एमाओवादीले निर्वाचन चाहेन : नेपाल

स्याङ्जा- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेका कारण मुलुकमा निर्वाचन हुन नसकेको बताएका छन्। प्रेस चौतारी नेपालले आज स्याङ्जाको वालिङमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले भन्नुभयो, “पटकपटक निर्वाचन गराउनका लागि मिति तय गर्ने नाटक गर्ने तर नगर्ने एमाओवादीको चरित्रका कारण निर्वाचन हुन नसकेको हो।”

चुनाव नचाहेको एमाओवादीले पटकपटक चुनावको नाटक रचेर जनतालाई झुक्याएको छ, त्यसको भ्रममा हामी पर्नेवाला छैनौं भन्दै नेता नेपालले एमाओवादी चुनावबाट डराएकोसमेत आरोप लगाए।
मुलुकमा प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डले सर्वसत्तावाद लाद्न खोजेकाले पनि दलीय सहमति हुन नसकेको भन्दै उनले एमाओवादीमा सर्वसत्तावादको धम्की कायम रहेसम्म कुनै पनि हालतमा सहमति जुट्न नसक्ने बताए। सहमति जुट्न नसक्ने भएपछि त्यसको प्रतिवादका लागि प्रतिपक्ष दलहरुले आन्दोलनको घोषणा गरेको दाबी गर्दै नेता नेपालले भने, “यही आन्दोलनबाटै सहमति बन्छ, अरू कुनै विकल्प छैन।” नेता नेपालले दलहरुले गरेको आन्दोलन सत्ता प्राप्तिका लागि नभई माओवादीको सर्वसत्तावाद विरुद्धमा भएको बताए।
पत्रकारसम्मेलन प्रेस चौतारी स्याङ्जाका अध्यक्ष हिमलाल पराजुलीको सभापतित्वमा भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.