यसरी चलाऔं आइफोन

Iphone 5sआइफोनलगायत स्मार्टफोन चलाउन स्मार्ट हुनुपर्छ। क्यामेरामात्रै चलाउने हो भने त स्मार्टफोन आवश्यकै पर्दैन। राम्रा क्यामेरा भएका जति पनि मोबाइल पाइन्छन्। स्मार्टफोनका विशेषता संसारभरका स्वतन्त्र डेभलपरहरूले बनाएका विभिन्न एप्लिकेसनहरू हुन्। यसलाई छोटकरीमा एप्स भनिन्छ। लोडसेडिङ कतिबेला हुँदो रहेछ भनेर हेर्न होस् कि टेम्पल रन टूदेखि एंग्री बर्ड्ससम्मका गेम खेल्न होस्, आइफोनलाई टर्चका रूपमा प्रयोग गर्न होस् कि मौसमको जानकारी लिन, काठमाडौँमा बसेर इलामको एफएम सुन्न होस् कि न्युरोडमा बसेर न्युयोर्कको रेडियो सुन्न, यस्ता लाखौँ एप्लिकेसन्स छन्, जसले दैनिक जीवनलाई सहज बनाउँछन्, रमाइलो बनाउँछन् र तपाईंलाई एक्लो हुन दिँदैनन्। एप्स चलाउन थालेपछि तपाईंलाई थाहा हुन्छ, एप्सबिना त स्मार्टफोन केही पनि हैन।

स्मार्टफोनमा मुख्यतः दुई किसिमका अपरेटिङ सिस्टम बढी प्रचलनमा छन्, एप्पलको आईओएस र गुगलको एन्ड्रोइड। आईओएस आइफोन, आइपड टच, आइप्याडमा प्रयोग हुन्छ भने सामसुंग, एलजीलगायत विभिन्न ब्रान्डका मोबाइलमा एन्ड्रोइड प्रयोग हुन्छ। एन्ड्रोइडका एप्स डाउनलोड गर्ने प्रक्रिया आईओएसमा भन्दा सजिलो छ। प्रक्रिया अलि लामो भएकैले कतिलाई एप्स कसरी डाउनलोड गर्ने थाहा नभएर आफन्त वा साथीभाइले विदेशबाट उपहारस्वरूप पठाइदिएका आइफोन फोनमा कुरा गर्न र फोटो खिच्न र रवाफ देखाउनमात्रै प्रयोग भइरहेका छन्। अलिकति स्मार्ट हुने हो भने स्मार्टफोनलाई स्मार्ट्ली प्रयोग गर्न खासै गाह्रो छैन।

आइफोनमा एप्स डाउनलोड गर्न वाइफाइको सुविधा हुनुपर्छ अथवा आइफोनमा इन्टरनेट चल्ने हुनुपर्छ। यो आधारभूत सुविधा धेरैसँग हुन्छ। त्यसपछि चाहिन्छ एप्पल आईडी। धेरैसँग यही हुँदैन। अनि यो नभई तपाईंले आफूलाई चाहिएको एप्स डाउनलोड गर्नै मिल्दैन।

खासमा एप्स दुई प्रकारका हुन्छन्, पैसा तिरेर किन्नुपर्ने र निःशुल्क। पैसा तिरेर किन्नुपर्ने एप्स त नेपालबाट किन्न सकिँदैन, किनभने हामीसँग अन्तर्राष्ट्रिय कारोबार गर्ने क्रेडिट कार्ड हुँदैन। तर, फ्री एप्स भने हामी मजैले चलाउन सक्छौँ। यसका लागि तपाईंले फ्री एप्पल आईडी बनाउनुपर्ने हुन्छ। यसको प्रक्रिया यस्तो छः

१) सुरुमा तपाईंको आइफोनमा रहेको एप स्टोरमा थिच्नुस्। फ्री एप्पल आइडी बनाउन चाहेकाले सुरुमा तपाईंले फ्री एप्लिकेसन डाउनलोड गर्ने प्रयास गर्नुपर्छ। त्यसका लागि मुनि रहेको टप २५ मा थिच्नुस्। त्यसपछि माथि रहेका अप्सनहरूमा टप फ्री क्लिक गर्नुस्। त्यसपछि देखिने कुनै पनि फ्री एप तपाईं रोज्न सक्नुहुन्छ। अथवा टप २५ मा क्लिक नगरी सर्च थिचेर फेसबुक वा अन्य कुनै फ्री एपको नाम टाइप गर्दा पनि हुन्छ। रोजेको एपमा थिच्नुस्।

