थारु मातृ भाषा साहित्यको विकास

Satrudhan Chaudhary
शत्रुघन चौधरी

 

परिचय- नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक मुलुक हो। यहाँ हरेक समुदायको आ–आफ्नो भाषा, धर्म, संस्कृति, र साहित्य रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार भाषिक आधारमा जनसख्याको बनोट हेर्ने हो भने नेपाली ४४.६ प्रतिशत, मैथीली ११.७ प्रतिशत, भोजपुरी ६ प्रतिशत, थारु ५.८ प्रतिशत, तामाङ्ग ५.१ प्रतिशत, नेवार ३.२ प्रतिशत , बज्जिका ३.० प्रतिशत, मगर ३.० प्रतिशत, डोटेली ३.० प्रतिशत, उर्दु २.६ प्रतिशत, अवधि १.८ प्रतिशत, गुरुङ्ग  १.२२ प्रतिशत छ। यसै गरी नेपालमा १२३ वटा मातृभाषा बोलिन्छन्।
यरी तथ्यांकको हिसाबले नेपालमा ५५.४ प्रतिशत  गैर नेपाली भाषी अर्थात मातृभाषी रहेका छन्। तर यी भाषाको विकास र विस्तार व्यापक बन्न सकेको छैन। यसको मुल कारण विगत लामो समय देखि राज्यबाट अबलम्बन गरिएको विभेदकारी नीति नै हो। ईतिहास कोट्याउनेहो भने खास गरी नेपालको एकिकरण पश्चात नेपालमा एकल भाषा एकल संस्कृतिको नीतिलाई अंगिकार गरी खस नेपाली भाषालाई मात्र प्रोत्साहन दिईएको र अन्य भाषीलाई पाखा लगाइएको यथार्थ हामी सामु लुकेको छैन। नेपाली भाषा, साहित्यलाई राज्यद्वारा विशेष प्राथमिकताका साथ निरन्तर पृष्ठ पोषण गरिएकोले अहिलेसम्म नेपाली भाषा साहित्यले निकै फड्को मारेको हो। यसले गर्दा आज खस नेपाली भाषा समृद्ध छ र नेपालको मुख्य भाषा भएकोछ। तर राज्यद्वारा मातृभाषीलाई कहिले पनि मान्यता दिइएन बरु उल्टो सौताको व्यवहार गरियो र जहिले पनि दमनको नीति लिने काम गरियो।
२०४६ पश्चात र ०६२।६३ को जनआन्दोलन पश्चात राज्यले भाषिक नीतिले मातृभाषी पत्रपत्रिका, साहित्य, लोककला फुल्ने फल्ने मौका पाएकोछ। यसले थोरै भएपनि मातृभाषीलाई खुशीको सन्देश दिएकोछ। मातृभाषी साहित्यीक पत्रपत्रिकाहरु प्रकाशन, प्रसारण भएकाछन् यद्यपी पर्याप्त छैनन्। थारु भाषा साहित्यको विगतदेखि हालसम्मको स्थितिको बारेमा यस आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ।

मातृ भाषी साहित्यको महत्व
