कमल खत्री- हल्चोक एपीएफ मैदानमा शहीद स्मारक बी डिभिजन खेलिरहेका अधिकांश क्लबमा खेलाडीको उमेर मिल्दो छ। प्रायः सबै क्लबमा युवा खेलाडी नै छन्। अरू क्लबका खेलाडीको उमेरमा समानता पाइए पनि वीरगञ्जको क्लबमा भने रोचक भिन्नता छ। मोफसलबाट आएको एकमात्र क्लब हो वीरगञ्ज युथ एकेडेमी। बाबुछोराले सँगै खेलिरहेको वीरगञ्ज क्लब अहिले भेट्रान खेलाडीको प्रेरणाबाट बी डिभिजन च्याम्पियन बन्ने लक्ष्य लिएर अगाडि बढिरहेको छ।
१८ वर्षे शिशेष श्रेष्ठदेखि ५० वर्षे भेट्रान ऋतु शाक्यले वीरगञ्जबाट बी डिभिजन फुटबल खेलिरहेका छन्। अहिले टिममा वीरगञ्जकै ६ जना भेट्रान खेलाडी छन्। ४६ वर्षे मेघराज श्रेष्ठ शिशेषका बाबु हुन्। बाबु मेघराज टिममा स्ट्राइकर भएर खेलिरहेका छन् भने छोरा शिशेष मुख्य डिफेन्समा।
४६ वर्षे उमेरमा फुटबल खेल्नु सहज हुँदैन। पाको उमेरमा युवा खेलाडीसँगै प्रतिस्पर्धा गर्नु भेट्रानहरूको रहर नभएर बाध्यता हो। क्लब आर्थिक रूपले सम्पन्न छैन। नयाँ खेलाडीसँग अनुबन्धन गर्दा चर्को रकमको आवश्यकता पर्दछ। नियमित आयस्रोत नभएको क्लबलाई खेलाडी अनुबन्धन गराएर खेलाउनु भनेको आकाशको फल टिप्नु सरह नै हो। अघिल्लो वर्ष यसै क्लबबाट खेल्ने ६ अनुभवी खेलाडी अहिले ए डिभिजन क्लबमा आबद्ध भइसकेका छन्। उनीहरूको अभाव खड्किन नदिने उद्देश्यका साथ यि भेट्रानहरू आफ्नो पुरानै जोसका साथ मैदानमा उत्रिएका हुन्।
बी डिभिजन फुटबल खेल्न आएको वीरगञ्ज टिम ठमेलको एक होटलमा तीन कोठा भाडामा लिएर बसिरहेको छ। क्लबको वार्षिक खर्च करिब ११ लाख रुपैयाँ छ। बी डिभिजन खेल्ने रकम जुटाउन पनि कठिन छ क्लबलाई। आर्थिक अभावले गर्दा नै आफूहरू बुढो अवस्थामा पनि खेल्नु परेको बताउँछन् मेघराज।
‘यो उमेरमा फुटबल खेल्ने कुनै रहर थिएन। हामीले खेल्दा वीरगञ्जका नयाँ खेलाडीलाई केही प्रेरणा मिल्छ कि भनेर खेलिरहेका छौं,’ उनी भन्छन्, …हाम्रो लक्ष्य ए डिभिजनमा पुग्ने हो।’ मेघराज जस्तै ए डिभिजनमा पुग्ने लक्ष्य लिएर लखन चौधरी ३८ वर्ष, गृष्म शाक्य ३८ वर्ष, उमेश चौधरी ३६ वर्ष र ३० वर्षका निरञ्जन पटेलले पनि क्लबबाट खेलिरहेका छन्।
ऋतु शाक्य, नेपाली फुटबलमा एक समयका चर्चित खेलाडी। भारतको सिलगुडीमा बसेर १५ वर्ष व्यावसायिक फुटबल खेलेका छन् राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य शाक्यले। राष्ट्रिय टिममा नपरे पनि मेघराज केसीले फ्रेन्ड्स क्लबबाट खेलेका थिए। नेपाली फुटबलमा चर्चित छवि बनाएका गणेश थापा र राजुकाजी शाक्यको सहकर्मी भएर मेघराजले कुपन्डोलको फ्रेन्ड्स क्लबबाट खेलेका थिए। अहिले वीरगञ्ज नगरपालिकामा जागिरे छन् उनी।
फुटबलबाट कहिले टाढिन नसकेका मेघराजको सपना भनेको नै वीरगञ्जलाई ए डिभिजनमा पुर्याउनु हो। त्यसैले होला बुढ्यौलीमा पनि जोस लिएर उनी फेरि फुटबलमा होमिएका छन्। उनीसँगै वीरगञ्जका अरू भेट्रान पनि आफ्ना छोरासरहका खेलाडीसँग प्रतिस्पर्धा गर्दै ए डिभिजनमा पुग्ने लक्ष्य लिएर मैदानमा उत्रिएका छन्।