३५ गोरुसहित पाँच जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर- कैलालीको मालाखेतीबाट ट्रकमा राखेर भारततर्फ लग्दै गरेका तीन दर्जन गोरुसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ। आइतबार बिहान कृष्णपुर क्षेत्र भएर भारततर्फ जान लागेका ३५ गोरुसहित दुईवटा ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बिर्ख रावलले बताए। ट्रकका चालक र सहचालक गरी पाँच जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको उहाँले बताए। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
सुदूरपश्चिम क्षेत्रका पहाडी क्षेत्रका साथै तराईका कैलाली र कञ्चनपुरबाट तस्करले गाई, गोरु र भैँसी खरिद गरी मालाखेतीको हाटबजार क्षेत्र जम्मा गर्ने र त्यहाँबाट कैलाली र कञ्चनपुरका खुला सीमानाकाबाट भारततर्फ तस्करी गर्ने गर्दै आएका छन्।
यसैबीच भारतको टनकपुरसँग जोडिएको कञ्चनपुरको ब्रम्हदेव क्षेत्रबाट प्रहरीले एक किलो चरेससहित एक युवकलाई आज पक्राउ गरेको छ। ब्रम्हदेव भएर भारततर्फ जाँदै गरेका बझाङका ३५ वर्षीय शेरबहादुर चलाउनेलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.