साहित्य समाजको प्रतिबिम्ब हो। साहित्यले कुनै पनि भाषालाई समृद्ध बनाउनमा ठूलो मद्दत गर्दछ। कुनै पनि भाषा कति समृद्ध छ भन्ने कुरा जान्नका लागि त्यो भाषामा सिर्जना गरिएको काब्य, अख्यान, उपन्यास, नाटक, कविता, गीत, गजल जस्ता साहित्यीक सिर्जना कति छ भन्ने सवालले अहं भुमिका खेल्दछ।  भारती कवि दिनकरले भनेका छन् “ज्ञानको साहित्य मान्छेले कुनै पनि भाषामा लेख्न सक्छ जुन उसले राम्ररी सिकेको छ तर रसको साहित्य मातृभाषामा मात्रै लेख्न सक्छ”। यसबाट पनि स्पष्ट हुन्छ की भित्री रस र अर्थात मौलिक साहित्यकोलागि मातृभाषाको कतिको महत्व छ। कुनै पनि भाषिक समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक लगायत विविध मौलिक पक्षको यथार्थ चित्रण गर्नकालागि त्यही मातृभाषामा साहित्य लेखिन जरुरी हुन्छ।  यसरी मातृभाषामा व्यापक रुपमा कथा, उपन्यास, नाटक, गीत, गजल काब्य, कविता, मुक्तक, हास्यव्यंग जस्ता साहित्य सिर्जना गर्न सकियो भने मात्र मातृभाषाको विकास हुन्छ। मातृभाषाको विकासको लागि त्यो भाषाको शब्दकोष, व्याकरणको पनि उत्तिकै जरुरी हुन्छ।tharu woman
भाषासंग पहिचानको कुरा पनि जोडिएर आउछ। भाषासेवी बालचन्द्र शर्माले भनेका छन्– ‘कुनै जातिलाई जरै देखि उखेल्नु छ भने उसको भाषा खत्तम पार्नु पर्छ।’ –पंजियारः २०५५)। यसकारण यदि भाषानै रहेन भने त्यो समुदायको पहिचानको कुनै आधार नै रहदैन। एकलभाषी नीतिको सोचले ग्रस्त राज्यले खस नेपालीभाषालाई मात्र प्राथमिकता दिएकोकारण नेपाली साहित्यमा अनगिन्ती कथा, कविता, गद्य, पद्य, काव्य, उपन्यास, नाटक, समालोचनाहरु प्रकाशित भए फलस्वरुप नेपाली भाषाको समृद्धि भयो। तर मातृभाषी साहित्यहरुमा प्रतिबन्ध लगाएकै कारण फक्रने फुल्ने अवसर पाएन। जसले गर्दा मातृभाषाहरु मौलाउन पाएन। यसले उनीहरुको जातीय पहिचाननै संकटमा पर्न गयो। यस कारण पनि मातृभाषी साहित्यको विकास आजको अपरिहार्य आवश्यकता बन्न गएकोछ।
साहित्य मार्फत मानवीय संवेदना तथा भावानुभुतिहरुलाई समाज अगाडि झल्काउन सकिन्छ। साहित्य जीवनको रस भरिएको यस्तो फूल हो जहाँबाट सधैभरी ताजा र वासनायुक्त मिठा रसहरु चुहीरहन्छ। मातृभाषी साहित्यमा वासनादार स्वादिष्ट रसहरु भरिएकाछन्। त्यसलाई पान गर्नकोलागि खोतल्न जरुरीछ।  साहित्यको माध्यमबाट देशको बदलिदो परिस्थितिबारे नयाँ जागरण ल्याउन सकिन्छ। मुलधारबाट पछाडि पारिएका मातृभाषी समुदायहरुलाई साहित्यको माध्यमबाट जागरुक बनाउन सकिन्छ। साहित्य र जीवनको अन्येान्याश्रित सम्बन्ध छ। यसकारण जीवनले साहित्यलाई र साहित्यले जीवनलाई गतिशिलता प्रदान गरिरहेको हुन्छ। यसकारण पछाडि परेको समाजलाई उर्जा दिनकालागि मातृभाषी साहित्यको प्रवर्द्धन गर्नु अतिनै आवश्यक छ। साहित्य यस्तो विषय हो जसको माध्यमबाट समाजमा लुकेका चरित्रहरुलाई उजागर गर्न मद्दत गर्दछ। हाम्रो समुदायमा रहेका थारु, मगर, राई, लिम्बु, गुरुङ्ग, भोजपुरी, मैथिली, अवधि लगायतका भाषिक समुदाय भित्र यस्ता थुप्रै यस्ता मौलिक पात्रहरु छन जुन अझैसम्म बाहिर आउन सकिरहेका छैनन्।

