अबको प्रस्ताव विपक्षीले नमाने ठीक हुँदैन : दाहाल

तस्बिर : चन्द्रशेखर कार्की

हेटौंडा- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अब अगाडि सार्ने प्रस्ताव विपक्षीहरुले नमाने ठीक नहुने चेतावनी दिएका छन्। हेटौंडामा आजबाट सुरु पार्टीको सातौं महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले त्यस्तालाई जनताले ठीक पार्ने पनि दोहोर्‍याए। उनले दस वर्षको जनयुद्धपछि पार्टीले प्राप्त गरेको उपलव्धिलाई संस्थागत गर्दै दृढतापूर्वक अघि बढ्ने कुरामा जोड दिए। ‘हाम्रो पार्टी पक्कै १० वर्षको जनयुद्ध र त्यसपछिका क्रान्तिको मूल्य प्राप्त गरेको छ,’ उनले भने, यसलाई संस्थागत गर्दै दृढतापूर्वक अघि बढ्ने कुरामा हाम्रो पार्टीमा कुनै भ्रम छैन।’

माओवादीको सातौं महाधिवेशनले जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने र समाजवादतर्फ उन्मुख हुने दिशा ल्याने उनले बताए। नेपाली जनताको जीवनमा सकारात्मक र रचनात्मक परिवर्तन ल्याउन उत्पादनका लागि संघर्ष गर्न सिंगै पार्टी जानुपर्छ भन्ने कुरामा समेत उनले जोड दिए। ‘विचार र रणनीतिमा मात्र होइन, व्यवहारमा पनि उत्पादनको निम्ति संघर्षको नीति ल्याउँदैछौं,’ उनले भने, ‘२१ वर्षअघिको कार्यदिशाले राजतन्त्र ढाल्यो। अहिलेको महाधिवेशनबा आउने कार्यदिशाले सम्बृद्धि र सम्पन्नशाली देश बनाउँदै बाँकी जनवादी क्रान्तिको कार्यभार पूरा गर्नेछ।’

उनले राजनीतिक गतिरोध अन्त्यका लागि चुनाव अपरिहार्य रहेको बताए। ‘राजनीतिक गतिरोध अन्त्यका लागि चुनाव गर्नुपर्छ,’ उनले भने, ‘यसको लागि सरकार कसरी बनाउने भन्ने कुरा कहिल्यै मिल्न सक्दैन।’ उनले कांग्रेस र एमालेले वैधानिक बाटो मानेको भए मंसिरमा चुनाव भइसक्ने दाबीसमेत गरे। ‘मैले त पहिले पनि भनेको हो, बाबुरामजीको नेतृत्वमा आउनुहोस्, भब्य समारोहबीच दाहालले भने, ‘चाहिन्छ भने अख्तियारी पनि तपाईंहरु नै लिनुस् भनेको थिएँ। यत्रो अफर सन्सारमा कहीँ पाइँदैन,’ उनले थपे, ‘यतिधेरै अफर दिँदा पनि नमान्नेलाई मतिभ्रष्ट भएको भन्ने कि। मर्ने बेलामा कमिलाको प्वाँख आएको त होइन भनेर चिन्ता लागेको छ।’

त्यस्तै उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानको बाटो नै महाधिवेशनले लिने बताएका छन्। एउटै पानीजहाजमा चढ्दा केही मुसाहरु बीचमा हुरीबतास आयो भने बीचमै छाडेर भागेजस्तै कांग्रेस-एमाले पनि छाडेर भागेको उनले बताए। ‘कांग्रेस र एमालेका साथीहरुलाई आग्रह छ,’ उनले भने, ‘यसरी पानीजहाजमा रहेको मुसाले जस्तो बीचमै छाडेर नभाग्नुस्। आउनुहोस् जेठसम्म चुनाव गर्न हामी प्रतिबद्ध छौं । त्यसको लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न तयार छौं।’

महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता तथा विदेशी कुटनीतिकहरुले शुभकामना मन्तब्य दिएका थिए।

Leave a Reply

Your email address will not be published.