प्रकाश सिलवाल- काठमाडौं- कक्षा कोठामा शिक्षकले गृहकार्य जाँच गरिरहेका छन्। शिक्षकले पालैपालो हरेक विद्यार्थीको कापी जाँच गर्दै सल्लाह पनि दिँदैछन् तर यो क्रम केही छिनमै सकिन्छ किनकी त्यहाँ गृहकार्य गर्नेभन्दा नगर्ने विद्यार्थी धेरै थिए। सबै विद्यार्थीको गृहकार्य नदेखेपछि शिक्षक रिसाउँछन् र एक विद्यार्थीको नजिक पुगेर सोध्छन्,
“ओइ, होमवर्क किन नगरेको ?”
विद्यार्थी डराउँदै सोझो पाराले जवाफ दिन्छन्
‘‘कलम नभएर सर”
शिक्षकले फेरि चर्किँदै प्रश्न गर्छन्
“कलम किन छैन ?”
“पैसा नभएर सर,” विद्यार्थीले भन्छ ।
फेरि प्रश्नः ‘पैसा किन नभएको ?
विद्यार्थीको जवाफः “थाहा भएन सर”
अनि शिक्षकको पारो तात्छ र उनको विवेकले यसलाई तह लगाउन विद्यार्थीलाई पिट्नुपर्छ भन्ने ठान्छ। त्यसपछि ती शिक्षकले लौरो सोझ्याएर भन्छन्:
“हात थाप”
विद्यार्थीले लुरुक्क परेर हात थाप्छ
अनि सुनिन्छ, “आइया” को आवाज…।
महेन्द्र मावि, बौद्धका विद्यार्थीहरूको निर्देशन र अभिनयमा प्रस्तुत बालनाटक ‘भीडदेखि भीडसम्म’को उल्लेखित अंशले शिक्षक र विद्यार्थीको सम्वादलाई जीवन्त प्रदर्शन गरेको छ, जुन नेपालका अधिकांश सरकारी विद्यालयमा हुने गर्छ।
यहाँ शिक्षकले विद्यार्थीलाई पिटेको भन्ने सन्देश सामान्य लाग्न सक्छ। त्योभन्दा ठूलो सन्देश विद्यार्थीले कापी किन्न नसकेर गृहकार्य गर्न किन सकेन भन्ने हो।
विद्यालय जाने उमेरका ९५ प्रतिशत विद्यार्थीहरू विद्यालयको पहुँचमा पुगे पनि घर, समाज र विद्यालयको उचित वातावरण तथा सहयोग नहुँदा उनीहरूको सिकाइ उपलब्धिमा माथि जान सक्दैन।
अनि बीचमै कक्षा छाड्ने प्रवृत्ति पनि बढ्छ। जेनतेन कक्षोन्नती भएमा एसएलसी परीक्षामा निराशाजनक नतिजा देखिन्छ। सरकारले दातृ निकायको सहयोगमा सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्न विद्यालय क्षेत्र सुधारलगायतका कार्यक्रम कार्यान्वयन गरिरहेको छ। निःशुल्क र अनिवार्य शिक्षाका कार्यक्रम पनि लागू गरिरहेको छ तर यो नाटकले देखाएका जस्ता अवस्थाको अन्त्य हुन सकेको छैन।
नाटकमा आमाबाबुविहीन र आर्थिक स्रोतविहीन बालबालिका घरेलु श्रमिक बन्न र पढाइलाई चाहेर पनि प्राथमिकता दिन सकिरहेका छैनन् भन्ने दर्साइएको छ।
यस्तै, मालिकले पढाउँछु भनेर बालबालिकालाई गाउँका अभिभावकबाट छुटाएर लगेपनि ती मालिकले घरको भूइँ पुछ्नु नै इञ्जिनियर बन्नु हो। बगैँचामा पानी हाल्नु नै डाक्टर बन्नु हो भन्दै बालबालिकालाई गाली गरेर, कुटेर काम लगाइरहेका अनि कुनै बालबालिकाका आमाबुबाको आपसी कलहले पढाइमा नकारात्मक असर परिहेको प्रस्तुति गरिएको छ।
नाटकमा प्रस्तुत अर्की पात्र महेन्द्र माविमा कक्षा ८ मा पढ्ने बालकुमारी मगरको पीडा थप मार्मिक छ। दिलमाया नाम दिइएकी यी पात्रकी आमाले कापीकलम किन्नुभन्दा आफ्नै मेकअपका सामान किन्न पैसा खर्चने गर्दैथिन्। एकदिन कापी किन्न आमालाई अनुरोध गर्दा उल्टै गाली गर्दै रिसाएर छोरीलाई छाडेर गएपछि एक मालिकको घरमा शरण लिन र कामदार बन्न दिलमाया विवश हुन्छिन्।
ती मालिकले वाचा गरेअनुसार अन्य बालबालिकालाई पनि पढाउन सघाएका थिएनन्। यसबाट मुक्तिको खोजी गर्दै त्यस घरमा काम गर्ने अन्य साथीहरूसँगै दिलमाया भागेर वौद्ध स्तुपामा पुग्छिन्। घर हुने र बाबुआमा हुनेहरू आफ्नै ठाउँ फर्कन्छन्। दिलमायाचहिँ स्तुपामा एक्लै रुँदै बस्न पुग्छिन्। उनले ‘अब म कहाँ जाने ? मेरो भाग्य नै यस्तै रहेछ’ भन्ने विलौना गरिरहेकी छिन्। स्तुपामा घुम्ने र ध्यान गर्नेहरूलाई त्यसप्रति कुनै चासो हुँदैन। यहीबेला नाटकको अन्त्य हुन्छ।
महेन्द्र माविका कक्षा ८ का सागर कँडेलको निर्देशन रहेको यो नाटक यही माघ २५ गतेदेखि सुरु भएको बाल नाटक सप्ताहका क्रममा हिजो प्रदर्शन गरिएको थियो। जुन नाटक उनीहरूले एक महिनाको अभ्यासबाट तयार पारेका थिए।
नाटकका माध्यमबाट पहिचानको खोजी र सामाजिक परिवर्तन गर्ने उद्देश्यले स्थापित ‘स्पेस’ नामक संस्थाको आयोजनामा सुरु भएको बाल नाटक सप्ताहमा ‘भीडदेखि भीडसम्म’ हेरेपछि साहित्यकार तथा प्राज्ञ गायत्री विष्टले भन्नुभयो, “नाटकले सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्न सबै पक्षमा चुनौती रहेको देखाएको छ।”
“यो नाटक व्यावहारिक र समस्यामूलक छ, यसले बालबालिकको शिक्षाका लागि अभिभावकमा चेतना वृद्धि गर्नुपर्ने देखाएको छ”–उनले भने।
आयोजक संस्थाका कार्यकारी निर्देशक श्रीकृष्ण थापाका अनुसार शिक्षाको अवसरबाट वञ्चित न्यून आय भएका र बालश्रमिक बन्न विवश बालबालिकाले आफ्ना समस्याबारे आफैँले अभिनय गरेका बालनाटक प्रस्तुत गरेर यो सप्ताह मनाउन थालिएको हो।
अनामनगरस्थित मण्डला थिएटरमा माघ २९ गतेसम्म चल्ने सप्ताहमा सागरको भीडदेखि भीडसम्मका साथै भरत लामिछानेको ‘लीलावतीको किनार’, विकास भण्डारीको ‘श्रम स्कुल कि सानी नानी’, चिना भारतीको ‘तारेभिर’ र हेमा राईको ‘पोको’ प्रस्तुत भइरहेको छ। रासस