थारु मातृभाषा तथा साहित्यको विकास क्रम
थारु भाषा साहित्य प्राचीन र सम्पन्न मानिन्छ। यद्यपि यसको लिखित ईतिहास भने धेरै पुरानो पाइदैन। २००७ सालको क्रन्ति पश्चात थारु साहित्यको प्रादुर्भाव भएको पाइन्छ। हालसम्म थारु भाषा साहित्यमा थुप्रै पत्रपत्रिका, कथा, कविता, गीत, गजल, उपन्यास, काब्य, निबन्धहरु प्रकाशित भैसकेका छन्। थारु भाषा साहित्यको हालसम्मको विकासक्रमलाई प्रारम्भिक र प्रजातन्त्र पुनर्स्थापना पश्चात गरी दुई चरणमा केलाएर हेर्न सकिरुन्छ।
प्रारम्भिक चरण
आधुनिक थारु साहित्यको शुरुवात २००७ सालको जनक्रान्ति पश्चात बढ्वा थारुबाट ‘बढक्क जोर्नी’ गीत डगौरा थारु साहित्यमा प्रकाशनबाट भएको पाइन्छ। थारु साहित्यको शुभारम्भ बढ्वाकै गीतबाट सर्वप्रथम भएकोले महेश चौधरीले उनलाई थारु भाषाका आदिकवि भनेका छन्।
थारू जातिको लोक साहित्यतर्फ दृष्टि दिंदा योगी नरहरि नाथबाट प्रकाशित ‘गुरूबाबक जन्मौती’ थारू जातिको सृष्टि सम्बन्धी गाथा गाइएको छ। यसको संकलन सम्बत् १६४४ कार्तिक १० रोज ६ मा कृष्ण महतोले गरेको भन्ने देखाएबाट यसलाई नेपालमा लोक साहित्यको क्षेत्रमा लेख्य संकलनका दृष्टिले प्रथम कार्य मान्नु पर्छ। यो नेपालमै लोक साहित्यको प्रथम संकलित सामाग्री हो कि भन्न सकिन्छ (आचार्य, २०६३ :  १५)।
दाङ्ग, देउखुरीको ललौराका जीव राज आचार्यले २०११ मा ‘हम्र ओ हमार बन्वा’ नामक पुस्तिका छपाएका थिए। यसै प्रकाशनको संगसंगै राम प्रसाद राइको ‘बउआ आ बहौरिया’ छापियो। दाङ्ग देउखुरीका चौधरी रुपलाल महत्वो, श्री महानुभाव बदरीनाथ योगी, २०१६ साल बैशाख पुर्णिमामा ‘राजा दङ्गीसरण’,’बरकीमार’, ‘गुर्वावक जन्मौटी’ नामक संयुक्त संग्रह प्रकाशनमा ल्याए। ‘दंगीसरण’ नामक पुस्तकको रचना थारु कवी इश्वर दाश २०१० साल जेठ १ गते सोमबारको दिन पुरा गरेका थिए। दाङ्ग चरक मटियाका राम लाल, जोगि राम, सिताराम, २०११ सालमा बरकी मार संकलन गरे। २०२४ सालमा थारु कल्याण कारिणी सभा, देउखरबाट थारु लोकगीतको पहिलो संकलन ‘सख्या’ प्रकाशन भयो। यसै गरी प्रा. प्रफुल्ल कुमार सिंहले थारु लोकगीत संग्रह ‘मौन’ २०२८ सालमा  प्रकाशित गरेका