२) अब त्यो एपको बारेमा जानकारी दिने पेज खुल्छ। ध्यान राख्नुस् कि एप डाउनलोड गर्ने ठाउँमा फ्री लेखिएको हुनुपर्छ, यति डलर तिर्नुपर्छ भन्ने जानकारी हैन। फ्री लेखिएको ठाउँमा एक पटक थिच्नुस्, त्यो निलो रंगको फ्री लेखिएको ठाउँ हरियो रंगको इन्स्टल लेखिएकोमा बदलिन पुग्छ। इन्स्टलमा थिच्नुस्।

३) अब तपाईंलाई साइन इन गर्न भनिनेछ। तपाईंलाई तीन वटा विकल्प दिइनेछः भएको एप्पल आईडी प्रयोग गर्ने, नयाँ एप्पल आईडी प्रयोग गर्ने र क्यान्सिल गर्ने।

४) तपाईंको आइफोनमा यसअघि नै कसैले अर्कै एप्पल आईडी प्रयोग गरिसकेको छ भने इन्स्टल थिच्ने बित्तिकै तपाईंसित पासवर्ड मागिनेछ। पासवर्ड मागिएको हो भने तपाईंले आफ्नो आइफोनबाट त्यो अकाउन्टलाई हटाउनुपर्ने हुन्छ। यसका लागि सेटिंग्समा थिच्नुस्। त्यसपछि स्टोरमा थिचेर साइन आउट रोज्नुस्। फेरि माथिको १ देखि ३ सम्मको प्रक्रिया अपनाउनुस्।

५) ३ नम्बरको प्रक्रियापछि दिइएका तीन विकल्पमा क्रिएट न्यू एप्पल आईडीमा थिच्नुस्।

६) त्यसपछि तपाईंलाई आफ्नो देश वा क्षेत्र छान्न भनिनेछ। त्यसमा नेपाल छान्नुस् र नेक्स्ट थिच्नुस्।

७) अब तपाईंलाई ३२ पेजका सर्तहरू देखाइनेछ। त्यसको मुनि एग्री लेखिएको बटनमा थिच्नुस्। मैले पढिसकेँ भनेर फेरि एक पटक तपाईंलाई क्लिक गर्न लगाइनेछ।

८) अब नयाँ पेज खुल्नेछ। त्यसमा तपाईंले आफ्नो इमेल ठेगाना र पासवर्ड दुई पटक राख्नुपर्ने हुन्छ। पासवर्ड कम्तीमा आठ अक्षर भएको र त्यसमा क्यापिटल अक्षर, स्मल अक्षर र नम्बर समेत हुनुपर्छ। स्पेस प्रयोग गर्न पाइँदैन र एउटै अक्षर तीन पटक पनि प्रयोग गर्न पाइँदैन। पासवर्डको मुनि केही सेक्युरिटी इन्फोहरू छन्। त्यसमा प्रश्न छान्दै जवाफ लेख्नुस्। भोलिपर्सि तपाईंको पासवर्ड हरायो भने भेरिफाई गर्न यो काम लाग्छ। त्यसको मुनि अप्सनल रेस्क्यू इमेल ठेगाना राख्ने ठाउँ छ। माथिको भन्दा फरक ठेगाना यसमा प्रयोग गर्नुस्। त्यसमुनि तपाईंले आफ्नो जन्ममिति राख्नुस्। त्यसपछि नेक्स्ट थिच्नुस्।

९) अब तपाईंलाई बिलिङ इन्फरमेसन देखाइनेछ। यसमा भिसा, मास्टरकार्ड आदि क्रेडिट कार्डको जानकारी राख्न भनिएको हुन्छ। सबैभन्दा मुनि ‘नन’ लेखिएको हुन्छ। त्यसलाई छान्नुस्। नन लेखिएको भेट्नुभएन भने माथिका सबै प्रक्रिया राम्रोसँग दोहोर्‍याएर हेर्नुस्।

१०) ‘नन’ छनोट गरिसकेपछि तल बिलिङ एड्रेसका रूपमा तपाईंले आफ्नो नाम ठेगाना राख्नुपर्छ। पोस्टकोड पनि मागिएको हुन्छ, त्यसमा अरू राखियो भने लिन मान्दैन। ००९७७ राखिदिँदा हुन्छ।

११) त्यसपछि तपाईंलाई तपाईंको इमेल ठेगानामा एउटा भेरिफिकेसन इमेल पठाइन्छ। इमेल खोल्नुस् र त्यसमा दिइएको लिंकमा क्लिक गर्नुस्। त्यो लिंकमा तपाईंको एप्पल आईडी र पासवर्ड राख्न भनिनेछ। तपाईंको इमेल तपाईंको एप्पल आईडी हो भने पासवर्ड चाहिँ तपाईंले अघि एप्पल आईडी खोल्दा प्रक्रिया नम्बर ८ मा राख्नुभएको चाहिँ। साइन इन गर्नुस्। अब तपाईंको फ्री इमेल आईडी तयार भयो।

Leave a Reply

Your email address will not be published.