निर्वाचन कार्यालय बागलुङमा तोडफोड

बागलुङ- जिल्ला निर्वाचन कार्यालय बागलुङमा तोडफोड भएको छ। बिहीबार बिहान ११ बजे आएका तीनजनाले निर्वाचन अधिकारीको कार्यकक्षमा प्रवेश गरी तोडफोड मच्चाएका छन्। निर्वाचन अधिकारीको कार्यकक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, टेबुलमा रहेको सीसा फोडेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए। उनीहरुले केही पनि नबोली सरासर प्रमुखको कार्यकक्षमा प्रवेश गरी आक्रमण गरेका थिए। 
“सेवाग्राहीजस्तो गरी उनीहरु आए, अनि एकछिन सोफामा बसे”, निर्वाचन अधिकारी उपाध्यायले भन्नुभयो, “त्यसपछि डेढ मिनेटमै तोडफोड गरेर बाहिर निस्के।” निर्वाचन अधिकारी उपाध्यायले टेलिफोन सेट र कम्प्युटर जोगाउन खोज्दा आफूलाई धकेलेर तोडफोड गरिएको बताउनुभयो। आक्रमणकारीहरुले मुखमा माक्स लगाएर आएका थिए।
कार्यालय प्रमुखको कार्यकक्षमा दुईजना मात्र छिरेर तोडफोड गरेको र एकजना बाहिर भर्‍याङमा बसेको कार्यालयका कर्मचारी प्रतिमान पौडेलले बताए। कार्यालयका कर्मचारीले तोडफोड गरेर बाहिर निस्कने बेला रोक्न खोजेपछि ती व्यक्तिहरुले रड झिकेर आक्रमणको प्रसास गरेको पौडेलको भनाइ छ। निर्वाचन कार्यालय जिल्ला प्रहरी कार्यालयको देखि पाँच मिनेटको दूरीमा पर्छ।
हिजोअस्ति प्रहरी निगरानी रहे पनि आजै कार्यालयमा प्रहरीले सुरक्षा पहरा नदिएको पाइएको छ। अहिले कार्यालयमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले तोडफोड गर्नेको खोजी गरिरहेको छ।
नेकपा–माओवादीले आफ्नो पार्टीको संलग्नता रहे/नरहेकोबारे कुनै आधिकारिक धारणा नदिए पनि दिउँसो पत्रकार सम्मेलन गरेर धारणा तय गर्ने जनाएको छ। आजै बिहान बागलुङमा भएको पत्रकार भेटघाटमा बोल्दै नेकपा–माओवादीका सचिव देव गुरुङले चुनाव हुन नदिने बताएका थिए। रासस

Leave a Reply

Your email address will not be published.