थिए।
२०२८ साल दाङ्गबाट ‘सक्कु गोचाली एक हुई, प्रगतिशिल साहित्यम कलम चलाई’ नारा सहित निस्केको ‘गोचाली’ थारु भाषाको सबभन्दा पहिलो पत्रिका हो। यसको नारालेनै साहित्यीक पत्रिको झलक दिन्छ। यसै साथ ‘हमार कहनाई’ नामक  थारु भाषाको साहित्यीक पर्चा पनि छापेको थियो। यो प्रगतिशिल पत्रिका भएकैकारण पंचायती प्रशासकको आँखाको कसिंगर बन्न पुग्यो र प्रतिबन्धित भयो। यसका प्रकाशक सगुनलाल चौधरी, भगवति प्रसाद चौधरी, महेश चौधरीलाई तत्कालीन प्रशासनले धडपकड मच्चाएको थियो।
२०३३ सालमा रमानन्द प्रसाद सिंहको सम्पादनमा ‘थारु संस्कृति’ पत्रिका ६ अंक सम्म प्रकाशित भई स्थगित भयो। यो पत्रिका पुनः २०६६ देखि राजकुमार लेखीको सम्पादनमा २०६७ सम्म मासिक रुपमा प्रकाशित भएको देखिन्छ। यसले शुरुवातीमा विशुद्ध थारु भाषा साहित्यको विषय वस्तुलाई प्राथमिकता दिएको देखिन्छ। २०३५ सालमा नवलपरासीबाट ‘औंकश’, चितवनबाट ‘फुन्गी’, २०४० सालमा मोरङ्गबाट ‘हौली’, नेपालंज बाट २०४४ सालमा ‘टेँस’ नामका थारु भाषाका पत्रिकाहरुको केही अंक प्रकाशित भएका थिए। यी पत्रिकाले पनि थारु भाषा साहित्यलाई बढावा दिएका थिए।

प्रजातन्त्र पुनर्स्थापनापछिको चरण :
थारु भाषिक पत्रपत्रिकाहरुको प्रकाशन
२०४६ सालको जनआन्दोलन पश्चात थारु भाषा साहित्यले केही सुनौला दिनहरु आएको देखिन्छ। यस बीचमा उल्लेखनीय रुपमा थारु भाषाका पत्रिका तथा साहित्यीक कृतीहरु प्रकाशित भएका छन्।
थारु युवा परिवार, काठमाडौबाट २०४६ देखि थारु भाषाको पत्रिका ‘बिहान’ प्रकाशनको थालनी भयो। २०६९ सम्म १७ अंक सम्म प्रकाशित यो पत्रिका अहिलेसम्मकै पश्चिम तराईमा बढी लोकप्रि मानिन्छ। २०४६ चितवनबाट ‘हमार संस्कृति’ एक अंक मात्र निस्केको देखिन्छ। थारु विकास समन्वय परिषद, विराटनगरबाट फनिश्याम थारुको सम्पादकत्वमा २०४७ सालमा ‘दलयति’ पत्रिकाको थालनि भयो। यसले पुर्वी तराई मोरङ्ग र सुनसरीमा चर्चा बटुलेको थियो।
२०४९ मा दाङ्गबाट ‘हमार पहुँरा’, २०५८ मा बर्दियाबाट ‘नेउता’ थारु भाषाको पत्रिका प्रकाशित भयो। २०४९ साल जोखन रत्गैयाको सम्पादनमा गोचाली परिवारको मुखपत्रको रुपमा ‘मुक्तिक डगर’ प्रकाशन थालिएको थियो। यो पत्रिकाले प्रगतिशिल थारु साहित्यलाई मलजल गर्ने काम गरेको थियो। २०५३ मा जोखन रत्गैयाको सम्पादकत्वमा पहिलो साप्ताहिक पत्रिका ‘थारु मुक्ति’ प्रकाशनको थालनी भयो। २०५८ सालको संकटकाल पछि ‘गोचाली परिवार’ ‘मुक्तिक डगर’ र ‘मुक्ति’ साप्ताहिकका सदस्यहरुलाई तत्कालीन प्रशासनले खोजी खोजी पक्राउ गर्‍यो। यसरी प्रशासनको व्यापक धडपकडले थारु स्रष्टाहरु निकै आतंकित भए र वर्षौसम्म आफूसंग सुरक्षित राखिएको थारु पत्रिका समेत जलाउन बाध्य भए। यस कारवाहीले सिंगो थारु पत्रकारिता क्षेत्रमा उठलपुथल ल्यायो। यसले पश्चिम नेपालको थारु पत्रकारिता तथा भाषा साहित्य उत्थानमा ठूलो धक्का पुर्‍यायो। फलस्वरुप ‘मुक्तिक डगर’ ५ अंक र ‘थारु मुक्ति’ साप्ताहिक ४० अंक पछि बन्द हुन पुग्यो।
विशुद्ध थारु भाषाको पत्रिकामा धनगढी कैलालिबाट २०४९ मा ‘गोमहन्या’, २०४८ सालमा टिकापुरबाट ‘जोगनी, २०५३ मा धनगढीबाट ‘त्रासन’, २०५४ साला धनगढीबाटै ‘दिया’ र २०६० सालमा काठमाडौबाट चौमासिक पत्रिका ‘ओजरार डगर’ छापिएको पाइन्छ।
२०४९ सालमा बाराबाट ‘बरखा’ शुरुवातीको ३ अंक प्रकाशित भएर बन्द भयो। २०५१ नवलपरासीबाट ‘भइल भिन्सहरा’ एक अंक मात्र प्रकाशित एको देखिन्छ। बेस बर्दियाबाट ‘टेल्वा’ २०५१, दाङ्गबाट २०५१ सालमा ‘कबिला’ अर्ध वार्षिक, २०४९ सालमा तेज नारायण चौधरी कठैतनवीको ‘अइँख’ त्रैमासिक, काठमाडौबाट २०४७ साल फागुनमा ‘चिरखा’ मासिक, सप्तरीबाट २०५० सालमा लव ‘पुर्णीमा’  नामक पत्रिका आयो। २०५७ सालमा बर्दियाबाट ‘मैगर हमार सन्देश’ साप्ताहिक, बाँकेबाट २०६२ सालमा ‘फुलवार’  साप्ताहिक जस्ता पत्रिकाहरु पनि प्रकाशनको शुरुवातीसंगै केही अंकपछि बन्द भएको देखिन्छ।
कविता विधामा महान्यायीधिबक्ता रमानन्द प्रसाद सिंहले भगवत गीताको सारसंक्षेप अनुवाद ‘थारू गीता’ (२०५४) काव्य थारू अनुवाद गरेर कविता विधाको थालनी गरेको देखिन्छ।
‘पहुरा’ साप्ताहिक, २०५९ कैलाली (हाल स्थगित), ‘निसराउ’ साप्ताहिक, २०५९ कैलाली (स्थगित), ‘अग्रासन’ मासिक, २०६१–हाल ‘लौवा अग्रासन’ को नामबाट प्रकाशन भैरहेको), ‘सरासर’ मासिक २०६०, ‘उँकुवार भेट’ मासिक, २०६१ ( स्थगित), चिरखा मासिक, काठमाडौ २०४८, ‘हमार पहुरा’ अर्ध साप्ताहिक २०६४, ‘हमार पहुरा’ दैनिक, धनगढी, ‘सत्यके खोजी’, सप्तरी २०६३, चिन्गारी पाक्षिक, काठमाण्डौ २०६४, ‘अख्वारी’, बर्दिया २०६६ (स्थगित), ‘पहुरा’ दैनिक २०६७ (नियमित), ‘परगा’ साप्ताहिक बाँके, २०६७,(नियमित) ‘सिरुवा’ साप्ताहिक, सुनसरी २०६७ (नियमित), ‘लावा डग्गर’, साहित्यिक त्रैमासिक, लमही दाङ्ग २०६७ (नियमित), थारु पत्रकार संघ, काठमाडौको “फुलरिया” २०६७, मासिक पत्रिका “इजोत” २०६८ (हाल स्थगित) जस्ता विशुद्ध थारु भाषाका पत्रिकाकाहरु प्रकाशित भएको देखिन्छ।
