तपाईंको कम्प्युटरमा क्यामरा छैन। तैपनि त्यसले फोटो खिच्नसक्छ। पत्याउनुभयो? पक्कै पत्याउनुभएन होला। त्यसपछि सफ्टवेयरले तपाईंलाई फोटो खिचेर हेर्न उक्साउँछ। क्यामरै नभएको मोनिटरले कसरी फोटो खिच्छ त? तपाईंलाई अनौठो लाग्छ। सँगै खुल्दुली पनि। कतै क्यामराविनै फोटो त आउँदैन? तपाईंको चासो पूरा गर्न पनि सफ्टवेयरको कमान्ड स्वीकार गर्न तयार हुनुहुन्छ। स्त्रि्कनमा एउटा क्यामरा देखिन्छ। त्यसपछि सटर रहेको ठाउँमा माउसले लगेर क्लिक गर्न दिएको कमान्ड तपार्इं स्विकार्नुहुन्छ। क्यामरा क्लिक भएको आवाज आउँछ। अब प्रोसेसिङको काम सुरु हुन्छ। कम्प्युटरको स्त्रि्कनमा ‘वर्किङ’ अथवा ‘प्रोसेसिङ’ को सिग्नल देखिन्छ।
एकैछिन ‘पज’ हुन्छ। र, तस्बिर देखिन्छ। तपाईं आश्चर्यचकित हुनुहुन्छ। फोटो त आयो। हो, कम्प्युटरमा फोटो देखिन्छ। नझुक्किनुस्! यो तपाईं होइन। प्रोसेस पूरा भएर आएको तस्बिर थोते चिम्पान्जीको हुन्छ।
दश वर्षअघि कम्प्युटरमा यो सफ्टवेयर निकै लोकप्रिय थियो। मानिसहरू के के न हो भन्दै फोटो खिचाउन तयार हुन्थे। पोज मिलाएर मुसुक्क मुस्काउँथे। क्लिक गर्थे र धैर्यसाथ आफ्नो सुन्दर अनुहार क्यामराविनाको स्त्रि्कनले खिच्न लागेकोमा मख्ख पर्थे। र, स्त्रि्कनमा तस्बिर देखिँदा झल्यास्स हुन्थे। अहो, यसले मूर्ख पो बनाएछ।
नेपाली समाजमा कम्प्युटर भित्रिँदै गर्दा इन्टरनेटको प्रयोग खासै थिएन। न त यो अहिलेजस्तो द्रुत गतिमै चल्थ्यो। अनि यस्तै केही सफ्टवेयरले मानिसलाई रमाइलो गर्ने आधार तयार पार्थे।
मानिसलाई मूर्ख (फुल) बनाउने चलन अहिले पनि उस्तै छ। अप्रिलको यो महिना उसै पनि झुक्याउने महिना हो। अप्रिलको पहिलो दिन धेरैखाले अनलाइन र न्युज मिडियाले पनि मूर्ख बनाउने समाचार पस्के। समाचारबाट मानिसहरू उत्तिकै झुक्किन पुगे। समाचारको अन्तिमसम्म पुग्न नसक्नेहरू बीचमा नै ‘फुल’ बनेर हिँडे। पढ्नेहरू अन्तिममा मुस्काउनु सामान्य नै भयो।
यो अप्रिलमा पनि मूर्ख बनाउन प्रविधिको व्यापक प्रयोग भयो। सामाजिक सञ्जालमा गलत समाचारको प्रवाह यति धेरै भयो कि सत्य समाचार सेयर गर्दा पनि मानिसहरूले गलत रूपमै बुझे। प्रविधिका सेवाप्रदायकहरू नै मूर्ख बनाउने होडमा जुटेपछि अरूलाई भन्ने पनि के?
