 3D
मंगलवार साँझ चाबहिलस्थित केएल टावरमा रहेको एफक्युब मल्टिप्लेक्समा सञ्चारकर्मी तथा कलाकारका लागि प्रिमियर गरिएको ‘भिजिलान्ते’ हेरिपछि अधिकांशको प्रतिक्रिया ‘फिल्म राम्रो छ’ भन्ने थियो। फिल्म चलिरहँदा पनि ताली र सिटीको आवाजले हल गुञ्जायमान थियो। फिल्म हेरेर हलबाहिर निस्केका सञ्चारकर्मी तथा कलाकारले निर्देशक खनाललाई काँधमा बोकेर नेपाली फिल्मलाई प्राविधिक रूपमा नयाँ उचाइमा पुर्‍याएको भन्दै बधाइ दिएका थिए।
फिल्मको कथा सरल छ। प्रेममा धोका खाएको प्रेमीले धोका दिनेलाई लिने बदलाको वरिपरि फिल्म घुमेको छ। सस्पेन्स थि्रलर यो फिल्ममा के भइरहेको छ भन्ने थाहा पाउन दर्शकलाई निकै समय लाग्छ। सुरुमा कथा नै छैन किजस्तो भान पर्छ। तर, फिल्म अगाडि बढ्दै गएपछि दर्शकले खुब मनोरञ्जन लिन सक्छन्।
निर्देशक खनालले सीमित लोकेसनमा फिल्मको कथालाई तन्काएका छन्। उनको अघिल्लो फिल्म ‘चपली हाइट’ पनि एउटै घरभित्र खिचिएको थियो। ‘कथाले माग गरेअनुसार लोकेसन छान्ने हो,’ उनी भन्छन्, ‘फिल्मको विषयवस्तुले धेरै लोकेसन माग गर्दैन भने अनावश्यक दृष्य थोपरेरमात्र फिल्म राम्रो हुने होइन।’
उनको फिल्म नहेर्दै कतिपयले ‘पहिलो थ्रीडी भनेर हल्ला गरेरमात्र हुँदैन’ भन्दै टिप्पणी पनि गर्न थालेका छन्। ‘थ्रीडी त प्रविधि हो। यसमा निर्देशकको क्षमता कहाँ देखिन्छ?’ भन्नेहरू पनि छन्। तर, निर्देशक खनालले यस्ता प्रतिक्रिया दिनेहरूका लागि चित्तोबुझ्दो जवाफ दिएका छन्। ‘भिजिलान्ते’लाई थ्रीडी चस्मा लगाएर हेर्‍यो भने उनको निर्देशकीय क्षमता पनि देखिन्छ। सामान्य कथालाई पनि दर्शकको मन छुनेगरी प्रस्तुत गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् उनले।
फिल्मका अधिकांश दृष्य जंगल तथा छहराको आसपास खिचिएको छ। थ्रीडी भएकाले जंगल र खोलाको दृष्यलाई नजिकबाट अनुभूत गर्न पाइन्छ। आफैँ खोला किनारमा पुगेजस्तो, जंगल डुलिरहेजस्तो। झरनाको चिसो पानीले छोयो कि जस्तो अनुभूतिले बेग्लै प्रकारको आनन्द दिन्छ।
फिल्ममा कलाकार सुवास थापाले आफूलाई निकै सम्भावना बोकेको अभिनेताका रूपमा प्रस्तुत गरेका छन्। उनको अभिनय निकै दमदार लाग्छ। नायिका प्रियंका कार्की, दीपशिखा शाही र अर्का नायक राज घिमिरेको काम पनि सन्तोषजनक छ। उनीहरू ‘क्यारेक्टर’मा राम्रै डुबेका देखिन्छन्।
यो नाममा चल्तीको तर हलमा दर्शकको माया नपाउने फर्मुला फिल्मभन्दा फरक छ। यतिवटा गीत हुनैपर्ने, हिरो हिरोइनलाई नगरकोट वा फेवातालको किनार पुर्‍याउनैपर्ने पुरानो सोचबाट ग्रसित फिल्म होइन। नेपाल फिल्म हेर्दै नहेरी प्रतिक्रिया दिने दर्शकले यसपटक चाहिँ ‘भिजिलान्ते’ हेरेपछिमात्रै प्रतिक्रिया दिन सक्छन्। यो आम दर्शकले यस्तै होला नि भनेर गरिने अनुमानभन्दा फरक छ। शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको थ्रीडी ‘भिजिलान्ते’ हेरेपछि दर्शकले पनि भन्नेछन्, ‘भिजिलान्ते’ नेपाली फिल्ममा राम्रो घुसपैठ हो।’
‘वर्षभरि नेपाली फिल्ममा निराशामात्रै लेखेर थाकेका तपाईंका हात वर्षको अन्त्यमै भए पनि यो फिल्मले सकारात्मक लेख्न बाध्य पार्नेछ,’ फिल्म सुरु हुनुअघि निर्देशक खनालले आत्मविश्वासका साथ भनेका थिए। उनले भनेजस्तै वर्षको अन्तिम साता रिलिज भएको चस्मा लगाएर हेर्नुपर्ने यस फिल्मले ०६९ को नेपाली फिल्म बजारमा केही चमत्कार देखाउने सामर्थ्य राख्छ।

Leave a Reply

Your email address will not be published.