अपहरणकारी-प्रहरी भिडन्तमा दुई अपहरणकारीको मृत्यु

वीरगञ्ज- एक साताअघि अपहरणमा परेका एक आठ वर्षीय बालकलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई भेडियारी गाविस– ९ बाट उद्धार गरेको हो। स्थानीय रामनाथ गिरीको घरमा बन्धक बनाइराखिएको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोहर भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे ती बालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालकलाई उद्धार गर्न गएका प्रहरी टोली र अपहरणकारीबीच मुठभेड हुँदा प्रहरीको गोलीबाट दुई अपहरणकारीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने अपहरणकारीमा पर्सा भेडियारी गाविस– ९ का सञ्जय गिरी र विन्देश्वर पटेल रहेका छन्।
मुठभेडमा परी दुईजना प्रहरी जवान पनि घाइते भएका छन्। घाइते प्रहरी जवानद्वय सूर्यबहादुर थापा र पोदबहादुर तामाङको उपचार भइरहेको र उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्टले बताए।
प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्टका अनुसार उद्धार गर्न गएका प्रहरी टोलीलाई देख्नासाथ अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गरेको र जवाफमा प्रहरी टोलीले पनि झन्डै १५ राउन्ड गोली प्रहार गरेका थिए।
घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा बन्दुक र त्यसमा प्रयोग हुने पाँच थान गोली बरामद गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले रम्भादेवी गिरी, अजय गिरी, कुनाल अग्रवाल, राजनबाबु बानियाँ, पन्नालाल सहनी र सिकेन्द्र यादवलाई समेत पक्राउ गरेको छ।
वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी अशोक अग्रवालका आठ वर्षीय छोरा स्लोक अग्रवाल अपहरणमा परेका थिए। भारतको गोरखपुरमा अध्ययनरत स्लोक अग्रवाल एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन आफ्नो घर वीरगन्ज आएका बेला गत माघ १३ गते घरअगाडि खेलिरहेको अवस्थामा मोटरसाइकलमा सवार दुईजनाले उनलाई अपहरण गरेका थिए।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ अञ्चल प्रहरी कार्यालय नारायणी र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्तरूपमा जिल्लाका विभिन्न स्थानमा ती बालकको खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाएको थियो।

अपहरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरी सोधपुछ गर्ने र बालकलाई घरमा लुकाइरहेको आशङ्कामा विभिन्न स्थानमा छापासमेत मार्दै आएको थियो। प्रहरीको सक्रियताका कारण नै ती बालकलाई सकुशल अपहरणमुक्त गराउन सफल भएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.