सर्च इन्जिनको साम्राज्यमा राज गरिरहेको गुगलले ‘अप्रिल फुल’ मनाउने क्रममा नयाँ सेवाको घोषणा गर्यो। ‘गुगल नोज’– पत्यारिलो हतियार थियो उसको। गुगलमा जे पनि भेटिन्छ। गुगलले नयाँ सेवा भन्दै घोषणा गरेको गुगल नोजको विशेषता उसले लेख्यो : यो नयाँ सेवा लिएपछि तपाईंले इन्टरनेटबाटै सँुघ्न सक्नुहुन्छ।
गुगलले यतिसम्म भन्यो कि गुगलको र्सच प्रयोग गरेर अब साढे एक करोड सेन्टिबाइट गन्धको डेटाबेसबाट सुँघ्न सकिनेछ। गुगलका प्रोडक्ट म्यानेजर जोन उलीलाई उद्धृत गर्दै भनियो– ‘अहिलेको व्यस्त जीवनमा हामीसित गुलाबको फूलको सुगन्ध लिने समय पनि हुँदैन। अब यो गुगल नोज बेटाबाट गुलाबको फूल मात्र एक क्लिक टाढा छ।’
भर्चुअल रूपमा गुगलमा खोज्दा नपाइने विषय भने अब भर्जिन हुनसक्ने स्थिति छ। यस्तो अवस्थामा फूलको गन्ध आउनुलाई मानिसहरूले अप्रत्यासित मानेनन्, किनकि शहरमा थ्रीडीबाट १२ डीका सिनेमाघरसमेत बनिसकेका छन्। तिनमा मानिसहरूको भीड कम छैन। यस्तो अवस्थामा गुगलमा सर्च गर्दा सुँघ्न सकिने कुरा धेरैका लागि पत्यारिलो पनि थियो।
हरेक वर्ष अप्रिल १ का दिन नयाँ–नयाँ कुराले झुक्याउँदै आएको गुगलले युट्युब बन्द गर्ने घोषणा पनि गर्न भ्यायो। युट्युबलाई उत्कृष्ट भिडियो छनोट गर्नलाई थालिएको एउटा प्रतियोगितामात्रै भएको गुगलले बतायो। यतिसम्म कि सामाजिक सञ्जाल युट्युब भिडियोबाट नै उसले यस्तो घोषणा गर्न भ्यायो। विज्ञप्तिसहितको भिडियो आएपछि गुगलले ‘फुल’ बनायो भन्ने कसले? धेरैले पत्याए। कतिले त पछिमात्रै आफू मूर्ख बनेको चाल पाए।
मध्यरातबाट युट्युबले नयाँ भिडियो अपलोड स्वीकार नगर्ने भन्दै अब विजेता छान्ने प्रक्रिया नै घोषण गर्यो। र, २०२३ मा विजेता घोषणा गरिने बतायो। सामाजिक सञ्जालमा युट्युबले आफ्नो प्रभाव यति पारिसकेको छ कि यो हरेकको जिमेलसँग जोडिँदै गएको छ। अझ धेरैले त पर्सनल च्यानल नै सुरु गरिसकेका छन्। पर्सनल च्यानलका रूपमा आफ्ना भिडियोलाई अनलाइन अर्काइभ गर्ने प्रचलन पनि ह्वात्तै बढेको समयमा यस्तो घोषणा आएपछि सबै आश्चर्यमा पर्नु स्वाभाविक थियो।
गुगलले सन् २००५ देखि सुरु भएको युट्युबलाई सन् २००६ मा एक अर्ब ६५ करोड डलरमा खरिद गरेको थियो। यसअघि गुगलले एक जीबीको इमेल सेवा निःशुल्क दिने घोषणा ‘अप्रिल फुल’ कै दिन गरेको थियो।