उल्लेखित पत्रिकामध्ये केही साहित्यीक पत्रिका हुन र अधिकांश व्यावसायिक पत्रिकाहरु हुन्। तर पनि अधिकांश पत्रिकामा कुनै न कुनै हिसाबले साहित्यीक खुराकलाई स्थान दिएको पाइन्छ। यस्ता पत्रिकाले विभिन्न फुटकर कविता, गजल, कथा, नाटक,निबन्ध, आत्म कथा, धारावाहिक उपन्यास जस्ता थारु भाषाका साहित्यीक रचना छापेर थुप्रै थारु साहित्यकार जन्माएकोछ। हाल सम्म बढीमा आधादर्जन थारुपत्रिकाले निरन्तरता पाएकोछ अधिकांश पत्रिका आर्थिक कुपोषणले ग्रस्त भै थला परेकाछन्।

थारु साहित्यीक सिर्जनाहरु
पत्रिकाको अलावा थारु भाषाका क्षेत्रमा थुप्रै कृतिहरु प्रकाशित भएको छन्। ह्रदय नाराण चौधरीको ‘कहली सुनली बुझली थारु जाति और समय’, ‘इजोत’ कविता स्रग्रह २०६३, सियाराम चौधरीको ‘हमार गम हमर बस्ती’, ‘पोह पाइट गैल’, ‘कैहबी’ छापिएकोछ। गोपाल दहितको पहिलो ‘थारु शब्द कोष’ २०६० दोस्रो संस्करण, रेशम चौधरीको ‘एकठो विरहीन’ कबिता संग्रह २०५३, कविराम थारु ‘सैदान’ २०५२ कबिता संग्रह छापिएका छन्।
दगौरा थारु साहित्यीक ग्रन्थ महाभारतको कथा वस्तुमा आधारित ‘बरकीमार’ २०५५ मा कुर्ट मेयर र पामेला ड्येलको सम्पादनमा अंग्रेजीमा प्रकाशित भयो। अशोक चौधरीद्वारा थारु भाषामा लेखिएको संक्षिप्त महाभारत ‘बरकीमार’ २०५५, थारु लोक साहित्यको ईतिहासको एउटा महत्वपूर्ण अध्याय मानिन्छ। यसलाई १२ पैधार (अध्याय) र ५१८ चोपाईमा विभक्त गरिएकोछ। थारु समुदायमा परम्परा र लोकश्रुतिको आधारमा बर्कीमार मौखिक रुपमा हस्तान्तरण हुदै आएको छ। महेश चौधरीको लेखन र सम्पादनमा ‘गुरु बाबक जल्मौटी’, ‘बरकी मार’, ‘माँगर’, ‘छारा’ गीती नाटक, ‘लिरौसी ब्याकरण’ र तेज नारायण पंजियारको ‘शाक्यमुनी बुद्ध’ जस्ता साहित्यीक कृतिहरु प्रकाशित भएका छन्।
थारु भाषा साहित्यमा विशिष्ट योगदान दिएका युवा साहित्यकार कृष्ण राज सर्बहारीले थारु भाषामा थुप्रै कृतिहरु प्रकाशन गरेर थारुसाहित्यीक फाँटमा अविष्मरणीय गुन लगाएका छन्। उनका कृतिहरुमा ‘फुटल करम, थारु भाषाको पहिलो उपन्यास, २०५५, दोसर घर जाइबेर, थारु भाषाको पहिलो मुक्ताक स्रग्रह, २०५६, ‘गन्तब्य’, मुक्त कमैया सम्बन्धी उपन्यास, २०५९, ‘समयका उच्छबारहरु’, थारु–नेपाली पहिलो हाइकु संग्रह, २०५९, ‘मामा भान्जा’, थारु भाषाको पहिलो लोककथा