राष्ट्रपति चुप लागेर बस्नु हुँदैन : कोइराला

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले देशमा अहिले संवैधानिक सङ्कट चुलिएको भन्दै यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न नहुने बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले भने, “राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङ्घनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्छ।’ सञ्चारकर्मीको जिज्ञासामा सभापति कोइरालाले संविधान उल्लङ्घनका घटनाहरु भइरहेको अवस्थामा राष्ट्रपति चुप लागेर बस्नु हुँदैन भने।
उनले संवैधानिक सङ्कट आइरहेको अहिलेको अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई राष्ट्रपतिले राख्नुहुन्छ वा फाल्नुहुन्छ यो राष्ट्रपतिमा निहित रहेको बताए। परिवर्तनको हरेक मोडमा नेपाली कांग्रेस अहम् भूमिका खेलेको छ, सभापति कोइरालाले भने– “अबको परिवर्तनका लागि पनि नेपाली काँग्रेसले गान्धीको अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन गर्नेछ।”
उनले नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षधर भएको बताए। यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए संविधानसभाको निर्वाचन तीन महिनाभित्र हुने बताए। “राष्ट्रिय सहमतिबिना संविधानसभाको निर्वाचन सम्भव नहुने भएकाले माओवादीलाई हटाएर नेपाली कांग्रेस सत्तामा जान नै एक मात्र विकल्प हो,” उपसभापति पौडेलले भने, “लोकतन्त्र सुनिश्चित गर्न नेपाली जनताले आन्दोलन गर्नु जरुरी छ।”
उपसभापति पौडेलले नेपाली कांग्रेस सरकारमा गए संविधान बनाइछाड्छ भन्ने डरले एमाओवादी नेपाली काँग्रेसको नेतृत्व स्वीकार गर्न नचाहेको बताए। सो पत्रकार सम्मेलन नेपाल प्रेस युनियन धनुषाका सभापति प्रवीण साहको सभापतित्वमा भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.