गुगलले सर्वसाधारणमात्र होइन, न्युज साइटहरूलाई पनि राम्रैसँग झुक्यायो। गुगल एनालेटिक्समा इन्टरनेसनल स्पेस स्टेसनबाट नागरिकन्युज ४१ जनाले हेरिरहेको देखायो। गुगल एनालेटिक्स गुगलको यस्तो सेवा हो, जसबाट तपाईं आफ्नो अनलाइन कुन देशका कति मानिसले हेरिरहेका छन् भन्ने थाहा पाउन सक्नुहुन्छ। गुगलले सधैँ दिने यो सेवाबाट सबै चकित हुनु अनौठो थिएन। स्पेस स्टेसन भनेको भू–उपग्रह नै हो। कुनै नेपाली भू–उपग्रहमा पुग्नु त टाढाको कुरा कल्पना गर्ने समय पनि आइसकेको छैन। त्यस्तो अवस्थामा ४१ जनाले नेपाली भाषाको नागरिकन्युजडटकम कसरी हेरे? यो आफैँमा गजबको प्रश्न थियो। न्युजरुममा काम गर्नेहरू यो अन्योलको शिकार भइरहे। तबसम्म, जबसम्म उनीहरू ‘फुल’ भइरहेको बुझ्न सकेनन्। नागरिकन्युजडटकममात्र होइन, धेरैजसो अनलाइनमा ४१ जनाले नै इन्टरनेसनल स्पेस स्टेसनबाट उनीहरूको वेबसाइट हेरिरहेको देखियो। गुगलले नै ‘फुल’ बनाएपछि नझुक्किने त कुरै रहेन।
अर्को सामाजिक सञ्जाल ट्वीटरले पनि राम्रैसँग ‘अप्रिल फुल’ मनायो। नेपालमा सामाजिक सञ्जालमध्ये फेसबुक सबैभन्दा धेरै प्रयोग हुन्छ। तर, पछिल्लो समय ट्वीटरको प्रयोगकर्ताहरू ह्वात्तै बढेका छन्। यसले
आफ्नो सेवालाई दुई भागमा बाँड्ने तयारी भएको समाचार सार्वजनिक गर्यो। यो तयारी आफैँमा चासोको विषय थियो। ट्वीटरलाई सशुल्क र निःशुल्क गरी दुई भागमा बाँड्ने बताएछि धेरैले पत्याए। सुरु–सुरुमा फेसबुक चलाउने अथवा निःशुल्क इमेल चलाउनेबीच ‘अहिले यसले सित्तैमा दिन्छ पछि बानी परेपछि पैसा माग्न थाल्छ’ भन्ने हल्ला व्यापक थियो। धेरैले त्यही हल्लालाई सत्य हुन लागेको अनुमान गरे। ट्वीटरले यति कुटिल तरिकाले झुक्यायो कि मान्छेहरू पत्याउन बाध्य भए। समाचार पूरा नपढ्नेहरू शीर्षकबाटै आत्तिए। समाचारमा उसले बताएअनुसार सशुल्क ट्वीटर सेवा प्रयोग गर्नेले प्रतिमहिना पाँच डलर तिर्नुपर्नेछ। तर, जसले पैसा नतिरी चलाउन चाहन्छ, उनीहरूका लागि एक सय ४० क्यारेक्टरको यो माइक्रोब्लगिङमा ‘भवेल’हरू देखिनेछैनन्। अर्थात्, ए, ई, आई, ओ, यू ट्वीटरमा नदेखिने घोषणा भयो। जस्तो नेपाल लेख्दा एन, पी र एलमात्र रहने भयो। भवेल नै नआउने भएपछि पूर्णरूपमा लेख्ने कुरा असम्भव नै हुने भयो। उसको यो ‘अप्रिल फुल’ जोकले सबैलाई राम्रैसँग झस्कायो।
जतिसुकै झुक्याए पनि तपाईंहरूलाई यी प्रविधिका साइटहरूले पूर्ण सूचना दिन लुकाएनन्। मतलब, उनीहरूले तपाईंलाई मुर्ख बनाएको जाहेर गर्न चुकेनन्। चुकेका भए यी घटनाक्रम साँच्चिकै समाचारका रूपमा भोलिपल्ट मिडियामा छ्यापछ्यापती हुने थिए।