अध्यक्ष रेग्मीले भेटे भारतीय राजदूत

काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सिंहबीच आज मुलुकको समसामयिक राजनीतिका विषयमा सिंहदरबारमा भेटवार्ता भएको छ। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत सिंहले भारत सरकारको तर्फबाट नयाँ सरकार र मन्त्रिपरिषद्का सदस्यहरुलाई आफूले बधाईको दिएको जानकारी दिँदै नयाँ निर्वाचन सम्पन्न गर्न भारतले आवश्यक सहयोग गर्ने बताए। 
स्वतन्त्र र निष्पक्ष वातावरणमा संविधानसभाको निर्वाचन होस् र यसबाट नयाँ संविधान निर्माण भई दिगो शान्ति आओस् भन्ने भारतको चाहना रहेको अध्यक्ष रेग्मीलाई अवगत गराएको उहाँले जानकारी गराए। साथै उनले निर्वाचनका लागि भारत सरकारले प्राविधिलगायतका आवश्यक सहयोग गर्ने विश्वास दिलाएको पनि बताए।
नेपालको नयाँ संविधान र शान्तिका लागि यहाँ जनताले मताधिकार प्रयोग गरेर फैसला गर्न पाउने कुरामा भारत उत्साहित हुने पनि राजदूत सिंहले जनाए। यसैगरी, मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार आर पी पाण्डेका अनुसार भेटमा अध्यक्ष रेग्मीले भारत सरकारले दिएको बधाईप्रति आभार व्यक्त गर्दै सरकारको पहिलो प्राथमिकता निष्पक्ष निर्वाचन भएको बताएका थिए।
अध्यक्ष रेग्मीले निर्वाचनका लागि भारतको प्राविधिक सहयोगबारे निर्वाचन आयोगसँग सल्लाह गरी थप छलफल गरिने पनि जनाएका थिए। रासस

Leave a Reply

Your email address will not be published.