संग्रह, २०६०, ‘सुख्ली’ थारु भाषाको बहिलो बाल कथा संग्रह २०६२, ‘जोन्हु मामा’ थारु भाषाको पहिलो कविता संग्रह २०६२, ‘लाल केरनी’, थारु भाषाको उपन्यास, २०६४, थारु नेपाली कथाहरुमा ‘हलो जोत्ने माछा’ सचित्रमय कथा, २०६६, ‘अनारकलीको अन्तरकथा’ २०६६, ‘तुल्सीरामको कथा’ सचित्रमय २०६६, ‘सत्तल सिंहको कथा’, २०६६, र  ‘छट्टु स्यालको बिहे बाल कथा’ २०६७, थारु लोककथा २०६७, ढोँढोँ पोँपोँ थारु हास्यब्यङ्गय संग्रह २०६८, प्रकाशित कृतिहरु हुन भने लील बहादुर क्षेत्रीको बराइ उपन्यास थारु भाषामा अनुदित ‘छारा'(प्रकाशोन्मुख),  कृतिहरु रहेका छन्। यसका अलावा उनको थुप्रै थारु भाषाका फुटकर कबिता, गजल, मुक्तक कथा, हास्यब्यंयहरु प्रकाशित भैसकेका छन्।
थारु जनकविको रुपमा परिचित बमबहादुर थारुको पनि थारु भाषा साहित्यमा उत्तिकै योगदान रहेको छ। उनको कृतिहरु ‘चौताल’ ‘करेजा फार’, गीती स्रग्रह २०२८,  थारु साहित्य, पत्रिकाको सम्पादक २०४५, ‘इ जिनगी’ खण्ड काव्य, ‘आशुका थोपाहरु’ –बन काव्य २०५५, ‘पहिल परग’ अर्धवार्षिक सम्पादक, २०६१ “समाज सोहनी झुमडा नाच”, ‘कितबिया निसानी’, गीत संग्रह २०६२, ‘हुल्लुक बान’, दोहा संग्रह २०६५ रहेका छन्।
साहित्यकार छविलाल कोपिलाको योगदान पनि कम छैन। उनको छापिएका कृतिहरुमा ‘मुक्तिक खोज’, उपन्यास २०५९, ‘चुरिनिया’ धारावाहिक उपन्यास २०५५, ‘भयावन रात’ धारावाहिक उपन्यास २०६६,  ‘भौगर’ गजल संग्रह, २०६१, ‘कैले फुल्छ फुल’ बाल गजल स्रग्रह थारु र नेपालीमा २०६३, ‘अनवरत हेराईहरु’, हाइकु स्रग्रह, २०६३, ‘राप्तीको तिरै तिर’ कविता स्रग्रह, २०६७ रहेका छन्। यसका अलावा उनको फुटकर कथा, कविता, गजल लगायतका कृतिहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन्। शर्मिला सृष्टिको दुःखके हल्कोरा, २०६४, थारु भाषाको उपन्यासमा छाना हाल्ने काम गरेकोछ।
यसै गरी लक्की चौधरीले पनि आफ्ना कृतिहरु प्रकाशन गरेर थारुसाहित्यको विकासमा ईटा थप्ने काम गरेकाछन्। उनको कृतिहरुमा ‘सहिदान’ गजल संग्रह २०६१, ‘तिहुवार’ संस्कृति परिचय २०६२, ‘अन्तर्भाव’ गजल संग्रह २०६३, ‘पहिचान’ कथा संग्रह (प्रकाशोन्मुख) रहेका छन्।
