भट्टराईले बन्द सत्रमा भने- प्रचण्डकै नेतृत्‍वमा जाऔं

हेटौंडा- एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँग विप्पा सम्झौता गर्नु आवश्यकता र बाध्यता दुवै भएको बताएका छन्। बुधबार हेटौंडा कपडा कारखानाको हलमा भएको बन्दसत्रमा पार्टी नेता तथा कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै उनले लगानी भित्र्याउनका लागि विप्पा सम्झौता गरिएको स्पष्ट पारे। उनले भने, ‘विप्पा सम्झौता गर्दा कुनै राष्ट्रघात गरिएको छैन, यो केबल आर्थिक उन्नतिका लागि मात्रै गरिएको हो।’ पछिल्लो दिनमा यस खालको सम्झौताले आर्थिक उन्नतिमा सहयोग पुर्‍याएकाले यसलाई राष्ट्रघाती भन्नु आवश्यक नभएको उनले बताए।

संसारमा यस्ता धेरै सम्झौता भएका छन् अरु देशमा राष्ट्रघात नहुने, नेपालमा त्यही सम्झौता गर्दा राष्ट्रघात हुने भन्ने प्रश्न हुँदैन प्रधानमन्त्री भट्टराईले भने। वर्तमान सरकारले कुनै पनि खालको राष्ट्रघाती काम नगरेको र राष्ट्रियताको विषयमा सम्वेदनशील रहेको उनको स्पस्टोक्ति थियो।
सरकारले देश र जनताको पक्षमा चाहेजति काम गर्न नसकेको कुरा जायज र यथार्थपरक भएको स्वीकार गर्दै उनले प्रधानमन्त्रीले विपक्षीले अवरोध गरेर पूर्ण बजेट प्रस्तुत गर्न नसकेको र बजेटको अभावमा चाहेजति जनताको काम गर्न नसकेको बताए।
प्रधानमन्त्रीले भने, ‘सरकारले जनताको पक्षमा धेरै काम गर्न खोजेको हो, तर विपक्षीले दुई आर्थिक वर्षदेखि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका छैनन्, बजेट बिहीनतामा काम गर्नुपर्दा न त जनतालाई राहत दिन सकियो, न त जनताले अपेक्षा गरेअनुसार नै काम गर्न सकियो।”
द्वन्द्वकालका मुद्दालाई हल गर्नका लागि सरकारले प्रस्तुत गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा समस्या खडा गरेको पनि उल्लेख गरे। विसं २०४६ पछि सरकारमा रहेका नेपाली कांग्रेस र एमालले सरकारी निकायमा राखेको फोहोर सफा गर्नु सजिलो काम नभएको बताउँदै प्रधानमन्त्रीले यति छोटो समयमा सरकारले जति गर्न सकेको छ त्यसैमा सन्तोष मान्न उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे।
प्रधानमन्त्रीले भने, ‘यतिबेला सरकार नभएको मुलुकमा प्राप्त भएका सबै राजनीतिक उपलब्धि गुम्ने र प्रतिक्रान्तिको अवस्था सिर्जना भएको थियो, अरु केही गर्न नसकेपनि सरकारले प्रतिक्रान्तिलाई रोक्नमात्रै सकेको छ।”
पार्टी अध्यक्ष प्रचण्ड नै हाम्रो पार्टीको नेता भएको प्रष्ट पार्दै यतिबेला उहाँको विकल्प खोज्ने काम कोही कसैबाट भए त्यो आफूलाई स्वीकार्य नभएको पार्टी उपाध्यक्षसमेत रहे‍का भट्टराईले बताए।
एमाओवादीको नेता भनेकै अध्यक्ष प्रचण्ड हुनुहुन्छ, उहाँको विकल्प खोज्ने काम कहीँ कतैबाट पनि गरिनु हुँदैन, उहाँकै नेतृत्वमा हामी नेतृत्वमा रहेका साथीहरु एकताबद्ध भएर क्रान्तिलाई सम्पन्न पार्नु हामी सबैको दायित्व हो भन्दै नेता भट्टराईले यो दायित्वबाट कोही पनि विमुख नहोऔँ।
धोवीघाट गठबन्धनबारे पार्टी कार्यकर्ताले चर्को आवाज उठाएपछि त्यसको जवाफ दिँदै उनले भने, ‘सो गठबन्धन अध्यक्ष प्रचण्डविरुद्ध थिएन।’
प्रधानमन्त्री भट्टराईले भने, ‘धोवीघाटमा वैद्यजीहरुले अध्यक्षलाई हटाऔं र तपाइँ अध्यक्ष बन्नुस् भन्नुभएको थिए मैले नै त्यसलाई अस्वीकार गरेको र नेताको पनि नेता प्रचण्ड नै हुनुहुन्छ भनेर सो प्रस्ताव अस्विकार गरे।’
पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा राष्ट्रियताको विषयमा जनमत सङ्ग्रहमा जाने भन्ने कुरा हटाउनुपर्ने र सो हट्नेसमेत डा भट्टराईले बताए। यतिबेला पार्टीले अङ्गालेको नीति जायज र समयानुकूल भएको बताउँदै उनले यहीँ नीतिलाई सफल बनाउन पार्टीको सबै तह र तप्का लाग्नुपर्नेमा जोड दिए।
यतिबेला सरकार छोडेरभन्दा पनि सरकारमा नै रहेर जनताको अपेक्षालाई पूरा गर्नुपर्नेमा उनले जोड दिए। सरकार पार्टीको नीतिअनुसार नै चलेको र केही विषयमा बुझाइका कारण समस्या भएकोसमेत उनको भनाइ छ।
पार्टीभित्र कोही पनि राष्ट्रघाती नभएको उल्लेख गर्दै आफूलाई फरक देखाउनका लागि राष्ट्रवादको आवरणमा देखाउन खोज्नु पनि तर्कसङ्गत नभएको बताए। रासस

Leave a Reply

Your email address will not be published.