प्रचण्डले बाह्रबुँदे सम्झौता च्यातिसक्यो : कोइराला

सुर्खेत- कांग्रेस सभापति सुशील कोइरालाले माओवादीले बाह्र बुँदेयताका सम्झौतालाई सम्मान नगर्दा समस्या निम्तिएको बताएका छन्। पछिल्लो समय सम्झौता च्यात्‍ने धम्की दिएको माओवादीले व्यवहारमा भने यसअघि नै च्यातिसकेको उनको भनाइ छ। ‘माओवादीले सम्झौता च्यात्छु भनेर धम्की नदिए हुन्छ,’ बिहीबार नेपाली कांग्रेस सुर्खेतको कार्यालय भवन र पुस्तकालय उद्‍घाटन गर्दै उनले भने, ‘तपाइँहरुले सम्झौताको कहिले पो सम्मान गर्नु भएको छ र?’ यस्ता धम्कीबाट कांग्रेस कहिल्यै नडराउने उनले बताए।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसमा बाह्र बुँदे सम्झौताका विरोधीले नेतृत्व गरेको अभिव्यक्ति दिएको बेला कोइरालाले यस्तो जवाफ फर्काएका हुन्। उनले शान्ति सम्झौता कांग्रेसको अगुवाइमा भएकाले कांग्रेसले सधैं सम्झौताको सम्मान गरेको बताए। ‘सम्झौता च्यातिए कांग्रेस हैन, माओवादी जंगल जानुपर्छ,’ उनले भने।

कोइरालाले लोकतन्त्रमाथि आक्रमण गर्ने जोकोही शासक परास्त भएको इतिहास स्मरण गर्दै अहिले माओवादीले लोकतन्त्रमाथि धावा बोल्न थालेकाले पतनको बाटोमा हिँडेको बताए। कांग्रेसले सबैको अस्तित्वसहित लोकतन्त्र बचाउन चाहे पनि माओवादी आफ्नै हठले पतनको बाटोमा अघि बढेको उनले बताए। ‘हिजो कांग्रेसले लोकतन्त्रको सम्मान गर्न राणादेखि राजासम्मलाई सम्झायो, अहिले माओवादीलाई सम्झाइरहेको छ,’ उनले भने, ‘बेलैमा उसको बुद्धि आएन भने राणा र राजाकै हालत हुने निश्चित छ।’

Leave a Reply

Your email address will not be published.