खेलकुदमा फोरम लोकतान्त्रिक

foram loktantrikकमल खत्री, काठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले खेलकुदमा भातृ संगठनको प्रवेश गराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शुक्रबार फोरमले नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंघको औपचारिक घोषणा गरेको थियो। नेपाली खेलकुदमा भातृ संगठन विस्तार गर्ने फोरम पहिलो पार्टी भने होइन। खेलकुदमा भातृ संगठन प्रवेश गराउने फोरम चौथो पार्टी बन्न पुगेको छ। युवालाई आफ्नो पकडमा राख्न पार्टीहरूबीच खेलकुदमा भातृ संगठन विस्तार गर्ने क्रम बढिरहेको छ। 

भातृ संगठन विस्तार गर्दै हरेक पार्टीहरूले खेलकुद विकास र खेलाडी हकहितमा काम गर्ने भने पनि यथार्थमा पाइँदैन। पार्टीमा आफ्नो प्रभाव बढाउन खेलकुद निकट व्यक्तिहरूले भातृ संगठनलाई प्रयोग गरिरहेका छन्।
फोरम खेलकुद महासंघ फागुन १६ मा गठन गरिएको हो। फोरम लोकतान्त्रिकले पनि अन्य पार्टीले जस्तै खेलकुदको विकास र खेलाडी हकहित गर्न खेलकुद महासंघ गठन गरिएको बताएको छ।
अध्यक्ष गच्छदारले अन्य पार्टीले जस्तो आफ्नो भातृसंगठनले खेलकुदमा राजनीति नगर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हाम्रो महासंघ राखेपको विधानअनुसार अगाडि बढ्ने छ, जुन दिन कांग्रेस, एमाले र माओवादीले खेलकुदबाट भातृ संगठन विघटन गर्छन् त्यही दिन हामीले पनि संगठन विघटन गर्नेछौं।’ महासंघलाई ७५ जिल्लामै विस्तार गरिने जानकारी उनले दिए।
सोही पार्टीका केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख गणेश लामाले संविधानमा नै खेलाडीको हकहितका लागि स्पष्ट नीति निमार्णमा महासंघले जोड दिने बताए।

यसअघि कांग्रेस, एमाले र माओवादीले खेलकुदमा भातृ संगठन विस्तार गरेका थिए। एमाले र माओवादीका दुई छुट्टाछुट्टै संगठन खेलकुदमा सक्रिय छन्। एमाले निकट नेपाल खेलकुद महासंघ र मदन भण्डारी स्पोर्टस फाउन्डेसन वि्र्कयाशील छ। खेलकुद महासंघ पार्टी अध्यक्ष झलनाथ खनाल र फाउन्डेसन नेता केपी शर्मा ओली निकट मानिन्छ।
यस्तै माओवादीनिकट गणतान्त्रिक खेलकुद महासंघको आधिकारिकमै विवाद छ। पहिलोपल्ट जयन्द्रबहादुर चन्दको अध्यक्षमा गणतान्त्रिक खेलकुद महासंघ गठन गरिएको थियो। त्यसपछि रणबहादुर चन्दको अध्यक्षमा गणतान्त्रिक खेलकुद महासंघ गठन भएको घोषणा गरिएको थियो। पार्टी विभाजन नभएका बेला दुवै समूहले आफूलाई आधिकारिक भएको बताए पनि पार्टीले भने मान्यता दिएको थिएन।
खेलकुद निकट व्यक्तिहरूले पार्टीमा प्रभाव बढाउन सहज हुने भएकाले खेलकुदमा भातृ संगठन विस्तारमा जोड दिने गरेको खेलकर्मीहरू बताउँछन्।
नेपाली खेलकुदमा विचार र आस्थाका आधारमा गरिने भाृत संगठन विस्तार विश्वकै लागि नौलो भएको राखेपसदस्य सचिव युवराज लामाको भनाइ छ। उनले भातृ संगठनहरु खेलकुद विकासमा भन्दा व्यक्तिगत रूपमा एकले अर्कालाई तर्साउन प्रयोग हुने गरेको बताए।
सदस्यसचिवले थपे, ‘राजनितिक आस्थाका आधारमा खेलाडी र प्रशिक्षक विभाजित हुनुहुँदैन। सबै पार्टीले निस्वार्थ रूपमा एकीकृत नियम बनाएर काम गरे खेलकुदको विकास हुनसक्छ। भातृ संगठनबीचको व्यक्तिगत प्रतिस्पर्धाले खेलकुदको विकासमा अवरोध गर्छ।’

Leave a Reply

Your email address will not be published.