जोकोभिचको ह्याट्रिक

मेलबर्न, एएफपी– नोभाक जोकोभिचले आईतबार एण्डी मरेलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपनमा व्यावसायिक युगको उपाधि ह्याटि्रक पूरा गरेका छन्। जोकोभिचले उपाधि रक्षाका लागि चार सेटसम्म संघर्ष गर्नुपरेको थियो। ३ घण्टा ४० मिनेट चलेको भिडन्तको पहिलो सेट विश्व नम्बर एक खेलाडीले ६–७ (२/७) को नतिजामा हारेपछि बाँकी तीन सेटमा पुनरागमन जनाएका थिए। दोस्रो सेट टाई ब्रेकरमा ७–६ (७/३) ले आफ्नो पक्षमा पारेका जोकोभिचले त्यसपछि तेस्रो सेटमा ६–३ तथा चौथोमा ६–२ को नतिजा निकालेका थिए।
अस्ट्रेलियन ओपनमा जोकोभिचको यो चौथो उपाधि हो भने उनले ग्राण्ड स्लाम जितेको यो छैटौं अवसर थियो। २५ वर्षे जोकोभिच लगातार तीन वर्ष अस्ट्रेलियन ओपन जित्ने इतिहाँसकै तेस्रो खेलाडी हुन। यसअघि अस्ट्रेलियाका ज्याक क्रफोर्डले १९३१ देखि ३३ सम्म जितेका थिए भने अर्का अस्ट्रेलियाली रोए इमर्सनले १९६३ देखि ६७ सम्म लगातार पाँच उपाधि जितेका थिए।
‘फेरी एकपटक अस्ट्रेलियन ओपन जित्न सक्दा अहिले मेरो खुसी वयान गरिनसक्नु छ। पक्कै पनि यो मेरो सवभन्दा मन पर्ने ग्राण्ड स्लाम प्रतियोगिता हो। मेलबर्नमा धेरै सफलता हासिल गरेकाले मलाई यही कोर्ट सवभन्दा मन पर्छ,’ जोकोभिचले भने।
तेस्रो वरियताका वेलायती खेलाडी मरेले सशक्ततापुर्वक कोर्टमा चुनौति पेश गरेपनि ह्यामस्ट्रिङको समस्याले सताउदा उनले पछिल्ला सेटहरुमा राम्ररी खेल्न सकेनन्। ‘म जोकोभिचलाई बधाई दिन चाहन्छु। यहाँ उनको किर्तिमान अतुलनीय छ। यस्तो किर्तिमान थोरै विश्वस्तरीय खेलाडीले मात्र बनाउन सकेका छन्। उनी साच्चै जितको हकदार थिए,’ मरेले भने।
मरेमाथि जोकोभिचको यो दोस्रो ग्राण्ड स्लाम फाइनल विजय हो। दुई वर्षअघि पनि अस्ट्रेलियन ओपनको फाइनलमा मरेलाई हराउदै जोकोभिचले मेलबर्नमा पहिलो उपाधि जितेका थिए। आईतबारको हारसंगै मरेले मुख्य प्रतियोगितामा कायम गर्दै आएको १३ खेलको अपराजित यात्रामा पुर्णविराम लागेको छ।
चार पटकका विजेता आन्द्रे आगासीबाट उपाधि थापेका जोकोभिच जितसंगै विश्व वरियताक्रमको शीर्ष स्थानमा कायम रहदा मरे पनि तेस्रो स्थानमा यथावत रहे। दोस्रो स्थानमा रोजर फेडेरर कायम छन्। जोकोभिचले लगातार तेस्रो पटक उपाधि जित्दा शीर्ष स्थानमा कायम रहनुलाई महत्वपुर्ण उपलब्धीका रुपमा वयान गरे।
‘वर्षको सुरुवात निकै राम्रो शैलीमा भएको छ। मैले यहाँ राम्रो टेनिस खेलेर उपाधि जितेको छु। साथमा शीर्ष वरियतामा कायम रहनुले यो वर्षका बाँकी मुख्य प्रतियोगिताका लागि विशेष उत्साह मिलेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published.