भैरहवा कारागारमा सुरक्षा पर्खाल नै छैन

भैरहवा- भैरहवास्थित जिल्ला कारागारमा सुरक्षा पर्खाल नहुँदा र क्षमताभन्दा बढी बन्दी राख्नु पर्दा असुरिक्षत र असुविधाजनक बनेको छ। विक्रम सम्वत् १९९० मा स्थापना भएको उक्त कारागारको चारैतिर खुला रहेकाले कारागार असुरिक्षत बनेको हो। सुरक्षा पर्खात नहुँदा कारागारमा सबै क्षेत्रबाट जो कोहीभित्र सहजै रुपमा भित्र प्रवेश गर्ने गरेका छन्। जिल्ला कारागारका प्रमुख सूर्यबहादुर यादवले कारागारजस्तो संवेदनशील क्षेत्रमा सुरक्षा पर्खाल नहुँदा स्थानीय बासिन्दाका हाँस, कुखुरा, गाई, गोरु, कुकुर र बाख्रासमेत कारागार क्षेत्रमा सहजै प्रवेश गर्ने गरेको बताए।
“एकसय बन्दी राख्ने क्षमताको उक्त कारागारमा क्षमताभन्दा बढी ३७१ जना बन्दी राख्दा कैदीलाईसमेत समस्या परेको छ,” उहाँले भने। करिब एकबिघा १० कठामा रहेको सो कारागार पुरुष बन्दीका लागि मात्र भएकाले महिला बन्दी राख्ने सुविधा नहुँदा समस्या रहेको समेत कारागार स्रोतले जनाएको छ।
कारागारका अनुसार रुपन्देहीजस्तो जिल्लामा महिला कारागार नहुँदा अस्थायीरुपमा महिला राखिने र पाल्पा कारागारमा सरुवा गरिने गरेको छ। यही कारण उनीहरुलाई समयमा न्यायालयसम्म पुर्‍याउन कठिनाइ परेको छ।
कमजोर र पुरानो संरचना भएको कारागारको भौतिक संरचना बलियो हुनुपर्ने र कुनै घटना भएमा सुरक्षाकर्मी र कारागार कर्मचारीको कमजोरी देखाउनुभन्दा सरकारले कारागारको सुरक्षामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता भैरहवा कारागारमा देखिन्छ।
कैदीहरुका अनुसार शौचालय जान पनि एक घन्टाभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ।

सरकारी निकायबाट समयसमयमा अनुगमन भइरहने यस कारागारको भौतिक संरचनाको विकासमा सम्बन्धित निकायको समयमा ध्यान जान आवश्यक छ। रासस

Leave a Reply

Your email address will not be published.