यसै गरी फुटकर कृतिहरुमा बालगोबिन्द चौधरीको ‘बैशालु जोबन’, कविता मुक्तक संग्रह २०५७, मान बहादुर चौधरी पन्ना को ‘ढुकढुकी’, कविता संग्रह २०५७, ‘किसानके जिन्दगी’ खण्ड काव्य २०६१, ‘भ्यवक घर’ गीती क्यासेट, २०६३, मुकेश टेर्रा को ‘फुला’ कविता संग्रह २०६३, गोकुलप्रसाद चौधरीको ‘देउखहि्रया रतनचुवा ओ दिननचुवा गीत, गीत स्रग्रह २०६१, शत्रुघन चौधरीद्वारा सम्पादित थारु भाषक प्रतिनिधि कथा भाग –१, २०६८, जय नारायण चौधरीको निबन्ध संग्रह “लोप हैले लागलाहा” र नाटक “इजोत”, जीव लाल चौधरीको, ‘जीवलालके फुलरिया’ २०६८, जस्ता कृतिहरु पनि प्रकाशित भएको पाइन्छ।

निष्कर्ष
थारु भाषा साहित्यको अहिलेसम्मको स्थिति हेर्दा उत्साहजनक नै मान्नु पर्छ। तर यसकोलागि गहन अध्ययन र अनुसन्धान अझै गर्नु पर्ने आवश्यकता देखिन्छ। अहिलेसम्म जेजति प्रकाशन भएकाछन् सबै जातीय संस्था तथा आफ्नै स्वयं प्रयासले सानो तिनो लगानीमा थालनी गरिएको पाइन्छ। थारु भाषाका पत्रपत्रिकाहरुमा अहिलेसम्म राज्यले कुनै पनि दायित्व लिएको देखिदैन। आर्थिक संकटले भाषा साहित्यलाई टेवा दिईरहेका भाषिक पत्रिकाहरुले धेरै आरोह अवरोह खेप्नु परिरहेकोछ। कतिपय संकलित साहित्यीक कृतिहरु अझै पनि प्रकाशित हुन सकिरहेका छैनन्। यसकारण मातृभाषी साहित्यको जगेर्ना गर्न साथै विकास र विस्तार गर्न राज्यले तदारुकता देखाउन जरुरी छ।
थारु साहित्यकारहरुको सिर्जनामा त्यति उत्साह देखिदैन। थारु भाषाका प्रकाशित कृतिहरु स्वयं थारुभाषी पाठकले किनेर नपढ्नु र चासो नदिनु, स्रष्टाहरुलाई वेवास्ता गर्नु, यसको मुख्य कारण हो। यसकारण थारु भाषा साहित्यको आशातित विकास नहुनुमा थारु भाषिक समुदायपनि उत्तिकै जिम्मेवार देखिन्छन्। आफ्नो भाषिक अधिकारको लागि अरुको मुख ताक्नुभन्दा आफै जुर्मुराउनु थारु भाषिक समुदायीको दायित्व र आजको आवश्यकता हो। यसको लागि थारु भाषाप्रति गौरव गरी आफ्नो घर परिवार, सन्तान र समाजलाई थारु भाषा बोल्न, पढ्न प्रेरित गर्ने, आफ्ना धर्म, संस्कृती, परम्परा बारे नयाँ पुस्तालाई बोध गराउने, थारु भाषामा रचना लेख्ने, साहित्य सिर्जना गर्ने, गीत गाउने, थारु मौलिक स्थान, नामका बारेमा जानकारी लिने, थारु लोक कला साहित्यको अध्ययन अनुसन्धान र विश्लेषणमा चासो राख्ने जस्ता काम गर्नु अतिनै अपरिहार्य छ। यसका साथै थारु भाषिक साहित्यकार, लेखक, स्रष्टाहरुको उचित सम्मान गर्नु पनि उत्तिकै आवश्यक छ। हालसम्म जतिपनि थारु भाषामा प्रकाशित कृतिहरु छन् यसको संकलन गरी उचित संरक्षण र सम्वर्द्धन गर्न सकियो भने पनि थारु भाषा साहित्य अझ खंदिलो हुने मौका पाउनेछ।

Leave a Reply

Your email address will not be published.