सडकबाटै सरकार फाल्ने एमाले अध्यक्षको चेतावनी

मङ्गलवारे- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन्। “विगतका उपलब्धि पनि सडकबाटै भएका हुन् र आज पनि सडकबाटै मुलुकमा राष्ट्रिय उपलब्धि हासिल गर्न सकिन्छ,” अध्यक्ष खनालले भन्नुभयो, “त्यसका लागि अहिले सडक आन्दोलन अपरिहार्य छ।” 
बिहीबार इलाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले कुनै पनि पार्टीलाई आफूहरुले निषेध गर्न खोजेको नभइ माओवादीभित्रको सर्वसत्तावादलाई फाल्न खोजिएको हो भने। विगतमा संविधान सभाले गरेका महत्वपूर्ण उपलब्धि दलहरूबीच सहमति भयो भने अहिले पनि संविधानको रूपमा घोषणा गर्न सकिने बताउँदै उनले राज्य पुनःसंरचनाका बारेमा भने दलहरूबीच सहमति नभएकाले वर्तमान परिस्थिति पैदा भएको उल्लेख गरे।
उनले सत्तामा भएको दलले वार्ताको वातावरण सिर्जना गर्नुपर्नेमा उल्टै मुठभेडमा उत्रिएकाले आफूहरू पनि आन्दोलनमा जान बाध्य भएको बताए। सहमतिको सरकार र निर्वाचनको घोषणा हुने ठोस आधार तयार नहुञ्जेल प्रतिपक्षी दलहरूले आन्दोलन नरोक्ने उनको भनाइ थियो। उनले दलहरूबीच सहमति भयो भने जेठमा नभए पनि आगामी कात्तिकमा निर्वाचन हुन सक्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.