एमाओवादी विश्वास गर्न नसकिने पार्टी : देउवा

इटहरी- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी) पार्टीले आफ्नो महाधिवेशनका क्रममा ल्याएको राजनीतिक सहमतिको प्रस्ताव झुटको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन्। नेता देउवाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा माओवादीले बारम्बार अन्य पार्टीसँग सहमतिका लागि सर्तहरु राख्दै आएको तर कहिल्यै ती सर्तहरु इमान्दार भएर पालना नगर्ने पार्टी भएकाले उसका कुनै पनि प्रस्ताव झुटमात्र साबित हुँदै आएको दाबी गरे।

एमाओवादीको नेतृत्वमा रहेको वर्तमान सरकार हत्या, हिंसा र बलात्कारीजस्ता अपराधीलाई संरक्षण गर्ने पार्टीका रुपमा देखिएको तर्क अघि सार्दै नेता देउवाले अबको विकल्प भनेकै वर्तमान सरकारलाई सत्ताबाट झारेर नयाँ जनादेशका लागि चुनावमा जाने नै हो भने।
देश गम्भीर सङ्कट र अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुजि्ररहेकाले यो सरकारलाई सत्ताच्युत गर्नकै लागि सम्पूर्ण विपक्षी राजनीतिक दलहरु यतिखेर आन्दोलनमा लागेको स्पष्ट पार्दै उनले आन्दोलनबाट नै यो सरकारलाई विस्थापन गर्न सकिने आधारहरु तयार हुँदै गएको पनि उल्लेख गरे।
सोही अवसरमा नेपाली कांग्रेस सुनसरीको २ नम्बर क्षेत्रीय सभापति भरतलाल चौधरीले अबको चुनावमा नेपाली कांग्रेसले आफ्नो वर्चस्व स्थापित गर्ने र त्यसका लागि सम्पूर्ण युवावर्गले आफूलाई अघि बढाउनु आवश्यक रहेको बताए। रासस

Leave a Reply

Your email address will not be published.